Your message has been sent
पेम्बा गेलु शेर्पा/७ सेप्टेम्बर ।
-बेल्जियममा बेरोजगार भत्ता लिँदै आएका हजारौँ मानिसलाई छिट्टै चेतावनी पत्र पठाइने भएको छ। Belgische Rijksdienst voor Arbeidsvoorziening (RVA) अर्थात National Employment Office (Onem) का अनुसार यी पत्रहरू सेप्टेम्बर १३ देखि डिजिटल ‘eBox’ मार्फत र सेप्टेम्बर १५ देखि हुलाकमार्फत पठाइनेछन्। पत्रमा भत्ता कहिलेदेखि बन्द हुने भन्ने प्रष्ट जानकारी दिइनेछ।
सबैभन्दा पहिले प्रभावित हुने समूहमा करियरभरि कम्तीमा २० वर्ष बेरोजगार राहतमा बिताएका करिब १० हजार ७ सय व्यक्ति पर्छन्। उनीहरूको भत्ता २०२६ जनवरी १ देखि बन्द हुनेछ।
यससँगै हाल (Insertion Benefits) पाउँदै आएका करिब १८ हजार १ सय व्यक्तिहरूलाई पनि असर पर्नेछ। जनवरी १, २०२६ सम्म कम्तीमा एक वर्षसम्म यस्तो भत्ता पाएका व्यक्तिहरूको अधिकार समाप्त हुनेछ।
दोस्रो चरणको चेतावनी पत्र २०२५ अक्टोबरमा पठाइनेछ। यसले करियरभरि ८ देखि २० वर्षसम्म बेरोजगार राहत पाएका व्यक्तिहरूलाई लक्षित गर्नेछ। उनीहरूको भत्ता २०२६ मार्च १ देखि अन्त्य हुनेछ।
तेस्रो चरणको पत्र २०२५ नोभेम्बरमा पठाइनेछ। यसमा करियरभरि आठ वर्षभन्दा कम बेरोजगार राहतमा रहेका व्यक्तिहरू समेटिनेछन्। उनीहरूको भत्ता २०२६ अप्रिल १ देखि बन्द हुनेछ।
यो निर्णयले हजारौँ मानिसलाई गम्भीर असर पार्नेछ। धेरैलाई आफ्नो आयस्रोत हराउने जोखिम छ भने विशेषगरी लामो समयदेखि रोजगार नपाएका र उमेर ढल्किँदै गएका व्यक्तिहरूको भविष्य अझै कठिन हुने देखिन्छ। विशेषज्ञहरूले राज्यले रोजगारमा फर्काउने स्पष्ट रणनीति ल्याउन नसके थप सामाजिक समस्या बढ्न सक्ने चेतावनी दिएका छन्।