- पेम्बा गेलु शेर्पा/११ मार्च ।
– शेर्पा समुदायको महान पर्व ग्याल्बो ल्होसार २१५३ (घोडा वर्ष) को अवसरमा बेल्जियममा ‘लोसार साँस्कृतिक साझ २०२६’ आयोजना हुने भएको छ। शेर्पा समाज बेल्जियमको आयोजनामा हुने उक्त कार्यक्रम आगामी ११ अप्रिल २०२६ मा बेल्जियमको ल्युभेनस्थित Don Bosco Centrum मा सम्पन्न हुने आयोजकले जनाएको छ।

शेर्पा समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको यस कार्यक्रममा शेर्पा परम्परागत नृत्य, विविध सांस्कृतिक प्रस्तुति तथा मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिनेछन्।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा नेपालका चर्चित गायक सोनाम शेर्पा ‘कोशिस’ तथा कलाकार लाहुरे कान्छाको विशेष सांगीतिक प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ। उनीहरूले कार्यक्रममा आफ्नो चर्चित गीतहरू प्रस्तुत गर्दै दर्शक–श्रोतालाई मनोरञ्जन दिने अपेक्षा गरिएको छ।
शेर्पा समुदायको नयाँ वर्षका रूपमा मनाइने ग्याल्बो ल्होसार शेर्पा समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व हो। यस पर्वले समुदायबीच आपसी सद्भाव, एकता र सांस्कृतिक पहिचानलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिन्छ। विदेशमा बसोबास गर्दै आएका शेर्पा तथा नेपाली समुदायबीच यस पर्वले सांस्कृतिक सम्बन्धलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ।
आयोजकका अनुसार कार्यक्रम साँझ ५ बजेबाट सुरु हुनेछ। बेल्जियमसहित युरोपका विभिन्न देशहरूमा बसोबास गर्दै आएका नेपाली तथा शेर्पा समुदायका सदस्यहरूलाई कार्यक्रममा उपस्थित भई ल्होसार पर्वलाई सामूहिक रूपमा हर्षोल्लासका साथ मनाउन अनुरोध गरिएको छ।
शेर्पा समाज बेल्जियमले विगतदेखि नै बेल्जियममा बसोबास गर्ने शेर्पा तथा नेपाली समुदायलाई एकताबद्ध गर्दै भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनका लागि विभिन्न सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
आयोजकले यस कार्यक्रममार्फत शेर्पा समुदायको समृद्ध सांस्कृतिक परम्परा अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्दै नेपाली संस्कृतिको पहिचानलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।