भोट साहित्य काग्युर र तेग्न्युरको संक्षिप्त परिचय

विषय प्रवेश: सम्भोट लिपिमा आधारित भोट भाषा आफैमा एक समृद्ध भाषा हो । यो भाषा नेपालको हिमाल र पहाडी क्षेत्र, तिब्बत, चीन, भुटान, भारतको हिमाली क्षेत्र पूर्व अरुणाचल प्रदेशदेखि पश्चिम लद्दाखसम्म, मङ्गोलिया, रुसको वुरियात र पाकिस्तानको बल्किस्थान क्षेत्रमा बसोबास गर्ने समुदायहरूको आपसमा अभिव्यक्त गर्ने माध्यम मात्र नभएर यस भाषामा ती समुदायहरूद्वारा विकास गरिएका अमूल्य साहित्य, दर्शन, मौलिक कला, संस्कृति, परम्परा आदि सुरक्षित रहेको पाइन्छ । त्यसै गरी भोट भाषा नेपालमा रहेका भोटे, डोल्पाली, शेर्पा, ह्योल्मो, मुगुम, कार्मारोङ, चुम्बा, तोग्पेगोला, तामाङ, ल्होमी (शिङसावा), वालुङ, गुरुङ, मनाङ्गे, घले, ल्होपा, थकाली, जिरेल आदि समुदायहरूका मूल भाषा एवम् साझा भाषा हो । उनीहरूका सबै धार्मिक र सांस्कृतिक संस्कारहरू यसै भाषाको माध्यमबाट सम्पन्न गर्ने गरिन्छ ।

भगवान् शाक्यमुनि बुद्धले बुद्धत्व प्राप्त पश्चात् ४५ वर्षसम्म लोक हितार्थ देशना गर्नुभएका ८४,००० धर्म स्कन्ध, सूत्र र तन्त्रका सम्पूर्ण वचनहरू र ती वचनहरूलाई व्याख्या गरिएका सम्पूर्ण दर्शन शास्त्रहरू भोट भाषा अनुवाद गरिएको उपलब्ध रहेका छन् । तुलनात्मक रूपमा सम्पूर्ण बौद्ध वाङ्मयहरू यसै भाषामा सुरक्षित रहेको पाइन्छ । पालि भाषामा रहेका थेरवाद परम्पराका बौद्ध साहित्यहरू सिंहली, बर्मी, थाई आदि भाषाहरूमा पाइन्छ । त्यस्तै चाइनिज, जापानी, कोरियाली र अङ्ग्रेजी भाषाहरूमा थेरवाद र महायान बौद्ध साहित्यको आंशिक मात्र पाइन्छ । तर पनि भोट भाषामा थेरवादका धम्मपददेखि महायान र वज्रयानका सम्पूर्ण बौद्ध वाङ्मयहरू उपलब्ध रहेका छन् ।

शाब्दिक अर्थ : भोट भाषामा रहेका बुद्ध वचन तथा बौद्ध शास्त्रहरूको विशाल सङ्ग्रहलाई काग्युर र तेन्ग्युरको नामले प्रसिद्ध रहेको छ । ‘का’ को शाब्दिक अर्थ वचन र ‘ग्युर’ को अर्थ अनुवाद अर्थात् संस्कृत भाषाबाट अनूदित भोट भाषामा रहेका बुद्ध वचनलाई ‘‘काग्युर” भनिन्छ । त्यस्तै गरी ‘तेन्चो’ को शाब्दिक अर्थ शास्त्र र ग्युरको अर्थ अनुवाद अर्थात् बुद्धको वचनलाई व्याख्या गर्नको लागि महापण्डितहरूद्वारा विरचित संस्कृत र चिनियाँ भाषाबाट भोट भाषामा अनुवाद गरिएका शास्त्रहरूलाई ‘‘तेन्ग्युर” भनिन्छ ।

सम्पादन क्रम: भोट भाषामा अनुवाद भएका काग्युर र तेन्ग्युर ग्रन्थहरूलाई विभिन्न समयमा सम्पादन गरी विषयसूचीहरू तयार इतिहारमा पाइन्छ । तत्कालीन तिब्बतका ३८ औँ राजा ठ्रिसोङ देउचेन (७५५–७९७) को कार्यकालमा लोचाव (अनुवादक) काव पल्चेक र खोनलुयी वाङ्पो आदिले देन्कार नामक दरबारमा रहेका काग्युर तेन्ग्युर ग्रन्थहरूको एक वृहत् सूची तयार गरिएको थियो जसलाई ‘‘कारछग देन्कारमा” भनिन्छ । यसलाई काग्युर तेन्ग्युरको पहिलो सम्पादन मानिन्छ । त्यसै गरी ठिसोङ देउचेनका कान्छा छोरा तिब्बतका ४० औँ राजा ठ्रिदे सोङ्चेन (७९७–८०४) को कार्यकालमा लोचाव (अनुवादक) काव पल्चेक, छ्योकी ञिङ्पो, देवेन्द्र र पाल्की हुन्पो आदिले छिम्फु दरबारमा रहेका काग्युर तेन्ग्यर ग्रन्थहरूको विषयसूची तयार गरिएको थियो । जसलाई ‘‘कारछग छिम्फुमा” भनिन्छ । त्यसपछि फेरी फाङ्थाङ दरबारमा रहेका काग्युर ग्रन्थहरूको विषयसूची तयार गरिएको थियो । जसलाई ‘‘कारछग फाङ्थङमा” भनिन्छ ।

काग्युर तेन्ग्यरको सम्पादनको लागि सन् १३१२ मा युआनको राज्यकालमा सम्राट चिङ चुङ अयुर प्रत बुयनज्यूले नरथाङ गोन्पाका महा विद्वान् गेशे ज्यम्गाग टासीलाई निमन्त्रणा गरिएको तिब्बती इतिहासमा पाइन्छ । गेशेका धर्मगुरु च्योम्देन रिक्पी रल्डीलाई चीनबाट मसी, कागज र कलमहरू धेरै प्राप्त भएकोले प्रसिद्ध महाविद्वानहरू उपलोसल च्याङ्छुप येशे, लोचाव सोनाम होशेर ग्याङ रो च्याङ्छुप बुम आदिले उचाङ र ङरी प्रान्तमा रहेका काग्युर र तेन्ग्युरका मूल ग्रन्थहरूलाई सङ्कलन गरिएको थियो । सङ्कलित ग्रन्थहरूलाई च्योम्देन रिक्पी रल्डीज्यूको संयोजकमा क्रम सङ्ख्या मिलाई सम्पादन गर्नको साथै काग्युर र तेन्ग्यरको वृहत् विषयसूची नामक एक सूची तयार गरिएको थियो । त्यसको साथै काग्युर तन्ग्युर विषय सूची ङिमी होसेर (सूर्य किरण) नाम विषयसूची पनि तयार गरिएको इतिहासमा पाइन्छ । सातौँ शातब्दीदेखि सन् १४०८ सम्मामा जतिपनि बौद्ध ग्रन्थहरूको अनुवाद तथा सम्पादन भएका थिए ती सम्पूर्ण ग्रन्थहरू हस्तलिखित थिए ।
सन् १४०८ मा जे चेङखापाज्यूले आफ्नो प्रतिनिधिको रूपमा प्रमुख शिष्य ज्याम्छेन छ्योजे शाक्य येशेलाई चीनको राजधानी बेइजिङमा पठाउनु भएको थियो । बेइजिङमा रहनु हुँदा उहाँले काग्युरलाई काठमा खोपेर छाप्ने योग्य बनाउनु भएको थियो । यो नै तिब्बतको पहिलो काठे छापा रहेको मानिन्छ । तत्पश्चात् काठे छापाको माध्यमबाट पुस्तक छाप्ने विधिलाई तिब्बतका धेरै विद्वान मन पराए र अन्य ग्रन्थहरूलाई पनि काठमा खोपेर ग्रन्थको रूपमा छाप्ने सुरु गरेको थियो । त्यसै क्रममा धेरै विद्वानहरूले नरथाङ, देगे, लाटङ टासी खिल, ल्हास आदि गोन्पाबाट काग्युर र तेन्ग्युरलाई सम्पादन गरी प्रकाशन गर्नुभएको पाइन्छ । काग्युर र तेन्ग्युरको धेरै प्रकारका संस्करणहरूमध्ये देगे, नरथंग, पेकिंग, चोनी र ल्हासा संस्करणका पुस्तकहरू विशेष महत्त्व दिने गरेको पाइन्छ ।

ठेली र ग्रन्थ सङ्ख्या: काग्युर र तेन्ग्युर विभिन्न प्रकारका संस्करण भए अनुसार ठेली र ग्रन्थको सङ्ख्यामा केही भिन्नता रहेता पनि देगे संस्करण अनुसार कग्युर (वचन अनुवाद) कुल १,१०८ ओटा ग्रन्थ रहेकालाई १०३ ठेलीमा सङ्ग्रह गरी राखिएको पाइन्छ । त्यस्तै गरी आचार्य नागार्जुन, वसुबन्धु, धर्मकीर्ति, चन्द्रकीर्ति, शान्तिदेव, असंघ, आर्यदेव, अश्वघोष, दिङ्नाग, शान्तरक्षित, दीपङ्कर श्रीज्ञान आदि जस्ता हजारौँ बौद्ध दर्शनका महाविद्वान तथा सरहपाद एवम् चौरासी महासिद्धाहरूको साथै अनेक सिद्धा महाविद्वानहरूद्वारा विरचित शब्द विद्या, प्रमाण विद्या, शिल्प विद्या, आयुर्विद्या, अध्यात्म विद्या पाँच महाविद्या र काव्य, छन्द, अभिधान, नाटक र ज्योतिष पाँच लघु विद्या सहित गरी कुल ३,९८० ओटा ग्रन्थहरू रहेका तेन्ग्युर (शास्त्र अनुवाद) लाई २२४ ठेलीमा सङ्ग्रह गरी राखिएको पाइन्छ । काग्युर र तन्ग्युर ग्रन्थ गोन्पाहरू र बौद्ध पुस्तकालयहरूमा सुरक्षित रहेको पाइन्छ । काग्युर र तेन्ग्युरका सम्पूर्ण ग्रन्थहरूलाई विषयको आधारमा विनय, सूत्र र अभिधर्म गरी तीन भाग विभाजन गरिएको हुन्छ । जसलाई त्रिपिटक भनिन्छ ।

काग्युर तेन्ग्युरको विवरण: प्राचीन समयमा काग्युर, तेन्ग्यरलाई काठे छापाको माध्यमबाट नेपाली कागतमा कालो मसीले छाप्ने, सुन, चाँदी र सिम्रिकले लेख्ने परम्परा रहेको पाइन्छ । सुन, चाँदी र सिम्रिकले लेखिएका काग्युर, तेन्ग्युरलाई अहिले पनि हिमाली क्षेत्रका गोन्पाहरूमा दर्शन गर्न पाइन्छ । वर्तमान प्रविधिको विकाससँगै काग्युर, तेन्ग्युर लगायत भोट भाषामा रहेका ग्रन्थहरू पनि कम्प्युटरकृत गरी पोथी र ग्रन्थको रूपमा प्रकाशन गरी विभिन्न विभागमा छुटाएको पाइन्छ । प्रत्येक विभाग अन्तर्गत विभिन्न ग्रन्थ सम्मिलित रहेका छन् । विभागको नाम त्यसको अन्तर्गतको ग्रन्थ सङ्ख्याको विवरण यस प्रकार रहेको पाइन्छ ।
५. क) देगे संस्करण सूची अनुसार काग्युर (वचन अनुवाद) ग्रन्थहरूको विवरण
विभागको नाम तथा ग्रन्थ सङ्ख्या
འདུལ་བ། विनय ७
ཤེར་ཕྱིན། प्रज्ञापारमिता ३६
ཕལ་ཆེན། अवन्तक सूत्र १
དཀོན་བརྩེགས། रत्नकूट ४९
མདོ་སྡེ། सूत्रान्त २६६
རྒྱུད། तन्त्र ४६८
རྙིང་རྒྱུད། प्राचीन तन्त्र १७
དུས་འཁོར། कालचक्र तन्त्र १
གཟུངས་འདུས། धारणी मन्त्र संग्रह २६३
५. ख) देगे संस्करण सूची अनुसार तेन्ग्युर (शास्त्र अनुवाद) ग्रन्थहरूको विवरण
विभागको नाम तथा ग्रन्थ सङ्ख्या
བསྟོད་ཚོགས། स्तोत्रगण ७१
རྒྱུད། तन्त्र २६०६
ཤེར་ཕྱིན། प्रज्ञापारमिता ३८
དབུ་མ། माध्यमिक १५७
མདོ་འགྲེལ། सूत्र टीका ३९
སེམས་ཙམ། चित्तमात्र ६६
མངོན་པ། अभिधर्म १८
འདུལ་བ། विनय ४६
སྐྱེས་རབས། जातक ८
སྤྲིན་ཡིག लेख (पत्र) ४५
ཚད་མ། प्रमाण शास्त्र ६६
སྒྲ་མདོ། शब्द सूत्र (व्याकरण) ३७
གསོ་བ་རིག་པ། चिकित्सा विद्या ७
བཟོ་རིག་པ། शिल्प विद्या १५
ལུགས་ཀྱི་བསྟན་བཅོས། नीतिशास्त्र १८
སྣ་ཚོགས། विश्वविद्या ११९
དཀར་ཆག विषयसूची २
ཁ་སྐོང༌། परिशिष्ट ६३०

निष्कर्ष: सातौँ शताब्दीदेखि भारत, नेपाल, तिब्बत र चीन आदि देशका प्रसिद्ध बौद्ध विद्वान् महापण्डितहरूद्वारा संस्कृत भाषाबाट भोट भाषामा अनुवाद गरिएका मूल स्रोतको रूपमा रहेका काग्युर (वचन अनुवाद) तेन्ग्युर (शास्त्र अनुवाद) ग्रन्थहरू भोट भाषामा सुरक्षित रहेको हुँदा नेपालका गोन्पाहरू र हिमाली बासीहरूको लागि भोट भाषाको धेरै महत्त्व रहेको छ । त्यस क्षेत्रका बासिन्दाहरूले जन्मदेखि मृत्युसम्मका सबै धार्मिक तथा सामाजिक कार्य सम्भोट लिपि भोटभाषाको माध्यमबाट नै सम्पन्न गर्ने गरिन्छ । त्यसै गरी संस्कृत भाषाबाट भोट भाषामा अनुवाद गरिएका मूल संस्कृत भाषामा रहेका अमूल्य बौद्ध ग्रन्थहरू धेरै लोप भएता पनि भोट भाषामा सुरक्षित रहेका छन् । नेपालको हिमाली क्षेत्रका बासिन्दाहरूको इतिहास, संस्कार संस्कृतिसँग सम्बन्धित विभिन्न रचनाको अति दुर्लभ ग्रन्थ तथा अभिलेखहरू भोट भाषा, सम्भोट लिपिमा रहेका छन् । धेरै दुर्लभ ग्रन्थहरू अहिले नेपालबाट पूर्ण रूपमा लोप भएर नाम मात्र सुन्न पाइन्छ । नेपालका कुनै दुर्लभ पुस्तकहरू विदेशबाट सम्पादन गरी प्रकाशन गरेकोको पनि पाइन्छ । त्यसैले आजै पनि हिमाली क्षेत्रमा रहेका अति दुर्लभ, अमूल्य ग्रन्थहरूलाई राष्ट्रिय अभिलेखालयले सरोकारवालाहरूसँग समन्वय गरी खोज अनुसन्धान तथा सम्पादन गरी प्रकाशन गर्नुपर्ने देखिन्छ । यसबाट देश विदेशका खोज अनुसन्धान गर्नेहरूका लागि ठुलो टेवा पुग्नुको साथै शिक्षा क्षेत्रमा राष्ट्रको छुट्टै पहिचान भन्नेछ ।

🖊 आचार्य सार्की शेर्पा
सोलुदुधकुण्ड नगरपालिका २, सोलुखुम्बु

प्रकाशित मिति २२ भाद्र २०७८, मंगलवार १८:२५

सम्बन्धित समाचारहरु