पेम्बा गेलु शेर्पा/०६ जुन २०२५ । — शेर्पा किदुग डेनमार्कले पोर्तुगलमा उपचाररत दोलखा गैरिशङ्कर गाउँपालिका–७ निवासी पुर्णिमा लामा शेर्पालाई आर्थिक सहयोग प्रदान गरेको छ। विगत तीन वर्षदेखि पोर्तुगलमा बसोबास गर्दै आएकी पुर्णिमालाई छातीको क्यान्सर जस्तो गम्भीर रोग लागेको छ। उनको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा कठिनाइ भइरहेको थियो।
गत अप्रिल १६ मा शेर्पा किदुग पोर्तुगलले एक विज्ञप्ति जारी गर्दै पुर्णिमाको स्वास्थ्य अवस्था र आर्थिक समस्याबारे जानकारी दिँदै सहयोगका लागि अपील गरेको थियो। सोही अपीललाई समर्थन गर्दै शेर्पा किदुग डेनमार्कले सहयोग अभियान सञ्चालन गरेको थियो। उक्त अभियानमार्फत संकलित १०,५६३ डेनिस क्रोनर पुर्णिमाको उपचारका लागि हस्तान्तरण गरिएको शेर्पा किदुग डेनमार्कले जनाएको छ।
शेर्पा किदुग डेनमार्कले आफ्नो फेसबुक पेजमार्फत यो जानकारी सार्वजनिक गर्दै अभियानमा सहयोग गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गरेको छ। यो सहयोगले पुर्णिमाको उपचारमा ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।
यस्ता सामुदायिक पहलले विश्वभर छरिएर रहेका नेपाली समुदायबीच एकता र सहकार्यको सन्देश प्रवाह गरेको छ। शेर्पा किदुग डेनमार्कको यो कार्यले अन्य समुदायलाई पनि यस्ता मानवीय कार्यमा प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ।