सोलुखुम्बु । सोलुखुम्बुमा आफैले आगो बाल्ने क्रममा अचानक एक घरमा आगलागी भएको छ । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका १० जुके बस्ने सुवई तामाङको ढुङगा माटोले बनेको काठको छाना भएको २ तल्ले घर पूर्ण रुपमा जलेको हो ।
शुक्रबार बिहान अन्दाजी ३ः०० बजेको समयमा तामाङको घरमा आगलागी हुँदा घरको तल्लो तलामा बाधिराखेका खसी तथा बाख्राहरु समेत जलेर खरानी भएको सोलुखुम्बु प्रहरीले जनाएको छ । उक्त घरको पहिलो तलामा खसी बाख्रा बाध्ने गरेको र दोस्रो तलामा तामाङको परिवारले बसोबास गर्दै आएका सोलुखुम्बुका प्रहरी प्रवक्ता एवम् सूचना अधिकारी लक्ष्मण गिरीले जानकारी दिनुभयोे ।
उहाँका अनुसार आगलागीमा २२वटा बाख्रा, १२ वटा कुखुराहरु आगोमा परेर जलेका छन् । यस्तै छ मुरी गँहु, छ पाथि चामल, नगद रु.बाह्र हजार, काठपात, भाडा वर्तन, लताकपडा समेत जलि पुर्ण रुपमा क्षति भएको सूचना अधिकारी गिरीले बताउनुभयो ।
घर तथा पशुचौपायको पूर्ण रुपमा क्षति भएपनि मासिसहरुले भने भागेर ज्यान जोगाएको थिए । आगो आफै नियन्त्रणमा आएको भन्ने सूचना प्राप्त भएपनि बिहान अन्दाजी ०८ः४० बजे प्रहरी चौकी केरुङमा जानकारी प्राप्त हुन साथ प्रहरीको टोली घटनास्थलमा पुगेको थियो ।
Source:हिमाल एफ एम