पेम्बा गेलु शेर्पा/०८ सेप्टेम्बर २०२५

– नेपालमा जेन जेड आन्दोलनलाई सरकारले गोली प्रहार गरेर दमन गर्दा आइतबार मात्रै १९ जना युवाले ज्यान गुमाएका छन्। यस घटनाप्रति तीव्र आपत्ति जनाउँदै बेल्जियममा रहेका नेपाली युवाहरू र तटस्थ समर्थकहरूले ब्रसेल्सस्थित नेपाली दूतावास अगाडि शान्तिपूर्ण प्रदर्शन गर्ने घोषणा गरेका छन्।

आन्दोलन १० सेप्टेम्बर २०२५ का दिन दिउँसो २ बजे हुने बताइएको छ। आयोजकहरूको भनाइमा, यो प्रदर्शन केवल प्रवासी नेपालीहरूको लागि मात्र होइन, बरु जो–कोही न्याय र स्वतन्त्रताको पक्षमा छन्, उनीहरूले पनि उपस्थित भएर नेपाली युवाहरूलाई समर्थन गर्न सक्नेछन।

नेपालमा भइरहेको जेन जेड आन्दोलन मूलतः भ्रष्टाचारविरोधी र स्वतन्त्र अभिव्यक्तिको पक्षमा सुरु गरिएको थियो। तर सरकारको तर्फबाट सामान्य बल प्रयोग गरेर पनि नियन्त्रण गर्न सकिने अवस्थामा गोली प्रहार गरेर युवाहरूको हत्या गरियो। प्रत्यक्षदर्शीहरूका अनुसार प्रहरीले प्रदर्शनकारीहरूलाई लक्ष्य गरेर गोली चलाउँदा धेरै घाइते भएका छन्।

“आज १९ जना युवाको ज्यान गयो, भोलि के हुन्छ भन्ने हामीलाई थाहा छैन। यही कारणले हामी मौन बस्न सक्दैनौं,” आयोजक मध्येकी एक रुविना शर्माले भनिन ।

अन्तर्राष्ट्रिय प्रतिरोधको स्वर

बेल्जियम, नेदरल्याण्ड्स र लक्जेम्बर्गमा रहेका नेपाली र तटस्थ समर्थनकर्ताहरूले संयुक्त रूपमा दूतावाससम्म मार्च गर्ने तयारी गरेका छन्। उनीहरूले नेपाल सरकारले तत्काल गोलीप्रयोग बन्द गर्नुपर्ने, शान्तिपूर्ण प्रदर्शनलाई सम्मान गर्नुपर्ने र मृतकहरूलाई न्याय दिनुपर्ने माग गरेका छन्।

मानवअधिकारकर्मीहरूले समेत नेपालमा भएको दमनलाई “अनावश्यक र योजनाबद्ध हिंसा” भन्दै अन्तर्राष्ट्रिय समुदायलाई नेपाल सरकारमाथि दबाब दिन आह्वान गरेका छन्।

नेपालमा भने मृतकका परिवार र प्रदर्शनकारीहरू अझै आक्रोशित छन्। युवाहरूको रगतले सडक रङ्गिएको बेला विदेशमा रहेका नेपाली र समर्थकहरूले ‘साइलेंस मिन्स कम्प्लिसिटी’ (मौन रहनु भनेको अपराधसँग सहमत हुनु हो) भन्दै एकजुट हुने तयारी गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय