जसपाका उम्मेदवार लाक्पा शेर्पाको निर्विकल्प दाबी !

काठमाडौ । जनता समाजवादी पार्टीबाट सोलुखुम्बमा प्रतिनिधीसभाका उम्मेदवार लाक्पा शेर्पाले आफूलाई निर्विकल्प उम्मेदवार दाबी गरेका छन् । विभिन्न क्षेत्रबाट युवाहरुको व्यापक सहानुभूति रहेकाले मंसिर ४ गतेको निर्वाचनमा आफू निर्विकल्प उम्मेदवार रहेको शेर्पाले दाबी गरेका हुन् ।

स्थानीय तहको मत परिणाम अनुसार ठूला देखिएका दलहरु वामलोकतान्त्रिक गठवन्धन र एमालेका उम्मेदवारहरुको विकल्पमा आफू भएको र जित नजिक पुगेको शेर्पाको दाबी छ ।

मुलुकभित्र, प्रवास र जिल्लाभित्रबाट व्यापक जनसमर्थन पाइरहेको सुनाउँदै शेर्पाले सोलुखुम्बुको विकास, समृद्धी, सामाजिक, आर्थिक रुपान्तरणका खातिर आफू निर्विकल्प रहेकाले नै जिल्लाभरमा आफ्नो पक्षमा महोल बनेको बताए । हिमाली क्षेत्रको भाषिक, सांस्कृतिक, शैक्षिक अधिकारका लागि लामो समय कुर्वानी गरेको नाताले पनि युवाहरुले उत्साहजनक रुपमा आफूलाई साथ सहयोग गरी रहेको दाबी गर्दै उम्मेदवार शेर्पाले सबैको सकारात्मक सहयोग र भाषिक, सांस्कृतिक, जातीय रुपमा उत्पीडिनमा परेका वर्गको हितमा काम गर्न सक्ने एक मात्रै उम्मेदवार भएकाले पनि आफ्नो जित सुनिश्चत जस्तै भएको तर्क गरे ।

हिमाली क्षेत्रको अनेकन समस्याको विषयमा राज्यको निकायमा आफूले चर्को आवाज उठाउँदै आएको र उत्पीडित वर्गको अधिकार प्राप्तिका खातिर लामो समय संघर्ष गरेकालेपनि सोलुखुम्बु जिल्लावासीले समयसापेक्ष आफूमाथि न्याय गर्ने शेर्पाको जिकीर छ । सोलुखुम्बु पुख्र्यौली भएपनि केही समय भोजपुरतिर बस्नुपर्ने केही वाध्यात्मक परिस्थिती सिर्जना भएपनि आफू आफू सोलुखम्बुको स्थायी वासिन्द भैसकेको प्रष्ट्याउँदै शेर्पाले सोलुखुम्बुको विकासका लागि दशक अघिदेखि त्याग, तपस्या र योगदान दिएको बताए ।

पछिल्लो समय आफ्नो पक्षमा युवा तथा बुद्धिजिविहरुको ठूलो जमात स्थापित भएको बताउँदै शेर्पाले पहिचान, अधिकार र समतामुलक समाज निर्माणका लागि आफूले जित्नेपर्ने र त्यो मैदान तयार भएको शेर्पाको कथन छ । शेर्पा यसअघि पनि सोलुखुम्बुमा जनता समाजवादी पार्टीको तर्फबाट उम्मेदवार थिए । त्यसबेला संगठन कमजोर, नयाँ पार्टी र राजनैतिक चेतका कारण पराजय खेप्नुपरेपनि यस पटक नतिजा निकाल्ने शेर्पाले ठोकूवा गरे ।

-शेर्पाखबर

प्रकाशित मिति २८ कार्तिक २०७९, सोमबार १६:०५

सम्बन्धित समाचारहरु