✍️ पेम्बा गेलु शेर्पा /२० जुलाई, २०२५ ।
– बेल्जियमस्थित हिमालयन शेर्पा सांस्कृतिक केन्द्र अन्तराष्ट्रिय शाखाको आयोजनामा यस वर्षको ड्रुक्पा छेची पर्व आउँदो अगष्ट ४ तारिख, ल्युभेन शहरमा विशेष रूपमा मनाइने भएको छ। यो कार्यक्रम शेर्पा किदुग बेल्जियम र शेर्पा युथ ग्रुप बेल्जियमको सह-आयोजनामा हुन लागेको हो।
कार्यक्रममा नेपालको सोलुखुम्बुस्थित सेर्लो गुम्बाका प्रमुख लामा, आदरणीय पेमा थार्छेन रिनपोछेको विशेष उपस्थिति रहने छ। उहाँको अगुवाइमा छेवाङ पूजाः (ཚེ་དབང་།) र मणि वाङ्लुङ (མཎི་དབང་ལུང་་།) विधिपूर्वक सम्पन्न गरिनेछ।
डुक्पा छेची बौद्ध धर्मको एक अत्यन्तै पवित्र चाड हो, जुन गुरु पद्मसम्भवको जन्मजयन्तीको रूपमा मनाइन्छ। चन्द्र पात्रो अनुसार छैटौं महिनाको चौथो दिन मनाइने यो पर्वलाई सन् २०२५ अनुसार अगष्ट ४ मा परेका दिन स्मरण गरिँदैछ। गुरु पद्मसम्भव, जसलाई बौद्ध परम्परामा दोस्रो बुद्धको रूपमा पूजा गरिन्छ, ले आठ रूपमा अवतार लिएको मानिन्छ, जसमा कमल जलबाट उत्पन्न ‘Guru Tsokye Dorje’ को जन्मदिवसका रूपमा यो पर्व मनाइन्छ।
डुक्पा छेची केवल धार्मिक चाड मात्र नभई हिमाली समुदायको मौलिक पहिचान, आस्था र परम्पराको प्रतीक हो। यस पर्वमा गरिने पूजा, मन्त्रपाठ र ध्यानले आत्मशुद्धि, कल्याण र विश्वशान्तिको कामना गरिन्छ। मणि वाङ्लुङ “ॐ मणि पद्मे हुँ ” मन्त्रको विशेष अनुष्ठानलाई बुद्धचित्तको आह्वान गर्ने शक्तिशाली विधि मानिन्छ भने छेवाङ पूजामा साधकहरूले बौद्ध शिक्षाको गहिरो अर्थ आत्मसात् गर्दै लामा गुरुहरूबाट आशीर्वाद ग्रहण गर्छन्।
बेल्जियममा बसोबास गर्ने नेपाली, शेर्पा तथा अन्य हिमाली समुदायहरूबीचको एकता, धार्मिक भावना र सांस्कृतिक जगेर्नाको माध्यम बनेर यो कार्यक्रम अझै विशेष बन्न गइरहेको छ। पारम्परिक घ्यालिङ, लामा पूजा र सामूहिक मन्त्रजपले कार्यक्रमलाई अझ आकर्षक र आध्यात्मिक बनाउने अपेक्षा गरिएको छ।
गुरु पद्मसम्भवले जीवन र ध्यानमार्फत दिनुभएको “बाहिरी शक्ति होइन, अन्तरको प्रज्ञा नै मुक्ति हो” भन्ने शिक्षालाई सम्झाउने यो पर्व आजको विकर्षणतर्फ अग्रसर समाजमा आध्यात्मिक सन्देश बोकेको अवसर हो। ल्युभेनमा हुन गइरहेको डुक्पा छेची पर्वले यूरोपको भूमिमा पूर्वीय बुद्धज्ञानको उज्यालो फैलाउँदै हिमाली धर्मसंस्कृति र परम्पराको गौरवलाई अझ मजबुत बनाउने विश्वास लिइएको छ। यसै अवसरको लाभ लिन आयोजकले बेल्जियमबासी सम्पूर्ण बौद्धमार्गीहरुलाई अव्हान गरेका छन ।