
सचिव, नेपाल पत्रकार महासंघ
बेल्जियम शाखा
युरोपको केन्द्रमा अवस्थित बेल्जियम एउटा यस्तो देश हो, जहाँ श्रमिकका हकहितलाई उच्च प्राथमिकता दिइन्छ। यहाँको श्रम कानूनले कामदारहरूलाई निष्पक्ष तलब, सुरक्षित कार्य वातावरण, र सम्मानजनक व्यवहार सुनिश्चित गर्छ। सामाजिक संवादमा आधारित नीतिहरूले रोजगारदाता र श्रमिकहरूबीच सहमति र सहकार्यलाई जोड दिन्छ। तर, बेल्जियममा नेपाली व्यवसायीहरूद्वारा सञ्चालित केही व्यवसायमा कामदारलाई साप्ताहिक बिदा वा सार्वजनिक बिदामा अनिवार्य काम गर्न लगाउने, अतिरिक्त भुक्तानी नदिने, बिरामी बिदाको सट्टा अर्को दिन थप काम गराउने र पूर्णकालीन कामको आधा वा आधाभन्दा केही बढी समयको मात्रै श्रम सम्झौतामा उल्लेख गरी बाँकी तलब नगदमा दिएर दिएर करछली गर्ने अभ्यासहरू देखिन्छन् । तसर्थ यस्ता गतिविधिहरूले कानूनी र नैतिक प्रश्नहरू भने पक्कै उब्जाएका छन्। यो लेखमा पंतिकारले बेल्जियममा श्रमिकका आधारभूत अधिकार र यस्ता गैरकानूनी अभ्यासका सम्भावित परिणामहरूको बारेमा चर्चा गर्ने कोसिस गरेको छ ।
श्रमिकका आधारभूत हकहरू:
बेल्जियमको श्रम कानूनले कामदारलाई बलियो संरक्षण प्रदान गर्छ। प्रत्येक श्रमिकले कम्तीमा १,९५४ युरो मासिक न्यूनतम तलब पाउने हक राख्छ, जुन उद्योग र क्षेत्रअनुसार केही फरक हुन सक्छ। पुरुष र महिलालाई समान कामका लागि समान तलबको ग्यारेन्टी छ। रोजगारदाताले सुरक्षित कार्यस्थल सुनिश्चित गर्नुपर्छ, जहाँ जोखिम न्यूनीकरण र आवश्यक सुरक्षा उपकरण अनिवार्य हुन्छ। गर्भवती महिला वा कमजोर स्वास्थ्य भएका कामदारका लागि विशेष हेरचाहको व्यवस्था छ। साप्ताहिक ३८ घण्टा कामको समय तोकिएको छ, जसमा सामान्यतया दैनिक ८ घण्टा पर्छ। प्रत्येक कामदारलाई दैनिक र साप्ताहिक विश्रामको अधिकार छ, साथै वर्षमा कम्तीमा २० दिन सशुल्क बिदा प्राप्त हुन्छ। ओभरटाइम कामको बदलामा अतिरिक्त ज्याला वा विश्राम समय दिनुपर्छ। साप्ताहिक बिदा, प्रायः आइतबार, र सार्वजनिक बिदामा काम गर्नु स्वैच्छिक हो, र यस्तो काममा ५० देखि १०० प्रतिशतसम्म बढी ज्याला वा समान विश्राम समय पाउनुपर्छ। बेल्जियममा नयाँ वर्ष, मजदूर दिवस र क्रिसमसजस्ता १० सार्वजनिक बिदा छन्।
यदि कामदार बिरामी हुन्छ भने, पहिलो ३० दिनसम्म white-collar workers ले पूर्ण तलब र Blue-collar workers ले ६० प्रतिशत तलब पाउँछन्। त्यसपछि सामाजिक सुरक्षा प्रणालीले भत्ता प्रदान गर्छ। बिरामी बिदाको सट्टा अर्को दिन काम लगाउनु कानूनविपरीत छ। लिंग, धर्म, उमेर, जातजाति, वा यौनिकताका आधारमा भेदभाव गर्न पूर्ण रूपमा निषेध छ। श्रमिकहरूले ट्रेड युनियनमा सामेल हुने, सामूहिक सौदाबाजी गर्ने, र हड्ताल गर्ने स्वतन्त्रता पाएका छन्। रोजगारदाताले मनपरी ढङ्गले बर्खास्त गर्न सक्दैन; यसका लागि उचित कारण, पूर्वसूचना, र पारदर्शी प्रक्रिया आवश्यक हुन्छ। सामाजिक सुरक्षा प्रणालीले बिरामी, बेरोजगारी, मातृत्व, र वृद्धावस्थामा सहायता दिन्छ। युरोपेली संघको GDPR नियमअनुसार, नियोक्ताले कामदारको व्यक्तिगत जानकारी बिना सहमति प्रयोग गर्न पाउँदैन।
नेपाली व्यवसायीका गैरकानूनी अभ्यासहरू
