✍️ पेम्बा गेलु शेर्पा/१७ फेब्रुअरी, बेल्जियम ।

– डेनमार्कको ओडेन्से सहरमा आगामी मार्च १४, २०२६ का दिन ग्याल्पो लोसार–२१५३ विशेष सांस्कृतिक कार्यक्रमसहित मनाउने तयारी गरेका छन्। शेर्पा किदुग डेनमार्कको आयोजनामा हुने “लोसार सांस्कृतिक कार्यक्रम” ले विदेशमा रहेका नेपाली समुदायबीच एकता, संस्कृति संरक्षण र आपसी सद्भाव अभिवृद्धि गर्ने विश्वास गरिएको छ।

आयोजक संस्थाका अध्यक्ष पासाङ लामा शेर्पाका अनुसार कार्यक्रम ओडेन्से C स्थित Danmarksgade 16, 5000 मा शनिबार दिउँसो ३ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा परम्परागत शेर्पा सांस्कृतिक नृत्य तथा प्रस्तुति, सामूहिक शुभकामना आदान–प्रदान, सांगीतिक मनोरञ्जन र सामुदायिक भेटघाटलगायत विविध कार्यक्रम समावेश गरिने तयारी गरिएको छ। विदेशमा रहेका नेपालीहरूका लागि आफ्नै मौलिक पहिचान, भाषा र परम्परा जगेर्ना गर्ने महत्वपूर्ण अवसरका रूपमा यस कार्यक्रमलाई हेरिएको छ।
कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिहरूका लागि प्रवेश शुल्क प्रति व्यक्ति २०० डेनिस क्रोनर तोकिएको छ भने १० वर्षभन्दा माथिका बालबालिकाका लागि १०० क्रोनर निर्धारण गरिएको छ।
अध्यक्ष पासाङ लामा शेर्पाले सम्पूर्ण नेपाली तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई ग्याल्पो लोसारको उल्लासपूर्ण वातावरणमा सहभागी हुन हार्दिक निमन्त्रणा दिएका छन्। उनले विदेशमा रहेर पनि संस्कृति र परम्परालाई निरन्तरता दिने यस्ता कार्यक्रमले समुदायबीच आपसी सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।
शेर्पा समुदायको नयाँ वर्षका रूपमा मनाइने ग्याल्पो लोसारले नयाँ आशा, समृद्धि र सामूहिक एकताको सन्देश दिने गर्दछ। ओडेन्सेमा आयोजना हुन लागेको यो “लोसार सांस्कृतिक कार्यक्रम” ले डेनमार्कस्थित नेपाली समुदायमा उत्साह थप्ने मात्र नभई सांस्कृतिक पहिचानको संरक्षणमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय