अप्रिल २९, मंगलबार ।

– स्पेन र पोर्चुगलमा सोमबार अपराह्न एक अभूतपूर्व विद्युत् अवरोधले जनजीवन ठप्प बनाएको छ। ट्रेन सेवा रोकिएको, फोन संचार अवरुद्ध भएको, ट्राफिक बत्ती र एटीएमहरू बन्द हुँदा लाखौं मानिस प्रभावित भएका छन्।

आइबेरियन प्रायद्वीपमा अवस्थित यी दुई देशमा करिब ५० मिलियनभन्दा बढी जनसंख्या बसोबास गर्छन्। यद्यपि, कति मानिस प्रभावित भए भन्ने विशिष्ट विवरण अधिकारीहरूले सार्वजनिक गरेका छैनन्।

स्पेनका ठूला शहरहरू जस्तै म्याड्रिड, बार्सिलोना, सेभिया, एभिला, मुर्सिया, गालिसिया, एलिकान्ते र जारागोजा तथा पोर्चुगलका प्रमुख सहर लिस्बन र पोर्टोमा पनि गम्भीर समस्या देखिएको थियो।

विद्युत् अवरोधको कारण अझै स्पष्ट भइसकेको छैन। यद्यपि अधिकारीहरूले तोडफोड वा साइबर आक्रमणको आशंका भने अस्वीकार गरेका छन्। “हालसम्म कुनै साइबर आक्रमणको संकेत छैन,” पोर्चुगलका पुर्व प्रधानमन्त्री समेत रहेका युरोपियन काउन्सिलका अध्यक्ष एन्टोनियो कोस्टाले ‘एक्स’ (पूर्व ट्विटर) मा लेखेका छन्।

स्पेनको प्रमुख विद्युत् वितरक संस्था ‘रेड इलेक्ट्रिका’ का प्रमुख सञ्चालन अधिकृत एडुआर्डो प्रियेटोले पत्रकारहरूलाई सम्बोधन गर्दै यस घटनालाई “असाधारण र अभूतपूर्व” भनेका छन्। उनले अवरोध सुरु भएको समय १२:३० बजे म्याड्रिड समय अनुसार भएको र विद्युत् पुनःस्थापना गर्न ६ देखि १० घण्टा लाग्न सक्ने जनाएका छन्।

स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले सामाजिक सञ्जालमार्फत राति सम्बोधन गर्दै राष्ट्रिय विद्युत् आपूर्तिको ५०% सेवा पुनःस्थापना भएको जानकारी दिएका छन्। उनले भने, “हामी रातभर पेशागत रूपमा र पूर्ण प्रतिबद्धताका साथ काम गर्नेछौं, स्पेनले सधैं यस्तै परिस्थितिमा गरेको जस्तै।”

त्यस्तै, पोर्चुगलका प्रधानमन्त्री लुइस मोंतेनेग्रोले पनि प्रभावित क्षेत्रमा सेवा पुनःस्थापना गर्न अधिकारीहरू दिनरात खटिरहेको बताएका छन्। “हामी सुरक्षा निकाय, सिभिल प्रोटेक्सन, सेनाका सदस्यहरू, अस्पताल र इन्धन आपूर्ति कम्पनीहरूसँग लगातार सम्पर्कमा छौं,” मोंतेनेग्रोले ‘एक्स’ मा लेखेका छन्।

फ्रान्सको दक्षिणी भागमा पनि केही समयको लागि असर परेको थियो, तर तत्कालै मर्मत गरिएकोले सेवा पुनःस्थापित गरिएको अधिकारीहरूले जनाएका छन्।

प्रधानमन्त्री सान्चेजले विद्युत् अवरोध युरोपेली ग्रिडमा देखिएको “उच्च कम्पन” का कारण भएको हुनसक्ने बताए पनि वास्तविक कारण अनुसन्धानमै रहेको स्पष्ट पारेका छन्। उनले अनावश्यक अड्कलबाजी नगर्न र आकस्मिक सेवाहरूलाई अत्यावश्यक अवस्थामा मात्र प्रयोग गर्न अनुरोध गरेका छन्।

यस घटनाले हालैको युरोपेली विद्युत् संकटलाई पुनः उजागर गराएको छ। मार्च २० मा बेलायतको हीथ्रो विमानस्थलमा आगलागीपछि ठूलो अवरोध भएको थियो।

अपराह्न सुरु भएको यस अवरोधले कार्यालयहरू बन्द गराएको, प्रमुख सहरहरूमा ट्राफिक जाम भएको, र ट्रेन्सेवा ठप्प बनाएको छ। बार्सिलोनामा सर्वसाधारणले आफैँ ट्राफिक व्यवस्थापन गरेका थिए। म्याड्रिडमा विमानस्थल जाने बस स्टपमा सयौं यात्रुहरू हिचहाइक गर्न प्रयासरत देखिएका थिए।

हस्पिटलहरू र आपतकालीन सेवाहरूले जेनेरेटरको सहायताले सेवा सञ्चालन गरेका थिए। अक्सिजन मेसिनमा निर्भर बिरामीहरू गम्भीर रूपमा प्रभावित भएका थिए। पेट्रोल पम्पहरू पनि बन्द भएका थिए। अधिकांश मोबाइल नेटवर्क अवरुद्ध हुँदा मानिसहरू अस्थायी रूपमा म्यासेजिङ एप्स प्रयोग गरेर एकअर्कासँग सम्पर्क गरिरहेका थिए।

स्पेनको राष्ट्रिय विद्युत् सञ्जालको ग्राफ अनुसार दिउँसो १२:३० बजे माग २७,५०० मेगावाटबाट झरेर करिब १५,००० मेगावाटमा पुगेको देखिएको छ।

स्पेनका विमानस्थलहरू ब्याकअप प्रणालीमा सञ्चालन भइरहेका थिए र केही उडानहरू ढिलाइ भएका थिए। लिस्बनमा टर्मिनलहरू बन्द हुँदा पर्यटकहरू बाहिरै बसेर समाचार पर्खिरहेका थिए।

म्याड्रिडस्थित स्पेनको संसद बन्द गरिएको थियो भने म्याड्रिड ओपन टेनिस प्रतियोगिता पनि रोकिएको थियो। केही मानिसले भने यस अवस्थालाई अवसर मानेर रेस्टुरेन्ट, पार्क र समुद्रकिनारमा समय बिताएका थिए।

प्रधानमन्त्री सान्चेजले राष्ट्रिय सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाएका छन्। स्पेनका चार क्षेत्रले आपतकाल घोषणा गर्दै केन्द्र सरकारलाई संकट व्यवस्थापनको जिम्मेवारी लिन अनुरोध गरेका छन्। पोर्चुगलको क्याबिनेटले पनि प्रधानमन्त्री निवासमा आपतकालीन बैठक आयोजना गरेको थियो। मोंतेनेग्रोले सान्चेजसँग पटकपटक संवाद गरेर दिनभित्रै सेवा पुनःस्थापना हुने अपेक्षा व्यक्त गरेका छन्।

विद्युत् आपूर्ति पुनःस्थापनाका लागि मोरक्को र फ्रान्सबाट बिजुली आपूर्ति गरिएको छ भने स्पेनले हाइड्रोपावर र थर्मल पावर प्लान्टहरूको उत्पादन बढाएको छ। प्रधानमन्त्री सान्चेजले मोरक्को र फ्रान्सका सरकारलाई सहयोगका लागि धन्यवाद दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय