विद्यार्थीहरूलाई करियर मार्गदर्शन र व्यावसायिक तालिम ।

काठमाडौं — “लियो क्लब अफ काठमाडौं सौहार्द”को आयोजनामा र कान्तिपुर इन्टरनेशनल कलेजको सहकार्यमा आयोजित ‘सौहार्द करियर फेस्ट–२०२५’ सफलता साथ सम्पन्न भएको छ। कक्षा १२ को परीक्षा सकेका करिब १५० विद्यार्थीलाई लक्षित गर्दै आयोजना गरिएको उक्त कार्यक्रमले सहभागीहरूलाई करियर योजना, व्यक्तिगत क्षमता विकास र भविष्यको दिशा निर्धारणमा सहयोग पुर्‍याएको छ।
कार्यक्रममा ‘प्लस टु पछि के गर्ने?’, ‘कुन विषय रोज्दा भविष्य उज्यालो हुन्छ?’ र ‘आफ्नो प्रतिभा कसरी पहिचान गर्ने?’ भन्ने जस्ता जिज्ञासामा विज्ञहरूले मार्गदर्शन प्रदान गरे। करियर काउन्सेलिङसँगै, सहभागीहरूलाई विविध क्षेत्रमा केन्द्रित व्यावसायिक तालिमसमेत दिइयो।
सेयर बजार, स्वस्थ जीवनशैली, आर्टिफिसियल इन्टेलिजेन्स (AI), च्याटजीपीटी, फ्रिलान्सिङ, इन्टेरियर डिजाइनजस्ता समसामयिक र व्यावसायिक विषयमा अनुभवी प्रशिक्षकहरूले प्रशिक्षण दिएका थिए।
शनिबार काठमाडौंमा सम्पन्न कार्यक्रमप्रति विद्यार्थीहरूको उत्साह उल्लेखनीय देखिएको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले आफूलाई आत्मविश्वासी र लक्ष्य केन्द्रित बन्न सहयोग गर्ने प्रतिक्रिया दिएका छन्। एक सहभागीले भने, “धेरै नयाँ कुरा सिक्न पाएँ। अब रिजल्टपछि आफूलाई मनपर्ने र अवसरयुक्त विषय रोज्नेछु। यस्ता कार्यक्रम फेरि भए अवश्य सहभागी हुनेछु।”
कार्यक्रम अत्यन्तै उपलब्धिमूलक रहेको आयोजकको भनाइ छ। लियो क्लब अफ काठमाडौं सौहार्दले सहभागीहरूको नाममा वृक्षरोपण कार्यक्रम समेत छिट्टै आयोजना गर्ने योजना बनाएको जानकारी दिएको छ।
कार्यक्रममा कान्तिपुर इन्टरनेशनल कलेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप राज जोशीले विद्यार्थीहरूलाई आफ्नो रुचिअनुसारको विषय रोज्न आग्रह गर्दै भने, “नेपालमै बसेर पनि विभिन्न क्षेत्रमा सफल बन्न सकिन्छ। विदेश जानु नै सफलता होइन, रोजेको क्षेत्रमा समर्पण र मिहिनेत गरे सफलता पक्कै मिल्छ।”
उनले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा सकारात्मक ऊर्जा र स्पष्ट लक्ष्य निर्माणमा सहयोग गर्ने भएकाले कलेज प्रशासनले भविष्यमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय