पेम्बा गेलु शेर्पा/सेप्टेम्बर २, २०२५

– नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा हालै प्रकाशित “नेपालका जातीय सामाजिक संस्कार (भाग–९)” पुस्तकमा समाविष्ट शेर्पा समुदायसम्बन्धी लेखप्रति विश्व शेर्पा संघले कडा आपत्ति जनाएको छ। संघले आज जारी गरेको विज्ञप्तिमा सो पुस्तकले शेर्पा समुदायको गौरव, पहिचान र आत्मसम्मानमाथि गम्भीर आघात पुर्‍याएको आरोप लगाइएको छ।

लेखक आङलमी शेर्पा र सम्पादकद्वय डा. कैशिला रिसाल तथा नारायण शर्माले तयार पारेको सो सामग्रीमा “शेर्पा जातिको पुर्ख्यौली बासस्थान गोर्खा जिल्ला हो” भन्ने दाबी गरिएको छ। अझ गम्भीर कुरा, सो लेखमा “शेर्पा समुदायको पूर्खा बाँदर र राक्षसनी हुन्” भन्ने टिप्पणी समेत गरिएको छ, जसलाई शेर्पा समुदायले आफ्नो पहिचानमाथि ठुलो अपमान र आघातका रूपमा लिएको छ।

यस विषयमा विश्व शेर्पा संघले जारी गरेको विज्ञप्तिमा पुस्तकको विवादित अंश तत्काल हटाउन, सार्वजनिक माफी माग्न र पुस्तकको बिक्री–वितरण बन्द गर्न माग गरिएको छ। संघका अध्यक्ष थेन्डुप शेर्पा (भारत) र महासचिव आङ जाङ्बु शेर्पा (अमेरिका) ले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, “यदि मागलाई बेवास्ता गरिएमा शेर्पा समुदाय सशक्त विरोध आन्दोलनमा उत्रन बाध्य हुनेछ।”

नेपालमै पनि यसबारे व्यापक प्रतिक्रिया देखिएको छ। नेपाल शेर्पा संघ, हिमालयन शेर्पा सांस्कृतिक केन्द्र, शेर्पा विद्यार्थी संघ लगायतका संघ–संस्थाहरूले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै पुस्तकमा गरिएको दाबीलाई निराधार र अपमानजनक भनेका छन्। ती संस्थाहरूले नेपाल प्रज्ञा प्रतिष्ठानसँग तत्काल गल्ती सच्याउन र शेर्पा समुदायसँग माफी माग्न आग्रह गरेका छन्।

यो विवादले नेपालको बहुसांस्कृतिक समाजमा उत्पन्न हुने संवेदनशीलतामाथि गम्भीर प्रश्न उठाएको छ। कुनै पनि जाति, समुदाय वा संस्कृतिको पहिचान र इतिहासमाथि गलत वा अपमानजनक टिप्पणी गर्नु केवल विद्वेष फैलाउने कार्य मात्र नभई सामाजिक सौहार्द बिगार्ने खतरा पनि हो।

शेर्पा समुदाय विश्वभर छरिएर बसेको र अन्तर्राष्ट्रिय स्तरमा सशक्त आवाज राख्ने भएकाले यो मुद्दा केवल राष्ट्रिय सन्दर्भमा सीमित नरहने अनुमान गरिएको छ। विश्व शेर्पा संघले स्पष्ट रूपमा चेतावनी दिँदै भनेको छ, “शेर्पा जातिमाथि भएको यस किसिमको प्रहारलाई अन्तर्राष्ट्रिय कानुनी प्रकृयामा लैजानेछौं र आवश्यक क्षतिपूर्ति पनि खोज्नेछौं।”

शेर्पा समुदायको वास्तविक थाकथलो र गौरवमय योगदान ।

ऐतिहासिक तथ्यले देखाउँछ कि शेर्पा समुदायको पुर्ख्यौली थाकथलो सोलुखुम्बु जिल्ला लगायत हिमाली क्षेत्र, विशेष गरी दुधकोशी र सुनकोशी नदीको माथिल्लो भूभाग हो। हिमालसँग गहिरो सम्बन्ध राख्ने यो समुदायले आफ्ना मौलिक संस्कृति, धार्मिक आस्था, सामाजिक परम्परा र श्रम–समर्पणद्वारा नेपाललाई विश्वभर चिनाउने महत्वपूर्ण भूमिका खेलेको छ।

विशेष गरी सगरमाथा लगायत हिमाल आरोहणका क्रममा शेर्पा समुदायको साहस, मार्गदर्शन र योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रशंसा गरिन्छ। पर्यटन, साहसिक आरोहण र सांस्कृतिक विविधता प्रवर्द्धनमा शेर्पाहरूको योगदान अनुपम छ। यस कारण, यो समुदायमाथि गरिएको अपमानजनक टिप्पणीलाई केवल व्यक्तिगत आक्रमण नभई नेपालकै गौरवमाथिको प्रहारका रूपमा लिइएको छ।

नेपाल बहुसांस्कृतिक, बहुभाषिक र बहुजातीय समाज हो। यस विविधताले नै नेपाललाई विश्वमा अनौठो बनाएको छ। यस्ता परिस्थितिमा कुनै समुदायको इतिहास, संस्कृति वा पहिचानमाथि अपमानजनक टिप्पणी हुनु गम्भीर समस्या हो। शेर्पा समुदायसँग सम्बन्धित पुस्तक विवादले फेरि एकपटक देखाइदिएको छ कि संवेदनशील विषयमा अनुसन्धान, लेखन र प्रकाशन गर्दा तथ्यमा आधारित, सम्मानजनक र जिम्मेवार दृष्टिकोण आवश्यक हुन्छ।

शेर्पा समुदायका तर्फबाट उठेका आवाजले केवल उनीहरूको पहिचान मात्र होइन, सम्पूर्ण नेपाली समाजको आत्मसम्मान र सामाजिक सद्भावलाई जोगाउन महत्वपूर्ण चेतावनी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय