पेम्बा गेलु शेर्पा/२६ मे २०२५ – विश्वप्रसिद्ध नेपाली आँखा चिकित्सक डा. सन्दुक रुइतलाई अमेरिकास्थित शेर्पा किदुगले विशेष सम्मानसाथ स्वागत गर्दै उहाँको जीवन परिवर्तनकारी अभियानमा ५० हजार १ अमेरिकी डलर सहयोग प्रदान गरेको छ।
यो सहयोग रकम शेर्पा किदुग र नवस्थापित संस्था ‘हिमालयन होप नेटवर्क’ले संयुक्त रूपमा संकलन गरेको ५ हजार ७ डलर समेत जोडेर डा. रुइतलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।
कार्यक्रममा डा. रुइतलाइ स्वागत गर्नुहुदै शेर्पा किदुग अमेरिकाका अध्यक्ष तेम्बा शेर्पाले भन्नुभयो, “हजारौंलाई उज्यालो देखाएका प्रेरणादायी व्यक्तित्व डा. रुइतलाई सम्मान गर्न पाउनु हाम्रो गौरव हो। उहाँको अभियानमा हामी निरन्तर साथ दिनेछौं।”
डा. रुइतले कार्यक्रममा आफ्नो मन्तव्य राख्नुहुदै अमेरिका भ्रमणको दुई मुख्य उद्देश्यबारे पनि जानकारी गराउनु भयो, जसमा पहिलो, नेपालमा विकसित दृष्टि पुनःस्थापनाको सफल मोडललाई हार्वर्ड, स्ट्यानफोर्ड, ब्राउन तथा बास्कम पाल्मरजस्ता प्रतिष्ठित संस्थासँग साझेदारी गर्दै अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्नु, र दोस्रो उद्देश्य नेपालमै अत्याधुनिक इन्ट्राओकुलर लेन्स (IOL) उत्पादन गर्ने कारखाना स्थापना गरी विश्वभर निर्यात गर्ने र त्यसबाट प्राप्त आम्दानीलाई गरिब तथा पहुँचबाहिर रहेका समुदायको निःशुल्क आँखा उपचारमा लगानी गर्ने।
यो महत्त्वाकांक्षी योजनाको कुल लागत झण्डै ८ मिलियन अमेरिकी डलर रहेको छ। डा. रुइतका अनुसार हालसम्म ३ मिलियन डलर संकलन भइसकेको छ भने बाँकी ५ मिलियन डलर जुटाउन नेपाली समुदायको सक्रिय सहभागिता आवश्यक छ।
उहाँले जानकारी दिनुभएअनुसार, अहिले १५० डलर पर्ने लेन्सलाई केवल ३ डलरमा उत्पादन गर्न सकिएको छ, जसले लाखौं मानिसको दृष्टि पुनःस्थापनालाई सम्भव बनाएको छ।
सर्जरीमा अद्वितीय दक्षता हासिल गर्नुभएका डा. रुइतले हालसम्म २ लाखभन्दा बढी मोतियाबिन्दु शल्यक्रिया निःशुल्क रूपमा सम्पन्न गरिसक्नु भएको छ। त्यस्तै, उहाँले १,००० भन्दा बढी चिकित्सकहरूलाई तालिम दिई दृष्टि उपचार अभियानलाई अन्तर्राष्ट्रिय स्तरमै फैलाएका छन्। नेपालका दुर्गम गाउँहरूदेखि भारत, भूटान, भियतनाम, क्याम्बोडिया, इन्डोनेसिया, उत्तर कोरिया र अफ्रिकाका देशहरूसम्म पुगेर उहाँले लाखौंलाई जीवनमा फेरि उज्यालो देख्न मद्दत गर्नुभएको छ।
कार्यक्रमको अन्त्यमा सहभागीहरूसँग संवाद गर्दै डा. रुइतले सम्मानप्रति कृतज्ञता प्रकट गर्नुभयो। “शेर्पा किदुग अमेरिका र सम्पूर्ण नेपाली समुदायबाट प्राप्त यो सद्भाव, सहयोग र सम्मान मेरो लागि एक अमूल्य प्रेरणा हो,” उहाँले भन्नुभयो ।
उहाँका अमेरिका भ्रमण संयोजक लेनिन कडेलका अनुसार डा. रुइतको आगामी कार्यक्रम मेरिल्याण्ड, डालास र नर्थ क्यारोलिनामा तय गरिएको छ।

तस्वीर सौजन्य: शेर्पा किदुग अमेरिकाको फेसबुक  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय