सम्पन्न निर्वाचनबाट सोलु कांग्रेसमा सभापति चयन हुन सकेन

सोलुखुम्बु : नेपाली कांग्रेस सोलुखुम्बुको १४ औं जिल्ला अधिबेशन अन्तर्गत भएको मतदानको मतगणना सकिएको छ । गत बिहीवार भएको मतदानको मतगणना शनिबार राती सकिएको निर्वाचन समितिले जनाएको छ ।

तर जिल्ला कार्यसमितिका अन्य पदाधिकारी निर्वाचित भएपनि सभापति भने चयन हुन नसकेको निर्वाचन समितिले जनाएको छ । सभापति पदका लागि फेरि मतदान हुने सम्भावना बढेर गएको छ ।

नेपाली काङ्ग्रेस सोलुखुम्बुको सभापतिका लागि नाम्गेल जाङ्बु शेर्पा, विनोद कुमार बस्नेत र राम बहादुर बस्नेतको उम्मेद्वारी परेको थियो ।

नेपाली कांग्रेसको निर्बाचन निर्देशिका अनुसार सभापति पदमा ३ जनाको उम्मेद्वारी परेको खण्डमा कुनै पनि सभापतिका उम्मेदवारले ५१ प्रतिशत मत पुर्‍याउनु पर्ने ब्यवस्था रहेको छ । सोलुखुम्बुमा सम्पन्न मतगणनामा तिन  जना मध्ये कसैको पनि ५१ प्रतिशत पुग्न सभापति चयन हुन नसकेको बताएको छ ।

जसका कारण पुनः निर्बाचनको सम्भावना बढेर गएको श्रोताले दाबी गरेको छ। मत परिणाम अनुसार सभापतिका उम्मेदवार नाम्गेल जाङ्बु शेर्पाले ४ सय १८ र बिनोदबाबु बस्नेतले ४ सय २८ मत प्राप्त गर्नुभएको छ । अर्का उम्मेदवार रामबहादुर थापाले ५ मत प्राप्त गरेको बताइएको छ। निर्बाचनमा ८ सय ८२ मत खसेको थियो।

सम्पन्न निर्बाचनमा ५१ प्रतिशत मत कुनै उम्मेदवारले प्राप्त गर्न नसकेका कारण पुनः मतदान हुनुपर्ने सभापतिका प्रत्याशी नाम्गेल जाङ्बु शेर्पाको भनाइ छ । यता अर्का प्रत्याशी बिनोद कुमार बस्नेतले पनि पुनः मतदानकै सम्भावना बढेको बताउनुभएको छ ।

यस्तो अवस्थामा कि सहमति नभए पुनः मतदान बाहेक विकल्प नभएकाले पुनः मतदानमा जाने सम्भावना बलियो रहेको उहाँको भनाइ छ । तर बाहिर हल्ला आए जस्तो आलो पालो प्रणाली भने पार्टीको बिधानमै नभएकाले त्यो सम्भव नरहेको शेर्पा र बस्नेतले बताउनुभएको छ ।

जिल्ला कार्यसमितिको अन्य पदाधिकारीहरु बढी जसो बस्नेत टिमको विजयी भएका छन् । उपसभापतिमा घनराज सुनुवार र फुदोर्जी शेर्पा, सचिवमा भलाकाजी  कुलुङ र युबराज घिमिरे, सहसचिवमा ङिमाछिरि शेर्पा र उत्रमान राइ (शेर्पा प्यानल) विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

शनिबार सम्पन्न मतगणनाबाट सभापति बाहेक ३६ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित भएका छन् । सभापतिमा सहमति नभएको खण्डमा आज नयाँ मतदानको मिति तोकिने जनाइएको छ ।

प्रकाशित मिति ५ मंसिर २०७८, आईतवार १०:०७

सम्बन्धित समाचारहरु