पेम्बा गेलु शेर्पा/५ नोभेम्बर २०२५

-अमेरिकाको सबैभन्दा ठूलो र प्रभावशाली सहर न्यूयोर्कमा ३४ वर्षीय डेमोक्र्याट र लोकतान्त्रिक समाजवादी Zohran Mamdani मेयर निर्वाचित भएका छन्। उनले पूर्वराज्यपाल गभर्नर एन्ड्रु कुमो र रिपब्लिकन उम्मेदवार कर्टिस स्लिवालाई पराजित गर्दै अमेरिकी राजनीतिमा ऐतिहासिक अध्याय लेखेका छन्।

यस जितले केवल अमेरिकी शहरी राजनीति होइन, समग्र विश्वका प्रगतिशील राजनीतिक धारालाई नयाँ उर्जा दिएको छ। विशेषगरी, यसले देखाएको छ कि अब राजनीति केवल धन र पुराना संरचनाको खेल होइन, जनताको दैनिक जीवनसँग जोडिने माध्यम बन्न सक्छ।

युगाण्डाबाट न्यूयोर्कसम्म : एक असामान्य यात्रा

Zohran Mamdani को जीवन यात्रा स्वयंमा आधुनिक अमेरिकाको बहुरङ्गी समाजको प्रतिबिम्ब हो। उनको जन्म युगाण्डामा भयो, तर परिवार आप्रवासीका रूपमा अमेरिकामा बसोबासमा आयो। क्विन्स जिल्लामा हुर्किएका उनले आर्थिक असमानता, आवास समस्या र सामाजिक न्यायका मुद्दा नजिकबाट अनुभूति गरे।

राजनीतिमा प्रवेश गरेपछि उनी क्विन्स क्षेत्रका सांसद बने र त्यहींबाट सामाजिक न्याय, सार्वजनिक यातायात सुधार, न्यूनतम तलब वृद्धि र भाडा नियन्त्रणका मुद्दा उठाउँदै जनताबीच लोकप्रिय बने।
उनको नारा थियो “सामान्य मानिसका लागि सरकार।”

Mamdani को राजनीतिक शैली असाधारण थियो। उनले ठूला निगमको चन्दा अस्वीकार गरेर साना सहयोगकर्तामार्फत अभियान चलाए। सामाजिक सञ्जाल र घर–घरको संवादमार्फत उनले युवा मतदाताको ठूलो समर्थन जुटाए। यही कारण उनले परम्परागत राजनीतिक सञ्जालमा अडिएका प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भए।

ट्रम्पसँगको राजनीतिक टकराव र विचारधारात्मक संघर्ष

Mamdani को जित केवल चुनावी परिणाम होइन, विचारधाराको संघर्षको प्रतीक पनि हो। राष्ट्रपति डोनाल्ड ट्रम्पले खुलेआम उनलाई “कम्युनिष्ट पागल” भन्दै टिप्पणी गरेका थिए। ट्रम्पले चेतावनी दिएका थिए  “यदि यस्तो व्यक्ति जित्छ भने संघीय सहयोग रोक्न सकिन्छ।”

ट्रम्पको यस्तो वक्तव्य केवल विरोध होइन, अमेरिकाको संघीय र स्थानीय शासनबीचको शक्ति–सन्तुलनमाथि गरिएको दबाब थियो। तर Mamdani ले यसलाई राजनीतिक अवसरमा रूपान्तरण गरे। उनले प्रतिक्रियामा भनेका थिए “यदि आम नागरिकको पक्षमा बोल्नु पागलपन हो भने, म गर्वका साथ पागल छु।”

यस वाक्यले उनीप्रति जनताको सहानुभूति र समर्थन दुवै बढायो। उनका मतदाताहरूले उनलाई “ट्रम्पको अहंकारविरुद्ध जनताको जवाफ” का रूपमा हेरे।

यो टकरावले अमेरिकी राजनीतिक दिशाबारे पनि संकेत दियो। दशकौँसम्म पूँजीवादी संरचनामा आधारित शासन अब सामाजिक समानता र जनमुखी सोचतर्फ मोडिँदैछ। Mamdani को जित त्यसैको प्रमाण हो, सत्ता र शक्ति अब “स्थापितहरू” बाट “सामान्य नागरिक” तर्फ सर्दैछ।

न्यूयोर्क सहरले अब पहिलोपटक मुस्लिम र दक्षिण एशियाली मूलका मेयर पाएको छ। सांस्कृतिक विविधताको केन्द्र मानिने यो सहरमा यस्तो प्रतिनिधित्वले राजनीतिक सन्देश मात्र होइन, सामाजिक आत्मविश्वास पनि जगाएको छ।

Mamdani ले भाडा नियन्त्रण, सार्वजनिक सेवा सुधार र धनीमाथि कर वृद्धि जस्ता नीतिगत वाचा गरेका छन्। यी मुद्दाहरू सहरका साधारण नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएका छन्। तर बजेट व्यवस्थापन, राज्यसँगको समन्वय र शक्तिशाली व्यावसायिक लबीको प्रतिरोधका सन्दर्भमा चुनौती पनि उत्तिकै गम्भीर छन् ।

तर पनि, Mamdani को जीतले अमेरिकी राजनीतिमा एक नयाँ पुस्ताको उदय संकेत गरेको छ, जुन वैचारिक रूपमा स्वतन्त्र, प्रगतिशील र सामाजिक न्यायप्रति प्रतिबद्ध छ ।

नेपालका Gen Z हरूका लागि प्रेरणादायी सन्देश

Mamdani को यो विजय अमेरिकाको सीमाभन्दा बाहिर पनि गहिरो अर्थ बोकेको छ। विशेषगरी नेपालजस्ता मुलुकमा, जहाँ हालैका वर्षहरूमा युवाहरू राजनीतिक निराशा र वैकल्पिक खोजको अवस्थामा छन्, यो परिणाम एउटा प्रेरणाको स्रोत बन्न सक्छ।

गत सेप्टेम्बर ८ र ९ मा नेपालमा देखिएको Gen Z आन्दोलन, जसमा हजारौं युवाहरू भ्रष्टाचार, असमानता र पुराना राजनीतिक अभ्यासविरुद्ध सडकमा उत्रिए, Mamdani जस्तै सोचको प्रतिफल हो। उनीहरू पनि परम्परागत दल र नेताको आलोचना गर्दै “नयाँ मूल्य, नयाँ सोच” को खोजीमा थिए।

Mamdani को जीतले ती युवाहरूलाई सन्देश दिएको छ कि परिवर्तन सम्भव छ, यदि जनताले नै दिशा देखाउने साहस गर्छन् भने।
उनको नेतृत्वले देखाएको छ कि राजनीति केवल सत्तामा पुग्ने लक्ष्य होइन, सामाजिक उत्तरदायित्वको अभ्यास हो।

नेपालका युवाहरूका लागि यो घटनाले तीन सकारात्मक प्रभाव पार्न सक्छ ।

पहिलो, जनस्तरबाट नेतृत्व उठाउने आत्मविश्वास ।
दोस्रो, पारदर्शिता र नैतिकताको राजनीतिमा जोड दिने सोच ।
तेस्रो, राजनीतिक निराशाबाट नडराई वैकल्पिक बाटो खोज्ने प्रेरणा।

Mamdani को जितले जब नयाँ पुस्ता सँगठित हुन्छ र पुराना संरचनाको सट्टा नयाँ विचारमा भरोसा गर्छ, तब परिवर्तन केवल सम्भव होइन, अपरिहार्य हुन्छ भन्ने सन्देश स्पष्ट रुपमा दिएको छ । यही सन्देश अहिले नेपालका सडकमा उत्रिएका युवाहरूको मनमा गुञ्जिन थालेका छन ।

Zohran Mamdani को विजय केवल अमेरिकी राजनीतिक नतिजा होइन, यो विश्वभरका युवाहरूको सामूहिक चेतनाको प्रतिबिम्ब हो। उनले ट्रम्पजस्तो शक्तिशाली प्रतिद्वन्द्वीको धम्कीका बाबजुद जनताको विश्वास जिते र यसले प्रमाणित गर्‍यो कि लोकतन्त्रमा अन्ततः आवाज जनताको नै विजयी हुन्छ।

न्यूयोर्कदेखि काठमाडौंसम्म, यो घटनाले “राजनीति अब केवल अभिजात वर्गको खेल होइन, जनताको जिम्मेवारी हो।” भन्ने एउटा साझा सन्देश बोकेको छ ।
अमेरिकाको सहरमा सुरु भएको यो परिवर्तनको इन्द्रधनुष अब सीमाना नाघेर नयाँ पुस्ताको राजनीतिक सोचमा उज्यालो भइसकेको छ।

Mamdani ले उद्घाटन भाषणमा भनेका थिए, “हाम्रो काम अहिले मात्र सुरु भएको हो।” उनको यो वाक्य आज नेपालका Gen Z युवाहरूको आवाजसँग पनि मेल खान्छ जुन “परिवर्तन सुरु भइसकेको छ, अब त्यसलाई रोकिन दिइने छैन र दिनुहुँदैन” ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय