महाकरुणामय अवलोकितेश्वर महाभिषेक (वाङ्छेन) का लागि श्री परम पावन ४१ औं साक्या गोङ्मा ठ्रिछेन रिन्पोछे यतिबेला नेपालमा हुनुहुन्छ । नेपालमा रहेका बौद्धमार्गी अनुयायीलाई अभिषेक दिन उहाँ असोज ६ नेपाल आइपुग्नु भएको हो । उहाँले काठमाडौँको चावहिल, चुच्चेपाटीस्थित हायात ग्राउण्डमा असोज २७ गते हुने विशेष समारोहमा महाअभिषेक दिदै हुनुहुन्छ । महाभिषेक कार्यक्रम दिउँसो दिउँसो १२ बजदेखि सुरु हुनेछ ।

महासिद्ध मैत्रीयोगीको परम्पराको अति दुर्लभ महाकरुणामय अवलोकितेश्वर महाभिषेक बौद्ध धर्ममा एकदमै महत्वपूर्ण मानिन्छ । यो महाभिषेक एक मनुष्यलाई जीवनमा चाहिने सम्पूर्ण उपदेशहरूले सम्पन्न भएको पञ्चदेवको मण्डलवाला महाभिषेक (वाङ्छेन ) हो । यो दुर्लभ महाअभिषेक धेरैभन्दा धेरै अनुयायीले लिन सकुन् भनेर आयोजक व्योम कुसुमा बुद्ध धर्म संघले विभिन्न कार्यक्रहरु गरिरहेको छ ।

४१ औं साक्या गोङ्मा ठ्रिछेन रिन्पोछेको जीवनी
साक्या परम्पराको शुरूवात गर्ने खोन वंशलाई तीन विशेष नामले चिनिन्छ । हरेक नामको पछाडि एउटा आख्यान जोडिएको छ । यसवंशका एक पूर्वजले रूपधातु अन्तर्गतको प्रभाश्वर देवलोकबाट अवतरित भएर मनुष्य लोकमा प्रवेश गरेको हुनाले यो वंश“देव–वंश (तिब्बती – ल्हा–रिग)” भनेर कहलियो । त्यसै गरी, यसवंशले राक्षसहरूलाई तह लगाएका हुनाले यसका वंशजहरूलाई “बिजयी वंश”को नामले पनि चिनियो । अन्ततः,यस वंशले साक्या परम्परालाई स्थापना गरेकोहुनाले यसलाई “साक्यपा परम्परा” पनि भनियो ।

पछिल्लो समयमा आएर अहिलेका साक्या गोङ्मा ठ्रिछेनको कुलको मूल दरबारको निर्माण तिब्बतमा यूँ वा निलमणि(निर्मित) तारा देवीको वेदीका देवीगृहसँगै बनाइएको हुनाले यस देव–वंशलाई“डोल्मा फोड्राङ” अर्थात्“तारा दरबार”को परम्परा भनेर पनि चिनिन्छ ।

एक हजार वर्ष अगाडि यसदेव–वंशको अवतरण पृथ्वीमा भए देखि हालसम्म पनि यो परम्परा अटुट रुपमा अगाडि बढिरहेको छ । यस परम्परामा धेरै महान् गुरु तथा साधकहरूको आगमनले भएको छ, जसमध्ये साक्या परम्पराका पाँच प्रवर्तक गुरुहरू पनि पर्नुहुन्छ ।

परम पावन गुरुको जन्म ७ सेप्टेम्बर १९४५, अर्थात् काठ–चरा वर्षको आठौं चन्द्रमासको प्रतिपदाको दिनमा चेडोङ्को साक्या दरबारमा भएको थियो । उहाँको जन्म भए लगत्तै प्राचीन परम्परा अनुरुप, प्रज्ञा वृद्धिको लागि उहाँको जिब्रोमा धीः वीजाक्षरअंकित गरेर गहन पूजा कर्मविधि सम्पन्न गरियो । त्यस दिन मंगल लक्षणका धेरै संकेतहरू देखापरेका थिए । सयवटा जो–गाईबाट संकलित दूध र गुरु पद्मसम्भवको मूर्ति चमत्कारिक रुप(बाट प्रस्तुत भएर)मा दरबारमा चढाईयो ।