बेल्जियममा नेपाली व्यवसायीले सञ्चालन गरेका केही व्यवसायमा श्रमिकमाथि यहाँको प्रचलित श्रम कानुन अनुसार अनुचित व्यवहार भएको पाइन्छ। कामदारलाई साप्ताहिक बिदा वा सार्वजनिक बिदामा जसरी पनि काम गर्न लगाइन्छ, तर कानूनले तोकेको ५० देखि १०० प्रतिशत अतिरिक्त ज्याला वा आरमको समय दिइँदैन। त्यस्तै, बिरामी बिदा लिएको दिनको सट्टा अन्य दिनमा थप काम गराएर श्रमिकको स्वास्थ्य र आरमको हक हनन गरिन्छ। अझ गम्भीर कुरा, पूर्णकालीन कामको आधा वा आधाभन्दा केही बढी समयको मात्रै श्रम सम्झौतामा उल्लेख गरी बाँकी तलब नगदमा दिने अभ्यास प्रचलित छ। यो कार्य, जसलाई “कालो काम” भनिन्छ, यो कर छली र सामाजिक सुरक्षा नियमको गम्भीर उल्लंघन हो। यस्ता अभ्यासहरूले बेल्जियमको श्रम कानूनको ठाडो अवज्ञा गर्छन्, जसले कामदारलाई शोषणमा पार्नुका साथै रोजगारदाताको आफ्नै व्यवसायलाई नै जोखिममा धकेल्छ।
कानूनी परिणामहरू
यी गैरकानूनी अभ्यासहरूले रोजगारदातालाई गम्भीर कानूनी र आर्थिक जोखिममा पार्न सक्छ :
- साप्ताहिक/सार्वजनिक बिदाको उल्लंघन
- जरिवाना: सामाजिक निरीक्षकले प्रति कामदार प्रति उल्लंघन १,८०० युरोसम्म जरिवाना लगाउन सक्छ। बारम्बार भएमा रकम बढ्छ।
- क्षतिपूर्ति: कामदारले बक्यौता ज्याला र ३ महिनाको तलबसम्म क्षतिपूर्ति दाबी गर्न सक्छ।
- फौजदारी सजाय: गम्भीर उल्लंघनमा ६ महिनासम्म जेल हुन सक्छ।
- बिरामी बिदाको दुरुपयोग
- आर्थिक दण्ड: प्रति उल्लंघन ८००–८,००० युरोसम्म जरिवाना।
- क्षतिपूर्ति: कामदारले बिरामी बिदाको पूर्ण भुक्तानी र मानसिक तनावका लागि १–६ महिनाको तलब बराबर क्षतिपूर्ति पाउन सक्छ।
- अनुसन्धान: सामाजिक सुरक्षा बोर्डले व्यवस्थित उल्लंघन पाएमा व्यवसायको लाइसेन्स खारेज गर्न सक्छ।
- कालो काम
- जरिवाना: ६,००० युरोसम्म, बक्यौता कर, र सामाजिक योगदान भुक्तानी।
- जेल सजाय: गम्भीर अवस्थामा ६ महिनादेखि ३ वर्षसम्म।
- अन्य जोखिम
- प्रतिष्ठामा हानि: यस्ता अभ्यासले व्यवसायीको समुदायमा छवि बिग्रन्छ, ग्राहक र कर्मचारीको विश्वास गुम्छ।
- हड्ताल: श्रमिकहरूले ट्रेड युनियनको साथमा हड्ताल गर्न सक्छन्, जसले व्यवसाय अवरुद्ध हुन्छ।
- निरीक्षण: संघीय श्रम विभागको नियमित अनुगमनले उल्लंघन पाइएमा मुद्दा फौजदारी कारबाहीतर्फ जान्छ।
निष्कर्ष र सुझाव:
बेल्जियममा कार्यरत श्रमिकहरूले आफ्ना अधिकारबारे सचेत हुनु जरुरी छ। यदि कुनै आफ्नो अधिकार उल्लंघन भएको महसुस हुन्छ भने, उनीहरूले सामाजिक निरीक्षक, ट्रेड युनियन, वा कानूनी सल्लाहकारसँग सम्पर्क गर्न सक्छन्। ट्रेड युनियनमा सामेल भएर सामूहिक सौदाबाजी वा हड्तालमार्फत आफ्नो आवाज बुलन्द गर्न सकिन्छ। नेपाली व्यवसायीहरूका लागि भने कानूनको पालना दीर्घकालीन सफलताको आधार हो। पारदर्शी श्रम सम्झौता, निष्पक्ष तलब, र बिदा नीतिको सम्मानले श्रमिक र रोजगारदाता दुवैलाई फाइदा पुग्छ। श्रम कानूनबारे प्रशिक्षण लिने, कानूनी सल्लाहकारको सहयोग लिने, र श्रमिकसँग खुला संवाद कायम गर्ने अभ्यासले महँगो कानूनी झमेला र प्रतिष्ठाको हानिबाट जोगाउँछ। कानूनको सम्मान र सामाजिक जिम्मेवारीले मात्र व्यवसायमा विश्वास र समृद्धिको वातावरण बन्छ।