पेम्बा गेलु शेर्पा/ ५ नोभेम्बर २०२५

– नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) पोर्चुगलको सातौं अधिवेशन गत आइतबार राजधानी लिस्बनमा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।
अधिवेशनले ऐतिहासिक एकता, भाइचारा र समावेशी भावनालाई अभिव्यक्त गर्दै नयाँ नेतृत्व सर्वसम्मतरूपमा चयन गरेको छ।

सर्वसम्मत निर्णयअनुसार चोप कुमार रानामगर पुनः अध्यक्षमा र प्रेमचन्द्र निलेखु लिम्बु पुनः महासचिवमा निर्वाचित भएका छन्।
त्यसैगरी टेकबहादुर थापामगर वरिष्ठ उपाध्यक्ष, दिलकुमारी घिसिङ, कुङ्गा शेर्पा र निरज गुरुङ उपाध्यक्ष बनेका छन्।
जुनबहादुर तामाङ उपमहासचिव, याङ्डी शेर्पा कोषाध्यक्ष, र कुसुम गुरुङ सह–कोषाध्यक्षमा चयन भएका छन्।
सदस्यहरूमा छिरीङ शेर्पा, तेन्जि शेर्पा, डोल्मा घिसिङ, दिपेन्द्र श्रेष्ठ, सुरेश गुरुङ, युगबहादुर रानामगर र ज्ञानु केदेम लिम्बु रहेका छन्।

नेफिन पोर्चुगलको नेतृत्व विभिन्न जातीय संस्थाबीचको चक्रीय प्रणालीअनुसार चयन गरिँदै आएको भए पनि, सबै संस्थाले एक–एक पटक नेतृत्व सम्हालीसकेका कारण दोस्रो चक्रअनुसार यसपटक पुनः मगर समुदायको तर्फबाट रानामगर अध्यक्ष बनेका हुन्।
शेर्पा किदुग पोर्चुगलका संरक्षक धना शेर्पाका अनुसार, अधिवेशन सहमति र सहकार्यको उत्कृष्ट उदाहरणका रूपमा सम्पन्न भएको हो।

यद्यपि, अघिल्लो कार्यकालमा असन्तुष्टि जनाउँदै अलग्गिएको किरात राई समाज पोर्चुगल भने यस अधिवेशनमा सहभागी भएन।

निर्वाचन समितिका संयोजक पेम्छिरी शेर्पाले नयाँ नेतृत्वको नामावली सार्वजनिक गर्दै कार्यसमितिले पोर्चुगलमा बसोबास गर्ने नेपाली आदिवासी जनजातिहरूका हकहितका मुद्दालाई अझ सशक्त रूपमा अघि बढाउने विश्वास व्यक्त गरे।

नवनिर्वाचित अध्यक्ष चोप कुमार रानामगरले पोर्चुगलमा रहेका सबै नेपाली आदिवासी जनजातिहरूको अधिकार, पहिचान र सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा आफ्नो नेतृत्व पूर्ण रूपमा समर्पित रहने बताए।
उनले सबै नेपाली समुदायबीच सहकार्य र एकताको सन्देशसमेत दिएका छन्।

गतिशील, नेतृत्वदायी र समावेशी व्यक्तित्वहरूको संयोजन भएको यो नयाँ कार्यसमितिबाट संस्थालाई अझ सुदृढ बनाइ नेपाली आदिवासी जनजाति समुदायको गौरव र पहिचानलाई विश्वस्तरमा उजागर गर्ने अपेक्षा गरिएको छ।

अधिवेशन तथा पदबहाली समारोहमा स्थानीय समुदायका अग्रज, संघ–संस्थाका प्रतिनिधि, तथा संघीय र स्थानीय निकायका अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय