✍ पेम्बा गेलु शेर्पा / २२ जुलाई २०२५
– युरोपेली संघले २०२५ अक्टोबर १२ देखि नयाँ डिजिटल प्रणाली लागू गर्दैछ, जसअनुसार अब युरोप प्रवेश गर्दा राहदानीमा स्टाम्प लगाइने छैन। यसको सट्टामा यात्रुको औंलाको छाप र अनुहारको डिजिटल विवरण सङ्कलन गरिनेछ।
यो प्रणालीको नाम Entry/Exit System (EES) हो। यस प्रणालीले युरोपेली संघ तथा शेङ्गेन क्षेत्रको सीमा नाकामा आउने र जाने गैर-युरोपेली नागरिकको आगमन तथा प्रस्थान विवरण डिजिटल रूपमा सुरक्षित गर्नेछ। EES प्रणाली लागू भएपछि युरोप प्रवेश गर्ने सबै गैर-EU यात्रुहरूले आफ्नो फिंगरप्रिन्ट (औंलाको छाप) र फेस स्क्यान (अनुहार) दिनुपर्नेछ। यिनीहरूको पासपोर्ट विवरण, आगमन मिति, बसाइको अवधि र बाहिरिने मिति सबै विवरण एकीकृत कम्प्युटर प्रणालीमा सुरक्षित गरिनेछ।
यो प्रणाली विशेषगरी फ्रान्स, जर्मनी, नेदरल्याण्ड्स, बेल्जियम, स्पेन, इटालीलगायतका २९ वटा शेङ्गेन देशहरूमा लागू हुनेछ। तर आयरल्याण्ड र साइप्रस भने यस प्रणालीमा सामेल हुने छैनन्। EES प्रणालीले यात्रुहरूलाई स्टाम्पका लागि लाइनमा उभिनुपर्ने झन्झट हटाउने छ। त्यसका सट्टा, एयरपोर्ट वा सीमा नाकामा राखिएका स्वचालित कियोस्क वा इ-गेट मार्फत यात्रुले आफैं विवरण प्रविष्ट गर्न सक्नेछन्। पहिलोपटक युरोप प्रवेश गर्दा यात्रुले आफ्नो बायोमेट्रिक विवरण दिनुपर्नेछ। त्यसपछि तीन वर्षभित्र वा पासपोर्टको म्याद सकिएसम्म पुनः स्क्यान गराउनु नपर्नेछ। १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई औंलाको छाप आवश्यक पर्ने छैन। तर तिनीहरूको अनुहार भने डिजिटल रूपमा स्क्यान गरिनेछ।
EES प्रणाली लागू हुनुको प्रमुख उद्देश्य भनेको युरोप प्रवेश गर्ने यात्रुहरूको वास्तविक विवरण संकलन गर्नु, अवैध रूपमा समयभन्दा बढी बस्ने व्यक्तिहरूको निगरानी गर्नु, र सीमा सुरक्षा सुदृढ बनाउनु हो। यस प्रणालीपछि अर्को चरणमा ETIAS प्रणाली लागू गरिनेछ, जुन २०२६ को अन्त्यतिर सुरु हुने अपेक्षा गरिएको छ। ETIAS मार्फत युरोप प्रवेश गर्न चाहने यात्रुहरूले अगावै अनलाइन स्वीकृति लिनुपर्नेछ। नयाँ प्रणाली लागू भएपछि अब पासपोर्टमा स्टाम्प खोज्न नपर्ने छ। बरु तपाईंको औंलाको छाप र अनुहार नै तपाईँको यात्रा प्रमाण हुने छ। यदि तपाईंले निकट भविष्यमै युरोप यात्रा गर्ने योजना बनाउनुभएको छ भने, समयमै जानकारी लिएर आवश्यक तयारी गर्नु अत्यन्त जरुरी छ।