तमू धीं कोरियाले विश्वव्यापी अनलाइन तमू साँस्कृतिक (नृत्य) प्रतियोगिता गर्ने

बोम्जन गुरुङ/१८ नोभेम्बर २०२१, सउल कोरिया, तमू धीं दक्षिण कोरियाको आयोजना र साँस्कृतिक विभागको मुख्य सक्रियतामा विश्वव्यापी अनलाइन तमू साँस्कृतिक (नृत्य) प्रतियोगिता हुने भएको छ । आउँदै गरेको तमू (गुरुङ) समुदायको महान् पर्व तथा नयाँ वर्ष तमू ल्होसार (पौष पन्ध्र) को अवसरलाई लक्षित गर्दै उक्त प्रतियोगिता आयोजना गरिने भएको हो ।

यस प्रतियोगिताले तमू समुदायभित्र रहेको अन्तर्निहित क्षमतालाई प्रस्फुटन गर्ने, कलाकारिता क्षेत्रलाई प्रोत्साहन मात्र नभएर भाषा, संस्कार संस्कृति र परम्पराको जगेर्ना साथै सम्बर्द्धनमा टेवा पुर्याउने उद्धेश्यले सो प्रतियोगिताको आयोजना गरिएको तमू धीं दक्षिण कोरियाका केन्द्रीय अध्यक्ष लेसन गुरुङले बताए । कोरोना कहरसँगको प्रतिकूलता विच अनुकूलता खोज्दै आफ्नो समुदाय भित्रको प्रतिभा खोजीसँगै जातीय पहिचान र अस्तित्वलाई विश्वसामु फैलाउनु कार्यक्रमको मुख्य ध्येय रहेको संस्थाको महासचिव सन्तोष गुरुङले थपे । तमू जातिको मौलिकतालाई विशेष जोड दिदै जातीय भेषभूषा, प्रस्तुति, अभिनय र कलाको आधारमा प्रतियोगी विजयी घोषणा गरिने संस्थाका साँस्कृतिक विभाग प्रमुख सुनिल गुरुङले प्रष्टयाए ।

कार्यक्रमको प्रारम्भिक तयारी अन्तर्गत साँस्कृतिक विभाग प्रमुख सुनिल गुरुङ संयोजकत्व रहने गरी टोप गुरुङ, लिलु गुरुङ, बोम्जन गुरुङ, विपना गुरुङ, सबनम गुरुङ, मञ्जु गुरुङ सहितको सात सदस्यीय उपसमिति गठन गरिएको छ । प्रतियोगीले विशुद्ध गुरुङ भाषाको जूनसुकै गीतमा आफ्नो एकल वा सामूहिक कला प्रस्तुत गर्न पाउनेछन् र भिडियो दुई देखि तीन मिनेटसम्म हुनुपर्ने नियम कायम गरिएको छ ।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय स्थान हासिल गर्नेले क्रमशः पचास हजार रुपैंया, तीस हजार रुपैंया, पन्ध्र हजार रुपैंया सहित आकर्षक ट्रफी र सम्मान पत्र प्राप्त गर्नेछन् भने भेषभूषा प्रस्तुतिको आधारमा उत्कृष्ट एकजनाले दश हजार रुपैंया र सम्मान पत्र हात पार्नेछन् । प्रतियोगिताका सहभागिताका लागि यही नोभेम्बर २१ देखि डिसेम्बर २५ सम्म खुल्ला गरिएको छ । प्रतियोगितासम्बन्धी अन्य नियम र जानकारीहरु छिट्टै सार्वजनिक गर्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति ३ मंसिर २०७८, शुक्रबार १७:२६

सम्बन्धित समाचारहरु