हिमपातका कारण जनजीवन प्रभावित,कृषकको मुहारमा खुशी

दावा जाङबु शेर्पा /ओखलढुंगा, पुस १४ गते । ओखलढु्ंगाको माथिलो भुभागमा बाक्लो हिमपात भएका कारण जनजीवन प्रभावित भएको छ । गाउँपालिकाको केन्द्र खिजी फलाटे सहित अधिकाँश स्थानमा बाक्लो हिमपात भएको हो ।

बुधबार बिहानै देखि हिमपात सुरु भएको र हिमपातका कारण गाउँपालिका केन्द्रमा रहेको फुलमती माध्यमिक बिद्यालयमा संचालिन भइ रहेको दोस्रो त्रैमासिक परिक्षा समेत स्थगित भएको छ । मौसममा सुधार आए पछि पुष १६ गते शुक्रबार परिक्षा संचालन गरिने फुलमती माध्यमिक बिद्यालयका प्रधानाध्यापक रुद्र शंकर घिमिरेले बताए । हिमपातका कारण जनजीवन प्रभावित भए पनि किसान भने उत्साहित भएका छन् । समयमै हिमपात र बर्षा नहुँदा खेतमा लगाइएका हिउँदेबाली सुक्ने भए भन्दै किसान चिन्तित बनेका थिए । “यो वर्ष हिउँदे बाली उत्पादन नहुने भयो भनेर चिन्तामा रहेका आफूहरु एक्कासी हिमपात हुन थालेपछि बाली उत्पादनमा वृद्धि हुने आस पलाएको खिजीदेम्बाका पेमाछिरीङ शेर्पाले बताए ।

हिउँ र पानीले अन्नबाली सप्रिनुका साथै सुक्खा मौसमले फैलन सक्ने रोग पनि रोक्ने भन्दै आफूहरु खुशी भएको उनको भनाइ छ । अहिले उच्च स्थान थोलेदेम्बा डांडा क्षेत्रमा हिउँले डाँडाकाँडा सेताम्य बनेका छन् । एक्कासी बादल लागेर हिउँ पर्न थालेपछि निकै चिसो बढेको छ ।

चिसोमा न्यानो कपडा लगाउन र झोलिलो तातो खानेकुरा खान स्थानीय प्रशासनले आग्रह गरेको छ । चिसोको मार बालबालिका र वृद्धवृद्धामा बढी देखिएको छ।

प्रकाशित मिति १४ पुष २०७८, बुधबार १७:११

सम्बन्धित समाचारहरु