सल्लेरी च्याल्साको विद्युत् प्रणालीमा जोडियो, सोलुखुम्बु लोडसेडिङ मुक्त

सोलुखुम्बुमा निर्माण भएको ६७० किलोवाटको सल्लेलरी च्याल्सा लघुजलविद्युत् आयोजनाको बिजुली केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ । ग्रिडमा बिजुली जोडिएसँगै आज (फागुन १४ गते) बाट जिल्ला लोडसेडिङमुक्त भएको छ ।

सल्लेरी च्याल्सा जलविद्युत् कम्पनी लिमिटेडले निर्माण गरेको आयोजनाको बिजुली नेट मिटरिङ विधिबाट केन्द्रीय प्रणालीमा जोडिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए । आयोजना यसअघि ग्रिडबाहिर रहेको हुँदा लोडसेडिङ हुँदै आएको थियो ।

सोलुखुम्बुमा यसअघि बिहान २ र साँझ २ घन्टा लोडसेडिङ हुने गरेको प्राधिकरण सोलु वितरण केन्द्रका प्रमुख डेगराज पौड्यालले बताए । ‘नेट मिटरिङ विधीबाट ग्रिडमा जोडी परीक्षण भइरहेको छ, करिब एक महिनासम्म यसरी नै जोडिनेछ,’ उनले शुक्रबार भने, ‘यसमा कार्यकारी निर्देशकदेखि प्रादेशिक प्रमुखसम्म सबैको अथक मिहिनेत छ ।’

२०४७ सालमा स्वीस सरकारको ३३ प्रतिशत, प्राधिकरणको ३३ प्रतिशत र स्थानीयबासीको ३३ प्रतिशत लगानीमा आयोजना निर्माण भएको थियो । ग्रिडबाहिर रहेको हुँदा पनि यसअघि लोडसेडिङको समस्या थियो । त्यहाँको विद्युत् वितरण भने भूमिगत लाइनबाट गरिएको पौड्यालले जानकारी दिए ।

सोलुमा चालू आवको भदौदेखि हालसम्म प्राधिकरणका ग्राहक १ हजार पुगेका छन् । अब सोलु–दूधकोसी, नेचा–सल्यान लगायत गाउँपालिकामा ग्राहकहरू थपिने क्रम बढिरहेको पनि उनले बताए । उनका अनुसार अब सोलु–दूधकोसी गाउँपालिकामा ३ हजार, नेचा–सल्यान गाउँपालिकामा २ हजार र थुलुङ–दूधकोसी गाउँपालिकामा १५ सय ग्राहक थपिँदैछन् ।

यसैगरी, महाथुलुङ गाउँपालिकामा विद्युतीकरण गर्न सामुदायिक ग्रामीण विद्युतीकरण विभागले करिब १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यसको ठेक्का प्रक्रिया अगाडि बढेको पौडेलले बताए । यद्यपि, काम गर्न पर्याप्त कर्मचारी नरहेको उनले गुनासो गरे ।

केन्द्रका अनुसार सोलु वितरण केन्द्रमा जम्मा ५ जना स्थायी कर्मचारी छन् । ताकि, देशका अन्य वितरण केन्द्रमा एक–डेढ सयसम्म कर्मचारी रहने व्यवस्था छ । यसलाई माथिल्लो निकायले संवेदनशील रूपमा ध्यान दिनुपर्ने पौड्यालको भनाइ छ । – ऊर्जा खबर

प्रकाशित मिति १५ फाल्गुन २०७७, शनिबार ११:३०