पेम्बा गेलु शेर्पा / ३ नोभेम्बर

– शेर्पा समुदायको सांस्कृतिक, धार्मिक र सामाजिक गतिविधिहरूमा सक्रिय संस्था शेर्पा किदुग बेल्जियमले आगामी महत्त्वपूर्ण कार्यक्रमहरूको मिति निर्धारण गर्दै आफ्नो कार्यसमिति बैठक सम्पन्न गरेको छ। अध्यक्ष पेम्बा दोर्जी शेर्पाको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा संस्थाका पदाधिकारी र सदस्यहरूको उपस्थितिमा विभिन्न प्रस्तावहरूमा विस्तृत छलफल गरी सर्वसम्मत निर्णयहरू पारित गरिएको हो।

बैठकले संस्थाको अधिवेशन २०२५ डिसेम्बर २५ (बिहीबार) का दिन आयोजना गर्ने निर्णय गरेको छ। अधिवेशनमा संस्थाको वार्षिक प्रतिवेदन, आर्थिक विवरण र आगामी योजनासम्बन्धी प्रस्तावहरू प्रस्तुत गरिने बताइएको छ।

त्यसैगरी, शेर्पा समुदायको परम्परागत धार्मिक अनुष्ठान लोसार ल्हप्सो पुजा आगामी २०२६ फेब्रुअरी २२ (आइतबार) का दिन सम्पन्न गर्ने निर्णय गरिएको छ। बेल्जियममा बसोबास गर्ने शेर्पा समुदायका सदस्यहरूलाई एकसाथ ल्याउने उद्देश्यका साथ यो पुजा प्रत्येक वर्ष आयोजना गरिँदै आएको छ।

लोसारको अवसरमा आयोजना हुने लोसार साझ सांस्कृतिक कार्यक्रमका विषयमा पनि बैठकले निर्णय गरेको छ। उक्त कार्यक्रमका लागि उपयुक्त हलको व्यवस्था भएपछि मिति निर्धारण गरिने र कार्यक्रमलाई सांस्कृतिक एकताको प्रतीकका रूपमा मनाइने बैठकले जनाएको छ।

यसका साथै, सोलुखुम्बुस्थित थाक्छेन पेमा क्ष्योलिङ गुम्बामा आगामी १९औं दस करोड बज्रगुरु मन्त्र जप कार्यक्रम (२०२६ अप्रिल १७ देखि २६) मा शेर्पा किदुग बेल्जियमले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। सो अभियानका संयोजकका रूपमा श्री फुला शेर्पालाई तोकिएको छ।

बैठकको अन्त्यमा अध्यक्ष पेम्बा दोर्जी शेर्पाले संस्थाका सबै सदस्यहरूलाई सक्रिय सहभागिता र सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै बैठक समापन गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय