पेम्बा गेलु शेर्पा / ३० जुलाइ २०२५ ।

– नेपालको ऊर्जा क्षेत्रमा क्रान्तिकारी परिवर्तनका नायक कुलमान घिसिङसँग बेल्जियमको लुभेनमा एक विशेष अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ। आगामी अगष्ट १८, २०२५ मा आयोजना हुने यो कार्यक्रमले बेल्जियमस्थित नेपाली समुदायलाई एकजुट हुने र प्रेरणा लिने अवसर प्रदान गर्नेछ। ‘उज्ज्यालो संवाद : उज्ज्यालो अन्तरक्रिया’ शीर्षकको यो कार्यक्रम नेपाली व्यवसायी संघ बेल्जियमको आयोजनामा दिउँसो २ बजे Hagelandstraat 4, 3012 Leuven मा सुरु हुनेछ।
नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकालमा नेपालमा लोडसेडिङको अँध्यारो युगलाई अन्त्य गरी देशलाई उज्यालोको नयाँ अध्यायमा पुर्‍याएका थिए। उनको नेतृत्व, दूरदर्शिता र अटल प्रतिबद्धताले नेपालमा मात्र नभई विश्वभरका नेपाली समुदायमा प्रशंसा र सम्मान कमाएको छ। उनको प्रेरणादायी व्यक्तित्व र कार्यशैलीले बेल्जियममा बसोबास गर्ने नेपालीहरूलाई समेत प्रभावित गरेको छ।
कार्यक्रम आयोजक नेपाली व्यवसायी संघ बेल्जियमले यो अवसरलाई नेपाली समुदायका लागि एक ऐतिहासिक क्षणका रूपमा प्रस्तुत गरेको छ। संघले सबै नेपालीहरूलाई यो संवादमा सहभागी भई कुलमान घिसिङका अनुभव, विचार र नेतृत्वबाट प्रेरणा लिन हार्दिक निमन्त्रणा दिएको छ। आयोजकका अनुसार, “यो अन्तरक्रियाले सकारात्मक सोच, उद्यमशीलता र राष्ट्र निर्माणको भावनालाई प्रोत्साहन गर्नेछ। कुलमानजस्ता व्यक्तित्वको उपस्थितिमा हामीले ऊर्जा, प्रेरणा र मार्गदर्शन प्राप्त गर्नेछौँ।”
यो कार्यक्रम बेल्जियममा बसोबास गर्ने नेपाली समुदायका लागि मात्र नभई नेपालप्रति गहिरो माया राख्ने सबैका लागि एक बिशेष अवसर हो। कुलमान घिसिङको संवादले सहभागीहरूलाई नेतृत्व, समर्पण र समाज परिवर्तनको सन्देश बोकेर आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय