पेम्बा गेलु शेर्पा/ ३ सेप्टेम्बर, २०२५ ।
– नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित “नेपालका जातीय सामाजिक संस्कार (भाग–९)” पुस्तकमा समावेश शेर्पा समुदायसम्बन्धी लेखलाई लिएर उत्पन्न विवाद थप चर्किँदै गएको छ। पुस्तकमा उल्लेख गरिएका आधारविहीन र अपमानजनक भनाइका कारण शेर्पा समुदायको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै आक्रोश बढिरहेको छ।
लेखिका आङ लमि शेर्पाले यसबारे पहिले नै स्पष्टीकरण दिएकी थिइन्। उनले पुस्तकमा प्रकाशित विवादित अंश आफ्नो मौलिक लेखन नभई सम्पादन प्रक्रियामा भएको त्रुटिका कारण आएको स्पष्ट गरेकी थिइन्। उनका अनुसार, “शेर्पाको पूर्ख्यौली वासस्थान सोलुखुम्बु हुनु पर्नेमा सम्पादनको क्रममा अन्यथा छापिन गएकोमा म अध्ययता दुखी छु। सम्पादनपश्चात् पुस्तक पुनः लेखकलाई नदिइने प्रचलनका कारण त्रुटि पहिचान गर्न मलाई सम्भव भएन।” उनले त्रुटि सच्याउन सम्बन्धित निकायसँग सहकार्य गर्ने प्रतिवद्धता पनि जनाएकी थिइन्।
यसबाहेक उनले बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानमा औपचारिक निवेदनसमेत दर्ता गरेकी छन्। निवेदनमार्फत उनले विवादलाई केवल भावनात्मक दृष्टिकोणले मात्र नभई प्राज्ञिक ढङ्गले पनि बुझ्न आग्रह गरेकी छन्। उनका शब्दमा, “यस विषयलाई केवल भावनात्मक हिसाबले मात्र नभई, प्राज्ञिक दृष्टिकोणले हेरी, तथ्य र प्रमाणको आधारमा सही रूपमा बुझिदिनुहुन प्रतिष्ठान, शेर्पा सङ्घ–संस्थाहरू, आदरणीय शेर्पा समुदाय एवं सम्पूर्ण महानुभावलाई अनुरोध गर्दछु।”
यसैबीच भारतस्थित अखिल भारतीय शेर्पा बौद्ध संघ (AISBA) ले पनि विज्ञप्ति जारी गर्दै विवादित पुस्तकमा गरिएको टिप्पणीलाई अस्वीकार्य भनेको छ। अध्यक्ष दोर्जि पिनासा शेर्पा र महासचिव मिङ्मा सलाखा शेर्पाले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, पुस्तकमा गरिएको अभिव्यक्ति तथ्यविहीन, गैर–शैक्षिक र अपमानजनक छ, जसले विश्वभरका शेर्पा समुदायको भावना आहत पारेको छ।
संघले नेपाल प्रज्ञा प्रतिष्ठानलाई तत्काल पुस्तक वितरण तथा प्रसार रोक्न माग गरेको छ। साथै सम्पादक र लेखकले सार्वजनिक रूपमा शेर्पा समुदायसँग औपचारिक माफी माग्नुपर्ने चेतावनी दिएको छ। विज्ञप्तिमा भनिएको छ, “शेर्पा समुदाय शान्तिप्रेमी, सांस्कृतिक परम्परामा आस्था राख्ने समुदाय हो। यसको पहिचानमाथि प्रहार गर्ने कुनै पनि प्रयासलाई स्वीकार गर्न सकिँदैन।”