पेम्बा गेलु शेर्पा/०६ जुलाइ २०२५ ।
— बेल्जियमको एन्टवर्प प्रान्तमा गाडी चलाउदा मोबाइल फोन प्रयोग गर्ने चालकहरूलाई कडाइ गरिएको छ। यो वर्षको सुरुदेखि अहिलेसम्म ३,१५२ जनाको ड्राइभिङ लाइसेन्स रद्द गरिएको एन्टवर्प सार्वजनिक अभियोजन कार्यालयले जानकारी दिएको छ।
जनवरी १, २०२५ देखि एन्टवर्पका सबै प्रहरीले गाडी चलाउदा मोबाइल फोन प्रयोग गर्नेहरूलाई कारबाही गर्न कडा नियम लागू गरेका छन्। नियम अनुसार, गाडी चलाउँदा मोबाइल प्रयोग गरेको भेटिएमा चालकको लाइसेन्स तत्काल १५ दिनका लागि निलम्बन गरिन्छ। यसका अतिरिक्त, चालकले €१७४ युरो जरिवाना पनि तिर्नुपर्छ।
अभियोजन कार्यालयले भनेको छ, “सडक सुरक्षाका लागि यो नियम अत्यन्त आवश्यक छ। अनुसन्धानले देखाएको छ कि बेल्जियममा हरेक वर्ष मोबाइलको कारण ध्यान भंग भएर हुने दुर्घटनामा करिब ५० जनाको ज्यान जाने र ४,५०० भन्दा बढी घाइते हुने गरेका छन।” सन् २०२५ को पहिलो छ महिनामा मात्र ३,१५२ चालकको लाइसेन्स रद्द गरिएको छ, जुन औसतमा हरेक दिन १७ जना हुन आउछ।
बेल्जियम सरकारले सडक दुर्घटना घटाउन मोबाइल फोन प्रयोगविरुद्ध यस्तो कडा कदम चालिएको स्पष्ट पारेको छ। सबै चालकहरूलाई सुरक्षित रूपमा गाडी चलाउन र मोबाइल फोन प्रयोग नगर्न आग्रह गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय