पेम्बा गेलु शेर्पा / १९ जुलाइ २०२५ ।

– पोर्तुगलमा बसोबास गरिरहेका हजारौं आप्रवासीहरूका लागि आफ्नो परिवारलाई सँगै राख्ने सपना झन टाढिँदै गएको छ। सरकारले पारिवारिक पुनर्मिलनसम्बन्धी कानुनी अधिकारलाई झनै सिमित बनाउँदै कडाइ गरेको छ, जसले नेपाली समुदायलगायत थुप्रै आप्रवासीहरूलाई गहिरो चिन्तामा पारेको छ।

पोर्तुगलको संसदले २०२५ को जुलाईमा अध्यागमनसम्बन्धी कानुनमा ठूलो संशोधन पारित गर्दै पारिवारिक पुनर्मिलन (family reunification) को दायरा निकै खुम्च्याएको छ। अबदेखि आप्रवासीहरूले केवल आफ्ना नाबालक सन्तानहरू (१८ वर्षमुनिका) लाई मात्र पोर्तुगलमा ल्याउन सक्नेछन्। पहिले श्रीमान–श्रीमती, आमा–बुवा, वा अन्य वयस्क आश्रितहरूलाई पनि बोलाउन पाइन्थ्यो, तर अब त्यो कानुनी अधिकार हटाइएको छ।

पुनर्मिलनका लागि आवेदन दिन चाहने व्यक्तिले कम्तीमा २ वर्षसम्म पोर्तुगलमा वैध रूपमा बसोबास गरेको प्रमाण देखाउनुपर्नेछ। साथसाथै उनीहरूसँग पर्याप्त आम्दानी, निजी आवासको उपलब्धता र सरकारी सहायता (social assistance) मा निर्भर नरहेको प्रमाण पनि हुनुपर्छ। अझै, पुनर्मिलन भएर आएका परिवारका सदस्यहरूले पोर्तुगीज भाषा सिक्नुपर्ने र नाबालकहरूलाई विद्यालयमा अनिवार्य रूपमा भर्ना गरिनुपर्ने कानुनी व्यवस्था पनि लागू गरिएको छ।

प्रक्रिया खुला भएजस्तो देखिए पनि व्यवहारमा बन्दजस्तै

यद्यपि कानुनी रूपमा पुनर्मिलनको बाटो पूर्ण रूपमा बन्द गरिएको छैन, व्यवहारमा भने यो प्रक्रिया अवरुद्धजस्तै छ। सन् २०२३ मा SEF (Serviço de Estrangeiros e Fronteiras) लाई विघटन गरी नयाँ संस्था AIMA (Agência para a Imigração e Mobilidade de Asilo) गठन गरिएको थियो। तर यो संस्थाले अहिले पनि पुराना आवेदनहरूको भारी बोझ सम्हाल्न नसकेको कारण नयाँ अपोइन्टमेन्ट (vaga) महिनौँदेखि खुल्न सकेको छैन।

धेरै नेपाली आप्रवासीहरू सामाजिक सञ्जालमा आफ्ना पीडा पोखिरहेका छन्—“सबै कागजात तयार भएर पनि निवेदन दिन पाइँदैन। अपोइन्टमेन्ट खुल्दैन, सिस्टम नै बन्दजस्तै छ।”

राजनीतिक तहमा अझै कडाइ गर्ने प्रस्तावहरू पनि देखा परेका छन्। चरम दक्षिणपन्थी पार्टी चेगाले पारिवारिक पुनर्मिलनलाई आठ वर्षसम्म स्थगन गर्नुपर्ने माग अघि सारेको छ। यद्यपि त्यो प्रस्ताव अहिलेसम्म कानुन बनेको छैन, यस्तो मागले आप्रवासी समुदायमा अन्योलता र डर थपेको छ।

केही उच्च दक्षता (Highly Qualified) श्रेणीमा पर्ने आप्रवासीहरूलाई भने अपवादस्वरूप पुनर्मिलनको सुविधा हुनेछ। तर सामान्य आप्रवासीहरूका लागि भने पोर्तुगलको रेसिडेन्सी कार्ड बनाएर आफ्नो परिवारसग बस्न पाउने अधिकार झनै अप्ठ्यारो र कठिन बन्दै गएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय