लिस्बन, पोर्चुगल, १८ चैत २०८१ – पोर्चुगलका लागि नेपालका राजदूत प्रकाश मणि पौडेलले पोर्चुगलका राष्ट्रपति महामहिम मार्सेलो रेबेलो डे सोउजा समक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभएको छ। लिस्बनको बेलेमस्थित राष्ट्रपति कार्यलयमा आयोजित एक समारोहमा राजदूत पौडेलले राष्ट्रपति सोउजालाई उक्त प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।

सो अवसरमा राष्ट्रपति सोउजाले राजदूत पौडेललाई पोर्चुगलका लागि नेपालको पहिलो राजदूतको रूपमा नियुक्त भएकोमा बधाई दिँदै नेपाल र पोर्चुगल बीचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन सफलताको शुभकामना व्यक्त गर्नुभयो।

राजदूत पौडेलले नेपालका राष्ट्रपति माननीय रामचन्द्र पौडेलको तर्फबाट शुभकामना सन्देश सुनाउँदै पोर्चुगल सरकार र जनताको समृद्धिको कामना भएको थियो। साथै, उहाँले नेपाल र पोर्चुगल बीचको सम्बन्धलाई थप प्रगाढ बनाउन र जनस्तरको सम्पर्क विस्तार गर्न आफूले विशेष जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सोही अवसरमा राष्ट्रपति सोउजाले पोर्चुगलमा रहेका नेपाली समुदायको मेहनत र मित्रवत व्यवहारको प्रशंसा गर्दै उनीहरूले भाषाको अवरोधलाई पार गरेर पोर्चुगलको समाजमा सहज रूपमा घुलमिल हुन सक्ने आशा व्यक्त गर्नुभएको थियो। उक्त समारोहमा पोर्चुगलका विदेश मामिला मन्त्री महामहिम नुनो साम्पाइयो, महासचिव महामहिम फ्रान्सिस्को रिबेरो टेल्लेस, विदेश मन्त्रालयका उच्च अधिकारीहरू, राजदूत पौडेलकी धर्मपत्नी श्रीमती रूपा पौडेल र दूतावासका दोस्रो सचिव श्री राम बाबु नेपालको उपस्थिति रहेको थियो।

नेपाल र पोर्चुगल बीचको कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने यो कदमले दुई देशबीचको सहकार्य र समझदारीलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय