पेम्बा गेलु शेर्पा / ३० जुन २०२५ ।
– पोर्तुगलको लिस्बनमा रहेको नेपाली राजदूतावासले सेवाग्राहीसँग चर्को शुल्क असुली गरेको विषयले यहाँ रहेका नेपाली समुदायमा व्यापक असन्तुष्टि र आक्रोश पैदा गरेको छ। नेपाल सरकारको सेवा प्रदायक निकायको रूपमा स्थापित यो राजदूतावासले सामान्य सेवाका लागि अत्यधिक शुल्क लिइरहेको गुनासो बढ्दो छ।
जानकारीअनुसार, राजदूतावासले एउटा पुलिस रिपोर्टमा छाप लगाइदिएबापत नै १०० युरो असुल्ने गरेको छ, जुन सेवा राजदूतावास स्थापना हुनुपूर्व अवैतनिक दूतावासले जम्मा १२ युरोमा प्रदान गर्ने गरेको थियो। केही समयअघि मात्र पोर्तुगलमा नेपाली राजदूतावास स्थापना हुँदा यहाँका नेपालीहरूमा खुशीको लहर छाएको थियो। तर, सामान्य सेवामा समेत चर्को शुल्क असुल्न थालेपछि राजदूतावासप्रति आम असन्तुष्टि र गुनासो चुलिएको हो।
नाम उल्लेख नगर्ने शर्तमा एक सेवाग्राहीले भने, “पोर्तुगलमा नेपाली राजदूतावास स्थापना होस् भन्ने हाम्रो लामो समयदेखिको माग थियो। दूतावास बनेपछि हामी निकै खुशी थियौं, तर अहिले चर्को शुल्क असुलेर सेवाग्राहीलाई सेवा दिनुभन्दा पनि दुख दिन र आर्थिक शोषण गर्न राजदूतावास स्थापना भएको जस्तो अनुभव भएको छ।” उनले थपे, “आधुनिक प्रविधिको युगमा पनि हस्तलिखित रसिद प्रयोग गर्ने यो दूतावासले असुलेको रकम नेपाल सरकारको राजस्वमा जम्मा हुन्छ भन्ने कुरामा गम्भीर आशंका छ। यो त लिस्बनमा लुटतन्त्र नै चलेको जस्तो देखिन्छ।”
पोर्तुगलमा बसोबास गर्ने नेपालीहरूको औसत आम्दानीको अनुपातमा राजदूतावासले लिने शुल्क अत्यन्तै अनुपयुक्त भएको स्थानीय नेपालीहरूको ठम्याइ छ। नेपालीहरूको बाध्यता र आवश्यकतालाई आर्थिक आर्जनको माध्यम बनाउने यो कार्यले राजदूतावासको विश्वसनीयता र अभिभावकीय भूमिकामाथि नै प्रश्नचिह्न खडा गरेको छ।
संस्थाहरूको मौनता, नेपाली समुदायमा गुनासो
पोर्तुगलमा नेपालीहरूको हकहितका लागि गैरआवासीय नेपाली संघ, आदिवासी जनजाति महासंघ, महिला संघ, राजनीतिक भ्रातृ संगठनहरू, जातीय, क्षेत्रीय, र पेशागत संघ–संस्थाहरू सक्रिय छन्। तर, राजदूतावासको यो चर्को शुल्क असुलीविरुद्ध कुनै पनि संस्थाले खुलेर संस्थागत रूपमा आवाज उठाउन नसकेकोमा यहाँका नेपालीहरूले थप गुनासो व्यक्त गरेका छन्।
“यी सबै संघ–संस्थाका अगुवाहरू आफ्नो व्यक्तिगत स्वार्थ र दूतावाससँगको सम्बन्ध बलियो देखाउने लोभमा मौन बसेका छन्,” एक स्थानीय नेपालीले आक्रोश व्यक्त गर्दै भने, “यस्तो अवस्थामा पनि पीडितको पक्षमा बोल्न नसक्ने संस्थाहरूको औचित्य नै के रह्यो?”
समाधानको खोजीमा नेपाली समुदाय
पोर्तुगलस्थित नेपाली समुदायले राजदूतावासको यो शुल्क नीतिमा पुनरावलोकन गर्न र पारदर्शी सेवा प्रदान गर्न माग गरेको छ। साथै, नेपाल सरकारले यहाँको नेपाली समुदायको आर्थिक अवस्था र आवश्यकतालाई मध्यनजर राखेर शुल्क निर्धारण गर्नुपर्नेमा जोड दिएका छन्।
यो विषयले पोर्तुगलमा रहेका नेपालीहरूको मनमा ठूलो निराशा पैदा गरेको छ। राजदूतावासले आफ्नो भूमिकालाई सेवामूलक बनाउन र नेपाली समुदायको विश्वास जित्न तत्काल कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ। अन्यथा, अभिभावकको रूपमा स्थापित हुनुपर्ने यो निकायको साखमाथि थप प्रश्न उठ्ने निश्चित छ।