शेर्पा र सगरमाथा

शेर्पा भन्नेबित्तिकै केहीले चिम्सो आँखा र थेप्चो नाक भएका र तुलनात्मक रूपमा अलि खदिलो शरीर भएका मानिस सम्झिन्छन् होला। यो गलत होइन। झट्ट हेर्दा शेर्पाहरूको बाहिरी रूप त्यस्तै देखिन्छ पनि तर बहुसंख्यक मानिसले शेर्पा भन्नेबित्तिकै प्रत्यक्ष वा परोक्ष रूपमा सम्झिने अर्को कुरा हिमाल हो भन्दा फरक नपर्ला।

जति संख्यामा र जतिपटक शेर्पाहरूले हिमालको सफल आरोहण गरेका छन्, त्यसले गर्दा नै हिमालको पर्याय शेर्पा र शेर्पाको एउटा थप परिचय हिमाल बनेको हो। त्यो हिमाल अर्थात् सगरमाथा हो भनियो भने पनि सायद गलत नहोला।

सगरमाथाको फोटो मात्रै देख्दा पनि रोमाञ्चित हुने हामी अधिकांश नेपाली सगरमाथाको काखमै पुग्न पायौं भने कति रोमाञ्चित हुन्छौं होला ? सोचाइले नै एक अनौठो किसिमको तरंग उत्पन्न गर्छ। तर हामीमध्ये कतिपयले आफ्नो जीवनकालमा सगरमाथालाई प्रत्यक्ष साक्षात्कार गर्न पाउँला कतिले नपाउँला, यो भविष्यको गर्भमा छ।

बहुसंख्यक मानिसले शेर्पा भन्नेबित्तिकै प्रत्यक्ष वा परोक्ष रूपमा सम्झिने अर्को कुरा भनेको हिमाल हो भन्दा फरक नपर्ला। त्यो हिमाल अर्थात् सगरमाथा हो भनियो भने पनि सायद गलत नहोला ।

चाहना हामी सबैको छ भन्न सकिएला तर कसकसको चाहनाले मूर्त रूप लेला र सफलता मिल्छ होला त्यो भन्न सकिँदैन। केही दिन अगाडि यो शेर्पाले पनि आफ्नो पेशाको सिलसिलामा शेर्पालाई चिनाउने सगरमाथाको आधार शिविर पुग्ने सौभाग्य प्राप्त गरेको थियो। हुन त सगरमाथालाई नजिकबाट नियाल्न पाएको मेरो त्यो पहिलो अवसर पक्कै होइन। त्यस भ्रमणभन्दा अगाडि पनि हाम्रो देशको गौरव र संसारको आकर्षणको केन्द्र सगरमाथालाई नजिकबाट नियाल्ने अवसर पाएको थिएँ। त्यो पनि एकदुईपटक होइन, ६ पटक।

तर यसपटकको भ्रमण केही फरक कारणहरूले गर्दा थप स्मरणीय बन्यो। यसपटक आफ्नो कार्य संस्थाका साथीभाइसँग त्यहाँ जाने अवसर जुरेको थियो भने त्यहाँ गएर गरिएको कर्मले विश्वकीर्तिमान रच्न सफल भएको थियो। त्यो सफलतालाई सगरमाथाले दिएको आशिर्वादको रूपमा ग्रहण गरेको छु र सगरमाथाप्रति थप गौरवान्वित समेत भएको छु

आफ्नो कर्ममा थप अटल रहन सगरमाथाबाट प्रेरणा समेत प्राप्त भएको अनौठो अनुभवसमेत संगाल्ने सु–अवसर पनि पाएको छु। सगरमाथाको काखमा धेरैपटक पुगे पनि सगरमाथाको आरोहण गर्ने सपना भने पूरा भएको छैन मेरो। यो त्यति सहज काम पनि होइन। सगरमाथा आरोहण गर्ने निर्णय भनेको एक किसिमले आफ्नो ज्यान जोखिममा हाल्ने निर्णय समेत हो भन्दा कुनै फरक नपर्ला।

यो शेर्पाले यसो भन्दै गर्दा उता धेरै शेर्पाहरूले सगरमाथाको सफल आरोहण गरेका केही शेर्पाले त पटक पटक आरोहण गरेर थुप्रै किसिमका कीर्तिमान राखेका तथ्य पनि सबैलाई थाहा छ। त्यस्तो कसरी सम्भव भएको होला ? हामीलाई चुनौतीको शिखर लाग्ने सगरमाथा शेर्पाहरूका लागि किन र कसरी त्यस्तो सुलभ र सुगम भएको होला ? किन शेर्पाका लागि सहज सगरमाथा भएको होला ? आउनुहोस् आज यसबारेमा केही जानकारी लिउँ ः–

जिन्दगी यात्रा हो भन्ने भनाइलाई सत्य मान्ने हो भने जिन्दगीको यात्रामा ओरालो लाग्नुलाई असफलता मानिन्छ। उकालो लाग्नुलाई सफलताको मानकको रूपमा बुझिन्छ। सफलता पाउन त्यति सहज नहुने र कडा मिहिनेत गर्नुपर्ने भएकाले नै भनिएको होला कि सफलताको यात्रा तय गर्न धेरै उकाला चढनु पर्ने हुन्छ।

बाटोको सहजता भएको उकालो चढ्नु तुलनात्मक रूपमा गार्‍हो नहोला तर पहाड चढनु वा हिमाल चढ्नु भनेको सहज काम पक्कै होइन। हिमाल चढेर सफलताको रोमाञ्चकतामा रमाउन चाहनेहरूले त्यो सफलता प्राप्त गर्न आफ्नो जीवन दाउमा लगाउनु पर्ने हुन्छ। हिमाललाई जित्ने प्रबल उद्देश्य लिएर गएका कतिपयले आफ्नो जीवन हारेको दुखःद् समाचार हामीले नसुनेका पनि होइनौं।

हिमालको सफल आरोहण तब मात्र मानिन्छ वा भनिन्छ, जब आरोही सफलतापूर्वक हिमालको चुचुरोमा पुग्दछ। र, त्यति नै सफलतापूर्वक तल ओर्लिन पनि सफल हुन्छ। हिमाल चढ्नु एउटा कठिन काम त हुँदै हो, चुचुरोबाट सफतलाका साथ झर्नु अर्को ठूलो चुनौती हो। शेर्पाहरूले यो कार्य प्रायः सफलताका साथ सम्पन्न गर्ने गरेका छन्। त्यही भएर हिमाल आरोहणको कुरामा शेर्पाहरूलाई असाधारण मानिन्छ।

शेर्पाहरूले जुन किर्तिमानी गति र दक्षताका साथ हिमाल चढछन् र अरूलाई आरोहीलाई चढ्नमा मद्दत पनि गर्छन् जुन कला अद्भुत छ। हिमाल आरोहण गर्ने क्रममा उनीहरूले चुचुरोमा पुग्न पहिल्याउने मार्ग यस्ता हुन्छन्, जुन कसैले सोच्न पनि सकेको हुँदैन। हिमालसँग उनीहरूको परिचय यस्तो गहिरो कसरी भयो ? र, कसरी यस्तो अटुट नाता जोडियो ? बुझ्न शेर्पाहरूको प्राचीन रहनसहनलाई हेर्नुपर्ने हुन्छ।

आजभन्दा छ हजार वर्ष अगाडिको कुरा खोतल्ने हो भने शेर्पाहरू १७ हजार चार सय फिटको उचाइमा बसोबास गर्ने गरेको तथ्य हामी पाउँछौं। यो उचाइ भनेको त्यस्तो ठाउँ हो जहाँ कुनै पनि कुराको सुलभता त हुँदैन। अर्थात् जीवन पनि त्यति सहज हुँदैन। हामी समतल भूभाग वा कम उचाइमा बसिरहेका मानिसहरू आठ हजार फिटभन्दा माथिको उचाइमा जानेबित्तिकै अक्सिजनको कमी भएर टाउको दुख्ने, खाना नरुच्ने र निद्रा नलाग्ने जस्ता समस्यामा पर्न सक्छौं।

कतिपयमा त उच्च उचाइको कारणले मष्तिस्कमा आघात पर्छ जसलाई हाइ अल्टिच्युड सेरेब्रल एदेमा भनिन्छ। यस्तै फोक्सोमा पानी जम्ने हुन्छ जसलाई हाइ अल्टिच्युड पल्मोनरी एदेमा भनिन्छ। यस्ता थुप्रै समस्या उत्पन्न हुनसक्छ। यी दुवै ज्यान जोखिममा पारिदिन सक्ने अवस्थाहरू हुन्। गर्भवती महिला त्यस्तो उचाइमा जाँदा त गर्भपतन र अरू स्वास्थ्य समस्या हुने र उचाइका कारणले उच्च रक्तचाप हुने सम्भावना पनि धेरै हुन्छ।

सगरमाथाको फोटो मात्रै देख्दा पनि रोमाञ्चित हुने हामी अधिकांश नेपाली सगरमाथाको काखमै पुग्न पायौं भने कति रोमाञ्चित हुन्छौं होला ? सोचाइले नै एक अनौठो किसिमको तरंग उत्पन्न गर्छ।

अब यहाँ प्रश्न उठन सक्छ– यदि त्यति उचाइमा त्यति धेरै समस्या उत्पन्न हुन्छन् भने शेर्पाहरूलाई किन केही हुँदैन त ? जवाफ माथि नै लेखिसकेको छु। वर्षौंदेखि शेर्पाहरूको थातथलो नै त्यही स्थान भएकाले उनीहरूको शरीर त्यही भूगोल र वातावरणमा भिजिसकेको हुन्छ। लण्डनको युनिभर्सिटी अफ क्याब्रिजका फिजियोलोजिस्ट एन्ड्रयू मुरेले गरेको एक अध्ययनअनुसार हामी समतल वा कम उचाइमा बस्ने मानिसहरू जब उचाइमा चढ्छौं तब हाम्रो शरीरको एरिथ्रोपोइटिन नामक हर्मोनले शरीरमा रक्त कोशिका उत्पादन गर्छ। जसले शरीर र मांसपेशीमा थप अक्सिजनको सञ्चार त गर्छ तर त्यो रक्त कोशिकाले गर्दा रगत बाक्लो बनाइदिन्छ।

रगत बाक्लो भएपछि हाम्रो मुटुले सुचारु रूपमा रगत सञ्चार गर्न सक्दैन र परिणामस्वरूप अल्टिच्युड सिकनेसको लक्षण देखा पर्न थाल्छ। शेर्पाहरूको पनि उचाइमा चढ्दा रक्त कोशिका थप उत्पादन हुन्छ। तर, त्यो समतल भूभागबाट गएका मानिसको तुलनामा न्यून हुन्छ। शेर्पाहरूको शरीरमा कसरी यस्तो अद्भूत क्षमता आयो भन्ने विषयमा एन्ड्रयू मुरे र उनको टोलीले सगरमाथा आधार शिविरमा सन् २०१३ मा उनीहरूले १५ जना शेर्पा र १० जना समतल भूभागामा बस्नेलाई लिएर एक अध्ययन परीक्षण समेत गरे।

परीक्षणको त्यो दौरानमा सहभागी कसैलाई पनि अत्यधिक उचाइमा चढ्न दिइएन। त्यसपछि सबैलाई लन्डन वा काठमाडौंबाट ९२०० फिटको उचाइमा रहेको लुक्ला लगियो। सगरमाथा आधारशिविरको १० दिने ट्रेकिङको दौरानमा सबैलाई समान किसिमको भोजन खुवाइयो। त्यो ट्रेकिङको अगाडि र ट्रेकिङपछि पनि अनुसन्धानकर्ताहरूले सहभागी सबैको रगत र मांसपेशीको सानो टुक्रा परीक्षणका लागि नमूनाको रूपमा लिएका थिए।

परीक्षणको नतिजा बडो आश्चर्य लाग्ने किसिमको आएको थियो। अनुसन्धानकर्ताहरूको भनाइअनुसार शेर्पाहरूको शरीर कारजस्तो छ जसको इन्धन हाल्ने भाडो सानो आकारको भए पनि गति र पार गर्ने दूरीको क्षमता चाहिँ धेरै हुन्छ। शेर्पाहरू कम अक्सिजनमा पनि उचाइको लामो दूरी पार गर्न सक्छन्। शेर्पाहरूको शरीरले अक्सिजनको अभावमा पनि धेरै शक्ति उत्पादन गर्नसक्छन्। यसो हुनुको मुख्य कारण चाहिँ माथि भनिएको जस्तो वर्षौं वर्ष र पुस्तौं पुस्तादेखि शेर्पाहरू उच्च स्थानमा रहनु बस्नु नै हो।

सञ्चारमाध्यमसँग जोडिएकाले आजका मितिसम्म मेरो कर्म सगरमाथा आरोहण होइन। त्यससँग आवद्ध पनि छैन। तथापि नामको पछाडि जोडिएको शेर्पा थर माथि चाहिँ लाग्छ। राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा चासोका साथ हेरिने समुदायको सदस्य हुनुका नाताले पनि हो मेरो त्यो गौरव अनुभूति हो। हिमाल चढ्नेहरूलाई विभिन्न प्रशिक्षण, आरोहणका लागि चाहिने भौतिक सामग्रीको निर्माणदेखि पथप्रदर्शकको कामसमेत गर्न सक्षम भनेर संसारभर शेर्पालाई पर्वतारोहीहरूले नै चिनाएका हुन् भन्दा फरक नपर्ला।

तस्विरहरू : लाक्पा शेर्पा/सेभेन समिट ट्रेक्स

-अन्नपुर्ण पोस्ट

प्रकाशित मिति २५ आश्विन २०७८, सोमबार १६:१२

सम्बन्धित समाचारहरु