कोरियामा हलोवीन मनाउँदा १ सय ४९ जनाको मृत्यु, ७८ जना भन्दा बढी गम्भीर घाइते

दक्षिण कोरियाको राजधानी सोलको इथेवनमा हलोवीन पार्टी मनाउन जम्मा भएका १ सय ४९ जनाको निस्सासिएर मृत्यु भएको छ भने ७८ जना भन्दा बढी गम्भीर घाइते छन् । विकसित कोरियाको सबैभन्दा नराम्रो दुर्घटना मध्यमा पर्ने यो दुर्घटना के कारणले भएको भन्ने अझै खुल्न सकेको छैन ।

शनिबार राति भएको दुर्घटनामा एक सय १ जना उपचारको क्रम र बाँकी ४५ जना घटना स्थलमै मृत्यू भएको थियो । मृत्यु हुनेमा दुई जना विदेशी भएको अधिकारीहरूले पुष्टि गरेका छन्।

हलोवीनको पहिलो शनिबार इथेवन क्षेत्रमा लाखौं मान्छे पार्टी गर्न जम्मा भएका थिए । कोरोना महामारीका कारण तीन वर्ष धेरै मानिस जम्मा हुन प्रतिबन्ध थियो । केही समय अघि मात्रै कोरियाली सरकारले यस्तो प्रतिबन्ध हटाएको थियो ।

‘हामी पनि त्यहाँ पुगेका थियौं । धेरै क्लबहरुले डान्स पार्टी राखेका थिए । जता पनि मान्छे नै मान्छे थिए । दुर्घटना भएको समयमा हामि पनि नजिकै थियौं । एकाएक मान्छेहरू सास फेर्न गाह्रो भएको भन्दै दौडिए। त्यस पछि कोलाहलको अवस्था आयो ।’ सोलमा बस्ने अजय श्रेष्ठले भने ।

योङसान प्रहरीको पराध महाशाखाका प्रमुख चोई उल-चेओनले घटनामा लागुऔषधको संलग्नता नभएको बताएका छन् ।
घटनाको रिपोर्ट पछि, राष्ट्रपति युन सुक-योलले सार्वजनिक प्रशासन र सुरक्षा मन्त्रीको नेतृत्वमा सबै सम्बन्धित मन्त्रालय र एजेन्सीहरूले पीडितहरूलाई तुरुन्तै सहायता उपलब्ध गराउन हरसम्भव प्रयास निर्देशन दिएका छन्। यसैबीच, युरोप भ्रमणमा रहेका सियोलका मेयर ओह से-हुनले दुर्घटनापछि स्वदेश फर्कने निर्णय गरेको अधिकारीहरूले बताएका छन्।

यस क्षेत्रमा ३४६ विदेशी सहित ८४८ कर्मचारीहरू परिचालन गरिएको थियो। प्रहरीले चाँडै नै यस क्षेत्रका बार र क्लबहरूले सुरक्षा नियमहरूको पालना गरेको थियो कि भनेर छानबिन सुरु गर्ने योजना बनाएको छ।
:फोनिज कोरिया संवादाता

प्रकाशित मिति १३ कार्तिक २०७९, आईतवार ०८:००

सम्बन्धित समाचारहरु