दोलखा, २५ जेठ दोलखाको जिरी नगरपालिका वडा नम्वर १ श्यामामा जलविद्युत आयोजनको प्रसारण लाईनबाट करेन्ट लागेर दुई स्कुले विद्यार्थी गम्भिर घाईते भएका छन् ।
स्थानीय गर्जाङढुंगा माविमा अध्ययन गरि घर फर्किने क्रममा जिरी नगरपालिका २ भष्मे निवासी निमावाङछु शेर्पाकी १६ वर्षीया छोरी दालमु शेर्पा र सोही स्थानका मंगले शर्पाका १३ वर्षीय छोरा विकु शेर्पा गम्भिर घाईते भएका हुन् । विद्यालय गएर घर फर्किदै गर्दा जिरी नगरपालिका वडा नम्वर १ र २ को सिमानामा पर्ने रावुटार सामुदायिक वन क्षेत्र नजिकै उनीहरुलाई करेन्ट लागेको हो । करेन्ट लागेर दुवै विद्यार्थीको शरीरको पछाडीपट्टिको भाग पुरै जलेको र अवस्था गम्भिर रहेको स्थानीय निरबहादुर कार्कीले जानकारी दिनुभयो । श्यामामा केही महिना अघि मात्रै निर्माण सम्पन्न भएको गर्जाङ भ्याली हाईड्रोपावर बाट उत्पादित विजुलीको प्रसारण लाईनमा लापरवाही भएका कारण सो दुर्घटना भएको स्थानीयले बताएका छन् । स्थानीयबासिका अनुसार गर्जाङ हाईड्रो मार्फत उत्पादित विजुलीलाई जिरी सवस्टेशनसम्म जोड्ने प्रसारण लाईनको एउटा विद्युतीय पोलको स्टेकवायर काँचो रुखमा बाँधिएको र सोही कारण विद्युत जमिनसम्म प्रवाह भई घर फर्किदै गरेका विद्यार्थी दुर्घटनामा परेका हुन् ।
गम्भिर घाईते दुवै विद्यार्थीलाई स्थानीयले उद्धार गरि एम्वुलेन्समार्फत थप उपचारका लागि पठाएका छन् । घाईते दालमु गर्जाङढुंगा माविको कक्षा १० र विकु कक्षा ६ मा अध्ययन गर्ने विद्यार्थी हुन् । श्यामामा निर्माण भएको २ दशमलव ८ मेगावट क्षमताको गर्जाङ भ्याली हाईड्रोपावर गत फागुन महिनामा मात्रै निर्माण सम्पन्न भएको हो । उत्पादित विजुलीलाई राष्ट्रिय ग्रिडमा जोड्ने प्रसारण लाईन सुरक्षित र व्यवस्थित नहुँदा क्षति व्यहोर्नुपरेको स्थानीयको गुनासो छ ।