पेम्बा गेलु शेर्पा, १४ अगष्ट २०२५ । – गैर आवासीय नेपाली संघ (एनआरएनए) बेल्जियममा लामो समयदेखि चलिरहेको आन्तरिक विवाद अहिले खुलेआम दुई समानान्तर समितिमा परिणत भएको छ। आगामी १७ अगष्टमा हुने “अधिवेशन भाग–२” काङ्ग्रेस–माओवादी पक्षधर समूहको आयोजनामा हुने पक्का भएको छ, भने यसअघि २७ जुलाईमा एमाले पक्षधर समूहले “अधिवेशन भाग–१” सम्पन्न गरी लोकेन्द्र नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति घोषणा गरिसकेको छ। यससँगै बेल्जियममा अब औपचारिक रूपमा दुई एनआरएनए देखापरेका छन्, दुवै पक्षले आफूलाई आधिकारिक दाबी गर्दै भए पनि व्यवहारमा यी संस्थाहरू नेपाली राजनीतिक दलहरूको प्रभाव र छायाबाट टाढा उठ्न नसकेको बेल्जियमबासी आम नेपाली समुदायको धारणा छ।

एनआरएनए बेल्जियमको स्थापना बेल्जियममा बसोबास गर्ने नेपालीहरूको आपसी सहयोग, पहिचान संरक्षण र आर्थिक–सामाजिक विकासमा योगदान गर्ने उद्देश्यसहित भएको थियो। सुरुवाती नेतृत्वले दलभन्दा माथि उठेर प्रवासी नेपालीको साझा संस्था बनाउने संकल्प व्यक्त गरे पनि समयक्रममा नेपालका ठूला राजनीतिक दलहरूको विचार, शक्ति र गुटबन्दी बेल्जियमसम्म आइपुगेका थिए। यही दलगत प्रभावको परिणामस्वरूप अन्ततः अहिले दुई समुहमा औपचारिक रुपमा विभाजन भएको छ ।

जुलाई २७ मा सम्पन्न ‘अधिवेशन भाग–१’ एमाले पक्षधर समूहको शक्ति प्रदर्शनको रूपमा देखियो। निवर्तमान अध्यक्ष तथा निर्वाचन आयुक्त खड्का बहादुर केसिले प्रवासी नेपाली मञ्च बेल्जियमको आन्तरिक ग्रुपमा “आज एमालेको एकता र शक्ति देखाउने दिन हो, त्यसैले सबैजना समयमा र धेरैभन्दा धेरै उपस्थित हुनुहुन हार्दिक अनुरोध गर्दछु” भन्ने सन्देश पठाएका थिए। उक्त सन्देश सार्वजनिक भएपछि बेल्जियमस्थित नेपाली समुदायमा चर्को बहस भएको थियो र धेरैले यसलाई दलको भातृसंस्था बन्ने प्रवृत्तिको स्पष्ट उदाहरण भनेका थिए।

अब हुने अधिवेशन भाग–२ को तयारीमा पूर्व अध्यक्ष चित्र सुवेदी संयोजक रहेको निर्वाचन समिति सक्रिय छ। वर्तमान अध्यक्ष सीता सापकोटाले यस अधिवेशनलाई “राष्ट्रिय एकताको अधिवेशन” भन्दै सामाजिक सञ्जालमा आव्हान गरेकी छन्, व्यवहारिक रुपमा यो अधिवेशन अन्ततः काङ्ग्रेस–माओवादी गठबन्धनका सदस्यहरूमा मात्र सीमित हुने देखिन्छ। एमाले पक्षधर समूहले आफ्नो अधिवेशन वैधानिक र संस्थाको संविधानअनुसार सम्पन्न भएको दाबी गर्दै लोकेन्द्र नेपालको नेतृत्वलाई वैध ठहर गरेको छ भने काङ्ग्रेस–माओवादी पक्षधर समूहले उक्त एमाले पक्षधर समुहको भाग–१ अधिवेशनलाई असंवैधानिक भन्दै आफ्नो अहिलेको भाग–२ नै वास्तविक एनआरएनएको अधिवेशन भएको भनिरहेका छन ।

बेल्जियमस्थित धेरै नेपाली समुदायका प्रतिनिधिहरू र तटस्थ सदस्यहरू दुवै पक्षप्रति असन्तुष्ट छन्। उनीहरूको धारणा छ कि एनआरएनए अब प्रवासी नेपालीको हित र आवश्यकताभन्दा बढी दलगत स्वार्थको खेलमैदान बनेको छ, जसका कारण श्रमिक अधिकार, कागजात समस्या, भाषा शिक्षा र सामाजिक एकता जस्ता वास्तविक मुद्दाहरू छायामा परेका छन्। अन्तर्राष्ट्रिय स्तरमा पनि एनआरएनए दलगत प्रभावका कारण विभाजनको सामना गरिरहेको छ र विश्लेषकहरूका अनुसार यदि यस्तो विभाजन रोकिएन भने संस्थाको मौलिक उद्देश्य र विश्वसनीयता गुम्दै जानेछ, जसले अन्ततः यसको अस्तित्व नै संकटमा पार्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय