प्रिय अभिभावकज्यूहरू,
आजको दिन केवल तपाईंको परिवारका लागि मात्र होइन, सम्पूर्ण नेपालको लागि नै अन्धकारमय कालो दिन बनेको छ। तपाईंका छोराछोरी हाम्रो देशका १९ जना होनहार Gen Z युवाहरू जोश, उत्साह र भविष्यका ठूला सपनासहित सुशासन र पारदर्शी शासनको माग गर्दै सडकमा उत्रिएका थिए, तर दुर्भाग्यवश राज्यसत्ताको निर्मम गोलीको शिकार भए।
तपाईंका सन्तानहरू अझ अध्ययन, करिअर र जीवनका थुप्रै योजनामा थिए। उनीहरूले आफ्नो जीवनको यात्रा सुरु गर्ने बित्तिकै राष्ट्रलाई पहिले सोच्ने जिम्मेवारी उठाए, जुन असाधारण साहस हो। तर विडम्बना के भयो भने, उनीहरूको निर्दोष जीवनलाई नै समाप्त पारियो।
आमा–बुबा, तपाईंको पीडा शब्दले वर्णन गर्न सकिँदैन। छोराछोरी गुमाउनु भन्दा ठूलो घाउ, भन्दा ठूलो शोक अरु केही हुन सक्दैन। हामीलाई थाहा छ, तपाईंको मनमा असंख्य प्रश्नहरू छन्:
-
“किन हाम्रो सन्तानलाई गोली हानियो?”
-
“शान्तिपूर्ण आवाजलाई किन बन्दुकले चुप पारियो?”
-
“के न्याय, सत्य र सुशासन माग्नु अपराध हो?”
यी प्रश्नहरूको जवाफ तत्काल दिन सकिँदैन। तर सत्य के हो भने, तपाईंका छोराछोरीहरूले जे आवाज उठाए, त्यो हरेक नेपालीको मुटुमा गुञ्जिरहेको छ। उनीहरूको आहुती अब लाखौं युवाको दृढता र संकल्पमा परिणत हुनेछ।
इतिहास साक्षी छ, देशका लागि बलिदान दिनेहरू कहिल्यै हराउँदैनन्। तपाईंका छोराछोरीहरूको नाम पुस्तौँ पुस्तासम्म लोकतन्त्रका दीपका रूपमा सम्झिनेछ। उनीहरूले रगतले लेखेको यो आन्दोलन अब झनै मजबुत भएर अघि बढ्नेछ।
प्रिय अभिभावकज्यूहरू,
आज तपाईंलाई ढाडस दिनु सजिलो छैन। तर सम्झनुस्—तपाईंका सन्तानहरूले सत्य, न्याय र समावेशी भविष्यको बाटोमा जीवन अर्पण गरेका छन्। यो आहुती कहिल्यै व्यर्थ हुने छैन।
तपाईंको पीडा केवल व्यक्तिगत होइन, यो सम्पूर्ण राष्ट्रको सामूहिक घाउ हो। हामी सबै नेपाली तपाईंको शोकमा सहभागी छौँ, तपाईंको आँसु हाम्रो आँखाबाट बगिरहेको छ, तपाईंको पीडालाई हामी सबैले हाम्रा काँधमा बोकेको छौँ।
अब हाम्रो साझा दायित्व छ, तपाईंका सन्तानहरूले देखेको सपना पुरा गर्ने। भ्रष्टाचारमुक्त शासन, पारदर्शिता, सुशासन र न्यायपूर्ण समाज निर्माण गर्ने प्रतिज्ञामा हामी दृढ रहनुपर्छ। उनीहरूको बलिदानलाई स्मरण गर्दै हामी अझ दृढ, अझ एकताबद्ध र अझ अडिग भएर अघि बढ्नेछौँ।
प्रिय अभिभावकज्यूहरू,
तपाईंका छोराछोरीहरू भौतिक रूपमा हामीसँग नरहे पनि उनीहरूको आत्मा, साहस र सपना सधैँ हाम्रो वरिपरि रहिरहनेछ। उनीहरू अब अमर भएका छन्इ, तिहासले उनीहरूको नाम कहिल्यै मेट्न सक्दैन।
अन्तमा, हृदयभरि शोक र श्रद्धाञ्जली अर्पण गर्दै, तपाईंलाई प्रतिज्ञा गर्न चाहन्छौं, यी १९ वीर युवाको रगत व्यर्थ जान दिने छैनौं। तपाईंको पीडालाई हामी सबैले आफ्नो बनाएका छौँ, र उनीहरूले खोजेको न्यायपूर्ण र समानतामूलक समाज बनाउने दिनसम्म हामी नथाक्नेछौँ, नरोकिनेछौँ।
गहिरो सहानुभूति र सम्मानसहित,
एक नेपालीको मनबाट