परम पावनलाई शुरुमा संस्कृत नाम “आयुवज्र” दिइयो । पछि उहाँका बुवा वज्रधर ङावाङ कुङ्गा रिन्छेनले वहाँलाई अमितायुषको प्रथम अभिषेक दिँदाखेरि मात्र वहाँलाई हालको नाम “ङावाङ् कुङ्गा थेग्छेन् पाल्वार ठ्रिन्ले साम्फेल् वाङग्यी ग्याल्पो” प्रदान गरियो । परम पावन मात्र चार वर्षका हुनुहुदाँ वहाँको बुवाले उहाँलाई वज्रकिलयको दुबै शान्त र क्रोध देवहरूको अभिषेकका साथै अरु थुप्रै गहन उपदेशहरू पनि प्रदान गर्नुभयो ।

परम पावनका आमा–बुबा दुबै वहाँ सानै छँदा वित्नुभयो । तत्पश्चात् उहाँको पालन पोषणको सम्पूर्ण जिम्मा उहाँकी सानी आमाले उठाउनुभयो । उहाँले परम पावनलाई पढ्न, लेख्न सिकाउन र आधारभूत प्रर्थानाहरू घोकाउनको लागि भनेर पहिलो निजी शिक्षक नियुक्त गर्नुभयो । उहाँले आफ्नो उप–शिक्षकबाट पाठ–विधि, संगीत, चर्या नृत्य, मुद्रा, आदि सिक्नुभयो । दुवै शिक्षकहरूले परम पावनलाई उत्तरी र दक्षिणी साक्या गुम्बा परम्परा अनुसारकासबै पूजा–पाठका विधिहरू सिकाउनुभयो ।

उपदेश समापनको उपलक्ष्यमा एउटा महोत्सवको आयोजना गरियो, जुन समारोहमा परम पावनले औपचारिक रुपमा परम्परागत साक्या विधिसम्पन्न गर्न महायान र बज्रयान विहारहरूमा प्रवेश गर्नुभयो । सन् १९५० मा, पाँच वर्षको उमेरमा, उहाँको परम् मूल गुरु, महान्ङोर् गुम्बाका उपाध्याय वज्रधर ङावाङ्ग लोड्रो शेन्फेन् ञिङ्पोले उहाँलाई लाम्ड्रे लगायत अन्य गहन उपदेशहरू प्रदान गर्नुभयो ।

सन् १९५१ मा ल्हासाको तीर्थयात्रा गर्नेक्रममा, १४औं परम पावन दलाई लामाले उहाँलाई साक्या परम्पराको गद्दीधारीको रुपमा घोषणा गर्नुभयो । त्यही अनुसार, लगतै अर्को वर्ष एउटा पूर्वागत गद्दी आरोहण समारोहको आयोजना गरियो जसमा उहाँले आधिकारिक साक्या परम्पराका मुद्राहरू ग्रहण गर्नुभयो । त्यति कलिलो उमेरमा पनि उहाँ विलक्षण रूपमा प्रतिभाशाली र आफ्ना जिम्मेवारीहरू वहन गर्नमा दक्ष हुनुहुन्थ्यो । सात वर्षको कलिलो उमेरमै वहाँले महान् साक्या गुम्बामा हुने हेव्रजको मूल तन्त्रको विस्तृत मौखिक परीक्षा उत्तिर्ण गर्नु भएको थियो । ङोर् गुम्बामा, महान ङोर्कामहान उपाध्याय र उहाँको मूल गुरुले वहाँलाई लाम्ड्रेका दुबै साधारण र असाधारण उपदेशहरू प्रदान गर्नुभयो । सन् १९५३ मा, आफ्ना मूल गुरुले महापरिनिर्वाणमा प्रवेश गर्ने आशय व्यक्त गरेपश्चात् परम पावनले ङोर् गुम्बामा पहिलो पटक अमितायुषको दीर्घायु अभिषेक प्रदान भयो र साक्यामा गएर आफ्नो हेवज्र साधनाको पहिलो गुफावास बस्नुभयो । परम पावन त्यति बेला मात्र आठ वर्षको हुनुहुन्थ्यो ।

अर्को वर्ष परम् पावनले वज्रधर ङावाङ्ग लोड्रो शेन्फेन्का परम्परा वाहक, ङावाङ्ग तेन्जिन् ञिन्पोबाट साधना समुच्चयको अभिषेक र आगम (वाङ र लुङ्) ग्रहण गर्नुभयो । त्यसैगरि उँहाले लामा ङावाङ्ग लोड्रो रिन्पोछेबाट तीन रक्त देवहरूको र साक्या वंशको दुई प्रमुख धर्मपालहरूको अभिषेक लगायत गहन मुखागमहरू पनि ग्रहण गर्नुभयो । उहाँले मूल साक्या गुम्बामा भएको विस्तृत वज्रकिलयको पूजाको अध्यक्षता गर्नुभयो । दश वर्षको उमेरमा परम पावनले फेरि ल्हासाको तीर्थयात्रा गर्नुभयो, जँहा उहाँले पोताला दरबारमा परम पावन दलाई लामाबाट धार्मिक उपदेशहरू प्राप्त गर्नुभयो । त्यस अवसरमा, ठूलो जनसमुदाय सामु उहाँले मण्डल अर्पणको विषयमा विस्तृत व्याख्या गर्नुभयो । जसको फलस्वरूप, वहाँको विद्वत्ताको ख्याति तिब्बत भरि फैलियो । भारतको तीर्थयात्रामा उहाँले जाम्याङ्ग ख्येन्त्से छोकी लोड्रोबाट साक्या परम्पराका साथै महामुद्रा तथा झोग्छेनका थुप्रै उपदेश ग्रहण गर्नुभयो । सन् १९५७ मा परम पावनले महान उपाध्याय वज्रधर खेन्छेन् जाम्पाल साङ्गपोद्वारा खोन परम्परा पद्धति अनुसार लाम्ड्रेकोउपदेशहरूफेरिग्रहण गर्नुभयो ।

परम पावनको साक्या ठ्रिझिन्को रुपमा औपचारिक गद्दी आरोहणको तैयारी विधि सन् १९५८ मा सम्पन्न भएको थियो । त्यो वर्ष परम पावनले अधिष्ठान गुटिका र स्थानीय देवताका पूजा साथै विस्तृत वज्रकिलयको पूजा पनि सम्पादन गर्नुभयो । सन् १९५९ मा, सातदिने महाकालको पूजा पश्चात, परम पावन दलाई लामा र तिब्बती सरकारका प्रतिनिधिहरू सरिक भएको तीन दिनको एक विस्तृत समारोहमा परम–पावनलाई आधिकारिक रुपमा साक्या वंशको गद्दीधारी घोषणा गरियो । त्यस समारोहमा उहाँले भिक्षु संघ, अतिथि तथा उपासक र उपासिका गणलाई मुनिमत प्रकाशको व्याख्यात्मक उपदेश प्रदान गर्नुभयो ।

सन् १९८९ मा चीनले तिब्बतलाई अतिक्रमण गरे पश्चात् परम् पावन भारत प्रस्थान गर्नुभयो । भारतको दार्जिलिङ्गमा साक्या गुरु गुम्बा स्थापना गर्नुभई साक्या समुदायलाई पुनःस्थापना गर्ने मुख्य कार्यको थालनी गर्नुभयो । निर्वासनमा पनि उहाँले खेन्पो दोसेब् थुप्तेन, खेन्पो सेर्जोङ् आप्पे, र खेन्पो रिन्छेन जस्ता महापण्डितहरूबाट प्रमाण, अभिधर्म, प्रज्ञापारमिता र त्रिसंवर प्रभेदका विस्तृत दार्शनिक उपदेशहरू ग्रहण गरि नै रहनुभयो । खेन्पो सेर्जोङ् आप्पेबाट वहाँले हेवज्र मूल तन्त्रको विस्तृत र पूर्ण व्याख्या पाउनुका साथै अन्य थुप्रै सम्बन्धित उपदेशहरू ग्रहण गर्नुभयो । उहाँको मूल गुरु मध्येका एक, परम पूजनीयफेन्दे खेन रिन्पोछेबाट उहाँले रा–लोचावाको परम्पराको यमान्तकको अभिषेक र आगम पाउनुका साथै ङोर्छेन कोन्छोक लुन्डुपको लेख संग्रह पनि प्राप्त गर्नुभयो । सत्र वर्षको उमेरमा सन् १९६२ मा परम पावनले कालिम्पोङ्गमा पहिलो पटक हेवज्रको अभिषेक दिनुभयो । १९६३ मा मसुरीमा सरेपछि उहाँले नजीकैको राजपुरमा साक्याको मूख्य गद्दी पुनःस्थापना गर्न लागि पर्नुभयो । साक्या भिक्षुहरूको संघ नयाँ स्थापित साक्या केन्द्रमा पुनःस्थापित गरियो जहाँ उँहाले थुप्रै गहन उपदेश र अभिषेक प्रदान गर्नुभयो । त्यही वर्ष परम पावनले सर्व प्रथम वाराणसीको सारनाथमा अमूल्य मार्गफलमको उपदेश प्रदान गर्नुभयो । एक वर्ष पछि हिमाचल प्रदेशको पुरुवालामा साक्या समुदायका उपासक र उपासिकाको लागि साक्या वस्तीको स्थापना गर्नुभयो ।

खोन वंशको परम्परा कायम राख्न परम पावनले सन् १९७४ मा डाग्मो टाशी ल्हाकीसँग विवाह गर्नुभयो । एक वर्षभित्र उहाँहरूको ज्येष्ठ पुत्र “रत्नवज्र”को जन्म भयो । त्यसै ताका परम् पावनले यूरोप, अमेरिका र अन्य थुप्रै एसियाली मुलुकहरूको पहिलो भ्रमण गर्नुभयो । सन् १९७६ मा परम् पावनले साक्या केन्द्रमा दोस्रो लाम्ड्रे उपदेश (मार्गफलमको उपदेश) दिनुभयो । त्यसको लगतै एक वर्ष पछि परम पुज्य लुडिङ खेन् रिन्पोछेको आग्रहमा वहाँले लद्दाखको माङ्ट्रो गुम्बामा साधना समुच्चयको उपदेश दिनुभयो । सन् १९७७ मा, उहाँले फेरि एसिया, यूरोप र संयुक्त राज्य अमेरिका भरि उपदेश दिनुभयो । दुईवर्ष पछि, उहाँका कान्छा पुत्र “ज्ञानवज्र”को जन्म भयो ।

सन् १९८० मा परम पावनले पुरुवालाको मूल साक्या गुम्बा थुब्तेन नामग्याल् लिङ्कोउद्घाटन गर्नुभयो र त्यहाँ पहिलो पटकलाम्ड्रेलोब्शे (मार्गफलम् शिष्य व्याख्यानको) उपदेश प्रदान गर्नुभयो । सन् १९८२ मा परम पावन दलाई लामाले त्यस गुम्बामा औपचारिक भ्रमण गरी थुप्रै उपदेशहरू प्रदान गर्नुभयो । चोब्ग्ये ठ्रिचेन रिन्पोछेबाट पनि परम पावनले छार्पा परम्पराको लाम्ड्रे उपदेशहरू र जोनाङ्ग परम्पराको “शतव्याख्यान” उपदेश प्राप्त गर्नुभयो । त्यसको एक वर्षपछि परम पावनले धर्मशालामा परम पावन दलाई लामाको लागि विषेश दीर्धायु पूजा सम्पन्न गर्नुभयो ।

सन् १९८४ मा फेरि एकपटक उहाँले एसिया र यूरोपमा विस्तृत उपदेशहरू दिनुभयो । फ्रान्सको साक्या सेचेन् लिङ्मा दोस्रो पटक लाम्ड्रे लोब्शेका उपदेशहरू दिनुभयो । त्यसपछिको वर्ष चोब्ग्ये ठ्रिछेन रिन्पोछेको आग्रहमा परम पावनले काठ्माण्डौमा मैत्रेय विहारको उद्घाटन सम्पन्न गर्नुभयो । त्यो वर्षको अन्त्यमा उहाँ वोधगयामा परम पावन दलाई लामाले दिनुभएको कालचक्रको अभिषेकमा सरीक हुनुभयो ।

सन् १९८६ मा परम पावनले पुनः एक पटक साक्या कलेजमा भिक्षुको संघ र पश्चिमेली धर्म शिष्यहरूलाई असाधारण लाम्ड्रेका उपदेशहरू दिनुभयो । सन् १९८८ मा परम पावनले मन्डुवालामा नव निर्मित ङोर्पा केन्द्रका समुद्घाटनको अध्यक्षता गर्नुभयो । परम पावन त्यहाँ साक्या परम्पराका तीसभन्दा बढी मुख्य अभिषेकहरू प्रदान गर्नका निम्ति कैयौँ महिना बस्नुभयो । अर्को वर्ष यूरोप, सं.रा.अमेरिका र क्यानडामा रहेका उहाँका थुप्रै शिष्यहरूका आग्रहमा उहाँ सोही–सोही देशका साक्या धर्म केन्द्रहरूमा पाल्नुभई विस्तृत उपदेशहरू दिनुभयो । त्यसै गरि सन् १९९३ मा परम पावनले नेपालका आफ्ना शिष्यहरू माथि अगाध अनुकम्पा राखी थार्लाम् गुम्बामा ३ महिना लामो साधना–समुच्चयको उपदेश दिनुभयो । भगवान् बुद्धको शासन दीर्घायू होस् र विश्वमा शान्ति चिरस्थाई रहोस् भन्ने सदासय राखेर, त्यही बर्ष पहिलो पल्ट तिब्बत बहिर साक्या मोन्लाम महोत्सवको आयोजना नेपालको पवित्र भूमि लुम्बिनीमा गरियो । नेपालमा साक्या मोन्लामको आयोजना सन् २०१६ सम्म २५ पटक गरियो, र सन् २०१७ बाट यस महोत्सवको आयोजना भारतको बोधगयामा हुन थाल्यो । शुरू देखि नै यस महोत्सवको अध्यक्षता हेरक बर्ष परम पावनले नै गरि रहनुभएको छ । यसरी हाल पनि परम पावनले बुद्घ धर्म र वहाँका शिष्यहरूको हितका लागि संसारभर भ्रमण गरी निरन्तर रूपमा अभिषेक(दीक्षा), आगम र धर्म उपदेशहरू प्रदान गर्ने र लोकको कल्याणको लागि अनेकौँ धार्मिक अनुष्ठानहरू समपन्न गर्दै आफ्नो आचिन्त्य बोधिचर्यालाई निरन्तर कायमै राखी राख्नुभएको छ ।

परम पावनले उच्च शिक्षाको प्रर्वद्घन र विस्तृत दर्शन परम्पराका उपदेशहरूको प्रशिक्षणका साथै साक्या उपदेशहरूको शुद्ध र सिद्ध प्रसारका लागि राजपुरमा साक्या कलेज र पुरुवालमा साक्या इन्टिच्यूट स्थापना गर्नुभएको छ । साक्या भिक्षुणीहरूका हितका लागि भनेर परम पावनले देहरादूनको देक्यिलिङमा साक्या भिक्षुणी विहार स्थापना गर्नुभएको छ, जहाँ १७० भन्दा बढी भिक्षुणीहरू धार्मिक उपदेशहरू प्राप्त गर्दैछन् । यसप्रकार आफ्नो प्रज्ञा अन्तर्ज्ञानद्वारा, परम पावनले विशेषगरि साक्या परम्पराका सूत्र र तन्त्र परम्परालाई र समग्रमा भोटको बुद्ध धर्मलाई पुनर्जीवित पार्नुका गर्नुका साथै बौद्घ धर्मको निरन्तरतालाई सुनिश्चित गर्नुभएको छ ।

यसरी, एउटा घडाबाट अर्कोमा पानी भरिए जस्तै, परम पावनले साक्या परम्पराका गहन उपदेशहरू र अरु परम्पराका पनि थुप्रै गुरुहरूका धेरै उपदेशहरू र अभिषेकहरू प्राप्त गरि ती उपदेशहरू संसारभरका आफ्ना शिष्यहरू तथा अन्य परम्पराका उच्च तहका गुरुहरूलाई पनि निरन्तर रूपमा प्रदान गरि रहनुभएको हुनाले, साक्या परम्परा अन्तर्गतको गुरुको रूपमा मात्र नभई, तिब्बतका चारै परम्पराका गुरुहरूका पनि महागुरु रूपमा परम पावन साक्या गोङ्मा ठ्रिछेन रिन्पोछेको ख्याति छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय