✍️ पेम्बा गेलु शेर्पा/१४ मे २०२५ । – २५६९ औं बुद्ध जयन्तीका दिन, मे १२, २०२५, बेल्जियमको एन्तोर्पेनस्थित Tibetaans Instituut vzw तिब्बतीयन बौद्ध गुम्बामा विशेष कार्यक्रम आयोजना गरिएको थियो । तमु समाज, बेल्जियमको संयोजनमा सातवटा नेपाली जातीय समाजहरूको सहकार्यमा आयोजना गरिएको यो कार्यक्रमले नेपाली समुदायबीच आपसी सद्भाव, धार्मिक विविधता बुद्ध शिक्षाको सन्देश फैलाउने उद्देश्य राखेको थियो। तर कार्यक्रम त्यसको विपरित विवादित बन्यो । तिब्बतीयन बौद्ध गुम्बामा आयोजित यो कार्यक्रममा बेनेलक्सका लागि नेपाली राजदूत सेवा लम्सालको उपस्थितिले उत्पन्न गरेको तनावले बुद्ध जयन्तीको पवित्रता र नेपाली समुदायको एकतामाथि प्रश्न उठाएको छ।

बेनेलक्सका लागि नेपाली राजदूत सेवा लम्साललाई आयोजकहरूले प्रमुख अतिथिका रुपमा  हार्दिकतापूर्वक निमन्त्रणा गरेका थिए। तर, राजदूतले तिब्बतीयन धार्मिक स्थलमा उपस्थित हुन असमर्थता जनाइन्। गत वर्ष पनि यही कारणले बुद्ध जयन्ती गुम्बाबाहिरको हलमा मनाइएको थियो।

नेपाल सरकारले अवलम्बन गर्दै आएको ‘एक चीन नीति’ अनुसार, तिब्बतीयन धार्मिक–राजनीतिक नेतासँग सम्बन्धित गतिविधिमा सरकारी प्रतिनिधिहरूको सहभागिता निषेध गरिएको छ। यही नीतिको हवाला दिँदै राजदूत लम्सालले तिब्बतीयन धार्मिक स्थलभित्र आयोजना हुने कार्यक्रममा आफ्नो उपस्थिति असहज हुने जनाएका थिए ।

कार्यक्रमको दिन राजदूत गुम्बामा आउनुभयो, तर कार्यक्रमका लागि तय गरिएको पूजा कक्षमा जान अस्वीकार गर्नुभयो। यसै प्रसंगमा, गुम्बाको मुख्य पूजा कक्षमा रहेका दलाई लामाका तस्वीर तथा बोर्डहरू हटाउन वा ढाक्न आग्रह गरिएको थियो। आयोजकहरूले सम्भव भएसम्म समायोजन गर्न प्रयास गरे पनि, गुम्बाको वैधानिक संरचना धार्मिक आस्थाका कारण यस्ता माग पूरा गर्नु आयोजकहरुको नियन्त्रण भन्दा बाहिरको कुरा थियो । राजदूतले बिशेष गरी पूजा स्थलमा रहेका दलाई लामाका तस्वीर हटाएमा वा ढाकिएमा मात्र उपस्थिति जनाउने स्पष्ट अडान राख्नुभएपछि आयोजकहरू धर्मगुरुहरूसँग सहमति खोज्न बाध्य भए। तर धर्मगुरुहरूले यसलाई धार्मिक हस्तक्षेप ठानी अस्वीकार गरे।

यो शर्तले गुम्बामा शान्तिको सन्देश फैलाउन उपस्थित धर्मगुरु र बौद्धमार्गीहरूमा आक्रोशको लहर दौडियो। प्रमुख लामा लाक्पा लामा शेर्पाले स्पष्ट शब्दमा जवाफ दिनुभयो, “दलाई लामालाई हामी बौद्ध धर्मगुरुको रूपमा सम्मान गर्छौँ, यो तस्बीर हटाउन सकिँदैन।” उहाँले थप्नुभयो, “यस्तो धार्मिक पर्वमा यस्ता शर्त राख्ने राजदूतको उपस्थिति आवश्यक छैन।” आयोजकहरूले राजदूतलाई पूजा हलमा सहभागी हुन बारम्बार अनुरोध गरे, तर उहाँ मुख्य कार्यक्रम हलमा जान मान्नुभएन। यो तनावले कार्यक्रममा ढिलाइ भयो, र उपस्थित समुदाय अन्योलमा पर्‍यो।

प्रमुख लामा शेर्पाका अनुसार, “दलाई लामा बौद्ध धर्मगुरुका रूपमा मान्य छन्। उहाँको तस्वीर हटाउनु वा छोप्नु हाम्रो धार्मिक निष्ठामा आघात पुर्‍याउनु हो।” यस घटनाले बुद्ध जयन्तीको भावनात्मक महत्त्वलाई छायामा पार्दै कूटनीतिक दबाब धार्मिक स्वतन्त्रताबीचको गहिरो अन्तरविरोध उजागर गरेको छ । 

अन्ततः आयोजकहरूले भुइँतलाको खाना हलमा व्यानर टाँगेर औपचारिक कार्यक्रम सम्पन्न गरे। राजदूतको प्रमुख आतिथ्यमा यो कार्यक्रम सम्पन्न भए पनि धार्मिक पूजामा सहभागी धर्मगुरुहरू औपचारिक सत्रमा उपस्थित भएनन् । यो खटपटले गर्दा बुद्ध जयन्तीको धार्मिक महत्त्व र नेपाली समुदायको एकताको सन्देश छायामा पर्‍यो।

बुद्ध केवल धार्मिक व्यक्तित्व होइनन्, उनी नेपालको राष्ट्रिय गौरव हुन्। बुद्ध जयन्ती कुनै राजनीतिक रंगभेदको विषय होइन, विश्वलाई शान्ति अहिंसाको सन्देश दिने दिन हो। यस्तो अवसरमा, नेपाल सरकारका प्रतिनिधिले परिपक्वता, सहिष्णुता समावेशी दृष्टिकोण देखाउनु उपयुक्त हुने थियो।

यो घटनामा राजदूत लम्सालको व्यक्तिगत दोष नभए पनि नेपाल सरकारको एक चीन नीतिले उनलाई बाँधेको स्पष्ट छ। तर, तिब्बतीयन गुम्बाभित्र प्रवेश गरेर एउटा कोठाबाट अर्को कोठामा जानलाई शर्त राख्नु कूटनीतिक संवेदनशीलताको अभाव थियो। बुद्ध नेपालको राष्ट्रिय गौरव र विश्व शान्तिको प्रतीक हुन्। यस्तो पर्वमा राजदूतावासले समुदायलाई एकताबद्ध बनाएर बुद्ध जयन्तीलाई भव्यताका साथ मनाउन नेतृत्वदायी भूमिका खेल्नु पर्दथ्यो ।

यो घटनाले कूटनीति, धार्मिक स्वतन्त्रता र समुदायको भावनाबीच सन्तुलनको आवश्यकता उजागर गरेको छ। बुद्धको शान्तिको सन्देश बोकेको बुद्ध जयन्ती जस्तो पर्वलाई कूटनीतिक अडानले ओझेलमा पार्नुहुँदैन। नेपाल सरकारले यस्ता संवेदनशील विषयमा समुदायसँग संवाद र स्पष्ट मार्गदर्शनको नीति अंगीकार गर्नुपर्छ किनकी बुद्ध जयन्ती जस्तो अवसरमा यस्तो असमझदारी हुनु दुःखद मात्र होइन, भविष्यमै यस्ता कार्यक्रमहरूको सहकार्य समावेशी स्वरूपलाई प्रभावित गर्ने खालको संकेत पनि हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय