शेर्पा किदुग जर्मनीको प्रेस विज्ञप्तिप्रति कडा आपत्ति, शेर्पा संघ युरोपको निष्क्रियताप्रति चिन्ता ।

लिस्बन, पोर्तुगल – शेर्पा किदुग पोर्तुगलले शेर्पा किदुग जर्मनीद्वारा हालै जारी गरिएको प्रेस विज्ञप्तिप्रति कडा आपत्ति जनाएको छ। शेर्पा किदुग जर्मनीले आफूलाई सामाजिक चेतना र उत्तरदायित्वको पाठ पढाउने प्रयास गरेको भन्दै पोर्तुगलले उक्त कदमलाई हास्यास्पद र गैरजिम्मेवार ठहर गरेको छ।

शेर्पा किदुग पोर्तुगलका अध्यक्ष राजेन्द्र शेर्पाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “ “शेर्पा किदुग जर्मनी २००९ मा स्थापना भएको भनिए तापनि हालसम्म कुनै अधिवेशन गरेको छैन, न त कार्यसमिति नै अद्यावधिक गरिएको छ। यस्तो संस्थाले हाम्रो सक्रिय, पारदर्शी र समर्पित संस्थामाथि टिप्पणी गर्नु अनुचित र हास्यास्पद छ।”

शेर्पा किदुग पोर्तुगल सन् २००९ मा स्थापना भएदेखि हालसम्म ९ जना अध्यक्षहरूद्वारा संस्थाको नेतृत्व गरिसक्नुभएको छ र हरेक नेतृत्वले पारदर्शी, सहभागी र उत्तरदायी संस्थागत अभ्यासलाई अगाडि बढाएको दाबी गरेको छ। विज्ञप्तिमा संस्थाले नियमित अधिवेशन, विविध कार्यक्रमहरू र सामाजिक उत्तरदायित्वमा आधारित कार्यहरू सञ्चालन गर्दै आएको तथ्य उल्लेख गरिएको छ।

विज्ञप्तिमा संस्थालाई आन्तरिक मामिलामा अनावश्यक टिप्पणी नगर्न आग्रह गर्दै, “आफ्नो संस्था सक्रिय पार्ने, अधिवेशन गर्ने र पारदर्शी नेतृत्व स्थापना गर्ने तर्फ लाग्न” शेर्पा किदुग जर्मनीलाई सुझाव दिइएको छ। साथै, सामाजिक संस्था व्यक्तिगत स्वार्थको माध्यम होइन, सम्पूर्ण समुदायको साझा मञ्च हुनुपर्नेमा जोड दिइएको छ।

विज्ञप्तिमा शेर्पा संघ युरोपको वर्तमान अवस्थाप्रति पनि गम्भीर चिन्ता व्यक्त गरिएको छ। सन् २०१९ सम्म सक्रिय रहेको यो संस्था, शेर्पा किदुग जर्मनीको सिफारिसमा अध्यक्ष बनेका दावा ग्याल्जेन शेर्पाको नेतृत्वमा आएपछि निष्क्रिय बनेको शेर्पा किदुग पोर्तुगलको दाबी छ। विधान बमोजिम सन् २०२२ मा हुनुपर्ने महाधिवेशन नगरी कार्यकाललाई अवैधानिक रूपमा लम्ब्याइएको, अग्रजहरूको सुझावलाई बेवास्ता गरिएको, र सल्लाह सुझाव तथा फरक मत राख्नेहरुलाई व्यक्तिगत इगोका कारण फेसबुक म्यासेन्जरको कार्यसमिति समूहबाट हटाइएको घटनालाई गैरजिम्मेवार र निन्दनीय भनिएको छ। अध्यक्ष दावा ग्याल्जेन शेर्पाको आलोचना गर्दै विज्ञप्तिमा भनिएको छ, “यो प्रवृत्ति सामाजिक संस्थाको विधि–विधानप्रति बेखबर र आत्मकेन्द्रित नेतृत्वको परिचायक हो।”

अन्त्यमा, शेर्पा किदुग पोर्तुगलले सबै युरोपेली शेर्पाहरूलाई सम्बोधन गर्दै सामाजिक संस्थाहरूलाई “स्वच्छ, पारदर्शी र उत्तरदायी बनाउँदै अगाडि बढाउने” आह्वान गरेको छ। उनीहरूको आग्रह छ—शेर्पा संघ युरोप केही व्यक्तिको पेवा नबनोस्, यो सम्पूर्ण युरोपेली शेर्पाहरूको साझा मञ्च हो। यसको गरिमा र साख जोगाउनुपर्छ, यसलाई लोकतान्त्रिक ढाँचामा सञ्चालन गर्दै चाँडो महाधिवेशन गरियोस्।” विज्ञप्तिमा जोड दिइएको छ।

कस्तो थियो त शेर्पा किदुग जर्मनीले जारी गरेको विज्ञप्ती ?

केही दिन अघि हिमाली सन्देश अनलाइनमा अतिथि सम्पादक पेम्बा गेलु शेर्पाको शेर्पा संघ युरोपः गौरवमय इतिहासदेखि गतिविधिहीन अवस्थासम्म  शिर्षकमा लेख प्रकाशित भएपछि त्यसका विरुद्ध शेर्पा किदुग जर्मनीले आपत्ति जनाउदै एक विज्ञप्ती जारी गरेको थियो । जसमा शेर्पा किदुग पोर्तुगललाई समेत मुछदै शेर्पा किदुग पोर्तगललाई किदुग नै के हो भनेर थाहा नभएका व्यक्तिहरुले नेतृत्व गरिहेको भनेर उल्लेख गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय