सोलुखुम्बु : सोलुखुम्बुको पञ्चन स्थित ८६ मेगावाटको सोलु खोला दुधकोशी हाइड्रोपावरमा पाइप पड्किँदा दुई जनाको ज्यान गएको छ । आईतबार दिउँसो अन्दाजी ३ बजेतिर फलामको पाइपमा पानी हालेर परीक्षण गर्ने क्रममा पाइप पड्किदा दुई जना इन्जिनियरहरुको ज्यान गएको छ भने एक जना घाईते भएको प्रहरीले जनाएको छ ।

ज्यान गुमाउनेहरुमा हाइड्रोपावरमै कार्यरत इन्जिनियरहरु अछामका २६ वर्षका सुवास राज रेग्मी र काभ्रेका २९ वर्षका अर्जुन थापा रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पुष्टि गरेको छ । घटनामाा सिराहा औरही गाउँपालिका २ का २९ बर्षीय महमद जाबेतर राइन घाईते हुनुभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ओम प्रकाश यादवले जानकारी दिनुभयो ।

हेलिकप्टरमार्फत काठमाण्डौ लगिएको घाईते राइनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । थुलुङ दुधकोशी गाउँपालिका ३ मा भएको उक्त घटनामा ज्यान गुमाएका रेग्मी र थापा विस्फोट लगत्तै बेहोस भएका थिए । मौसम सफा नहुँदा उनीहरुलाई तत्कालै उपचारका लागि काठमाण्डौ लैजान नसकेपछि ओखलढुङ्गाको मिसन अस्पतालमा लगिएको थियो ।

अस्पताल लैजादै गर्दा उनीहरुको बाटैमा ज्यान गएको प्रहरी निरीक्षक यादवले जानकारी दिनुभयो । मृतकहरुको शव अहिले मिसन अस्पताल ओखलढुंगामा नै राखिएको छ । घटनाको विषयमा अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

-Solu FM

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय