पेम्बा गेलु शेर्पा/बेल्जियम, २ अप्रिल – बेल्जियममा रेल युनियन ETISP-Protect ले गरेको एक हप्ताको हड्ताल आइतबार साँझ सकियो। तर, सोमबारदेखि फेरि रेल चल्न सकेन, किनभने दुई ठूला युनियनहरू ACOD Spoor र ACV-Transcom ले सामान्य हड्ताल गरेका छन्। यस सम्बन्धमा TreinTramBus भन्ने संस्थाले यो हड्तालले यात्रुहरूलाई धेरै दुःख दिएको बताएको छ।

“यो लगातार नवौं दिनको हड्ताल हो। युनियनहरूले आफ्नो कुरा राखिसके। यात्रुहरू वाक्क भइसके,” TreinTramBusका अध्यक्ष पिटर म्युकेन्सले भने। “रेल यात्रुहरू त युनियनका साथी हुन्। उनीहरूलाई दुःख दिने होइन, अब वार्ता गर्नुपर्छ।” सोमबार र गत हप्ताको हड्तालबाहेक, फेब्रुअरीमा पनि साना युनियन OVS र ASTB ले ९ दिन हड्ताल गरेर मार्च २ सम्म रेल रोकेका थिए।

TreinTramBusले यात्रुहरूलाई केही राहत दिनुपर्ने माग गरेको छ। “फेब्रुअरी र मार्चको सिजन टिकट भएका सबैले ‘सरी पास’ पाउनुपर्छ,” म्युकेन्सले भने। पहिला-पहिला यस्तो ‘सरी पास’ दिने चलन थियो। सन् २००८ मा मे २० को हड्तालमा रेल कम्पनी SNCB/NMBSले यस्तो पास दिएको थियो। त्यो बेला १ लाख ८३ हजारभन्दा बढी यात्रुले एक दिन फ्री रेल यात्रा गर्न पाएका थिए।
अहिले सिजन टिकटवालाले हड्तालले ठूलो समस्या भए क्षतिपूर्ति पाउन सक्छन्। तर, त्यो प्रक्रिया झन्झटिलो छ। “फारम भर्नुपर्छ, ६० मिनेटभन्दा बढी ढिला भएमात्र पाइन्छ। यो बोझ यात्रुलाई नै हुन्छ,” म्युकेन्सले भने।

TreinTramBusले क्षतिपूर्ति सजिलो बनाउनुपर्ने बताएको छ। “सिजन टिकटवालाले टिकटको म्याद एक दिन थप्न पाउनुपर्छ। वैकल्पिक समय तालिका नहुँदा यो गर्न सकिनुपर्छ,” उनीहरूको माग छ। म्युकेन्सले हड्तालको अधिकार ठीकै भएको, तर यात्रुलाई धेरै असर परेको बताए।

अप्रिलमा हरेक मंगलबार हड्ताल

अप्रिलमा (१ अप्रिलबाहेक) ठूला युनियनहरूले हरेक मंगलबार हड्ताल गर्ने भएका छन्। धेरै दिन साना हड्ताल गर्नुभन्दा एकैचोटि ठूलो हड्ताल गर्ने उनीहरूको योजना छ। “यो राम्रो सुरुवात हो। तर वार्ता चल्दासम्म हड्ताल रोक्नुपर्छ,” म्युकेन्सले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय