पेम्बा गेलु शेर्पा/ १० नोभेम्बर २०२५ ।
– बेल्जियमको राजधानी ब्रसेल्समा बेरोजगारीले नयाँ कीर्तिमान कायम गरेको छ। क्षेत्रीय रोजगार सेवा एक्टिरिस(Actiris)ले सार्वजनिक गरेको मासिक बारोमिटरअनुसार अक्टोबर महिनाको अन्त्यसम्ममा ९६,१६१ जना कामको खोजीमा दर्ता भएका छन्। यो संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४ प्रतिशतले बढी हो भने एक महिनामै १,४९० जना थपिएका छन्।
यसमा उच्च शिक्षा हासिल गरेकाहरु सबैभन्दा ठूलो मारमा परेका छन्। विश्वविद्यालय डिग्री वा सोभन्दा माथिल्लो योग्यता भएका बेरोजगारको संख्या गत वर्षको तुलनामा १०.२ प्रतिशतले वृद्धि भएको छ। यसको विपरीत, माध्यम शिक्षितको वृद्धिदर २.१ प्रतिशत र कम शिक्षितको ३.८ प्रतिशत मात्र रहेको छ।
एक्टिरिस(Actiris)का महानिर्देशक ग्रेगोर चापेलले भने, “हामीले यति धेरै उच्च योग्यता भएका व्यक्तिहरू एकैपटक बेरोजगार भएको पहिलोपटक देखेका हौं। अर्कोतर्फ, क्षेत्रमा ७१,००० रिक्त पद छन् तर ती पदहरूमा आवश्यक सीप र उम्मेदवारहरूको योग्यताबीच ठूलो अन्तर छ।”

यता फ्ल्यान्डर्समा बेरोजगारी दर ३.८ प्रतिशत र वालोनियामा ७.८ प्रतिशत मात्र छ।
१ जनवरी २०२६ देखि लागू हुने नयाँ संघीय नियमअनुसार नयाँ बेरोजगारले अधिकतम दुई वर्ष मात्र बेरोजगारी भत्ता पाउनेछन्। एक्टिरिस(Actiris)का अनुसार यसले विशेषगरी ब्रसेल्सका ४१,००० भन्दा बढी दीर्घकालीन बेरोजगार लाई थप संकटमा पार्न सक्छ।
जवाफमा ब्रसेल्स सरकारले सन् २०२६ का लागि डिजिटल सीप, स्वास्थ्य तथा प्राविधिक क्षेत्रमा २५ मिलियन युरो थप बजेट विनियोजन गर्ने घोषणा गरेको छ। तर विपक्षी दलहरूले यो रकम अपर्याप्त भएको टिप्पणी गरेका छन्।
एक्टिरिसले सबै रोजगार खोजी गर्नेहरूलाई तत्काल सीप विकास तालिममा सहभागी हुन आह्वान गरेको छ।
स्रोत : एक्टिरिस मासिक बारोमिटर (७ नोभेम्बर २०२५)