पेम्बा गेलु शेर्पा / ११ अगस्ट २०२५ ।

– विश्व शेर्पा संघले आफ्नो स्थापना दिवस अक्टोबर ८ लाई विश्व शेर्पा दिवसको रूपमा मनाउने अघिल्लो कार्यसमितिको निर्णयलाई निरन्तरता दिँदै यस वर्ष पनि विविध कार्यक्रमसहित मनाउने निर्णय गरेको छ। अगस्ट १० मा संघका अध्यक्ष थेन्डुप शेर्पाको अध्यक्षतामा बसेको बैठकमा यो निर्णयसहित अन्य महत्वपूर्ण प्रस्तावहरू पारित गरिएका छन्। जसमा नेपाल र कतारका शेर्पा संघका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिनुका साथै संघका सदस्यहरूका लागि वार्षिक लेभी शुल्क निर्धारण गरिएको छ।

बैठकमा संघका निवर्तमान तथा संस्थापक अध्यक्ष आङ दोर्जी लामा लगायत पदाधिकारी र सदस्यहरूको उपस्थिति रहेको थियो। संघका महासचिव आङ जाङ्बु शेर्पाले जारी गरेको प्रेस नोटका अनुसार, बैठकले नेपाल शेर्पा संघको हालै सम्पन्न महाधिवेशनबाट निर्वाचित अध्यक्ष ल्हाक्पा ठिलेन शेर्पा र उनको कार्यसमितिलाई हार्दिक बधाई तथा शुभकामना दिने प्रस्ताव पारित गरेको छ। त्यसैगरी, शेर्पा संघ दोहा कतारको महाधिवेशनबाट निर्वाचित अध्यक्ष रविन शेर्पा र उनको कार्यसमितिलाई पनि बधाई दिने निर्णय भएको छ।

विश्व शेर्पा संघको स्थापना भएको दिन अक्टोबर ८ लाई विश्व शेर्पा दिवसको रूपमा मनाउने निर्णय बैठकको मुख्य आकर्षण रहेको छ। यस दिवसलाई विश्वभरका शेर्पा संघ तथा किदुगहरूले विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाउने निर्देशन दिइएको छ। विशेष रूपमा भारतको आसाम वा अरुणाचल प्रदेशमा ठूलो कार्यक्रम आयोजना गर्ने र विश्वभरका शेर्पा संघहरूलाई समेटेर अनलाइन शुभकामना आदानप्रदान कार्यक्रम सञ्चालन गर्ने योजना बनाइएको छ। यसले शेर्पा समुदायको एकता र सांस्कृतिक संरक्षणलाई मजबुत बनाउने अपेक्षा गरिएको छ।

बैठकले संघका पदाधिकारी तथा सदस्यहरूबाट वार्षिक न्यूनतम लेभी शुल्क नेरु ७ हजार तोकेको छ। यस शुल्कले संघको सञ्चालन र विकासका लागि कोष निर्माणमा सहयोग पुग्ने विश्वास गरिएको छ।

यसबाहेक, विश्व शेर्पा संघका विभिन्न समितिहरू (धर्म, भाषा, संस्कृति लगायत) ले तयार पारेका प्रतिवेदनहरू, संघका महत्वपूर्ण निर्णयहरू तथा शेर्पा समुदायसँग सम्बन्धित विविध विषयहरूलाई लिपिबद्ध गरी दस्तावेजीकरण र प्रकाशन गर्ने निर्णय पनि गरिएको छ। यसका लागि महासचिव आङ जाङ्बु शेर्पाको संयोजकत्वमा एक समिति गठन गरिएको छ।

विश्व शेर्पा संघले शेर्पा समुदायको भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा सक्रिय भूमिका खेल्दै आएको छ। यो बैठकका निर्णयहरूले समुदायलाई थप एकीकृत र सशक्त बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय