✍️ पेम्बा गेलु शेर्पा,
सचिव, नेपाल पत्रकार महासंघ
बेल्जियम शाखा

केही दिनअघि मात्र, युट्युबमा बेल्जियममा बसोबास गर्दै आएकी एक युवतीको पिडायुक्त आवाज गुन्जियो, जसले हाम्रो समाजको गहिरो घाउलाई उजागर गर्‍यो। रोशनी केसी, जो कलाकार पनि हुन्, उनले आफ्नो जीवनको कालो अध्यायलाइ खोलेर राखिन्। यद्यपि त्यो भिडियो सामाग्री Youtube बाट हटाइएको छ । बेल्जियमको एन्टवर्पेनमा बसोबास गर्ने उनले सानैदेखि आफ्नै अभिभावकबाट भोगेको निरन्तर शारीरिक र मानसिक दुर्व्यवहारको कथा सुनाइन्। विशेष गरी, आफ्नै आमाबाट भएको अत्यन्त घृणित व्यवहार अझै जारी रहेको उनको स्वीकारोक्ति थियो। यो कथा सुन्दा मन अमिलो हुन्छ, आँखा रसाउँछन्। किनकि यो केवल एक व्यक्तिको पीडा होइन, यो छोरीहरूको मौन संघर्षको प्रतिबिम्ब हो।
रोशनीको बाल्यकाल नेपालमा बित्यो। आमाबाबु विदेशिएपछि उनी आफन्तको घरमा हुर्किन्। दश/एघार वर्षको उमेरमा मात्र उनी बेल्जियम पुगिन्, आमाबाबुसँग बस्न। तर त्यो आगमन उनको लागि स्वर्ग होइन, नरकको ढोका बन्यो। आमाले हरेक दिन कुटपिट गर्न थालिन्। खाना नदिने, स्कूल जाँदा मन नपर्ने खाजा जबर्जस्ती थमाउने, खाएर नआए कुट्ने, अर्को पटक खाजा नै नपठाउने। घरमा खाना नपाएको बहानामा राइसकुकरले हिर्काउने, सफा नगरेको भन्दै भ्याकुम क्लिनरले प्रहार गर्ने, मिठो नपकाएको भन्दै थाल नै टाउकोमा हान्ने। यो एक-दुई पटकको घटना थिएन, निरन्तरको यातना थियो। रोशनीको शब्दमा, “यो मेरो दैनिकी बन्यो।”
मानसिक यातना झनै क्रूर थियो। अनेक असामाजिक अपशब्दले गाली गर्ने, महिनावारी हुँदा किचनमा पस्न नदिने, खाना नै नदिने। जन्मदिने आमाले यस्तो अमानवीय व्यवहार गर्नु ? यो सुन्दा हृदय विदीर्ण हुन्छ। रोशनीले भनिन्, “म छोरी भएर जन्मेकै कारण भेदभावको शिकार भएँ।” उनका अनुसार आफ्ना स्कूलका उपलब्धिहरु, प्रतियोगितामा भाग लिएर पाएका ट्रफीहरूले घरमा कहिल्यै प्रशंसा पाउँदैनथे, बरु फुटाएर फालिन्थे। भाइलाई भने स-साना कुराहरूमा पनि सधै हौसला दिइन्थ्यो, मिठो खाना, राम्रो व्यवहार गरिन्थ्यो । यो भेदभावले रोशनीको मनमा घृणाको बीज रोप्यो। उनी भन्छिन्, “मलाई लाग्थ्यो, म यो घरकी होइन।”
यो यातना सहन नसकेर रोशनीले प्रहरीको शरण लिइन्। सोह्र देखि अठार वर्षसम्म २ साल होस्टलमा बसेर पढिन्। आमाको घृणाका बाबजुद पनि उनीले आफ्नो पढाइलाइ राम्रोसग अगाडि बढाएको बताइन। अहिले छुट्टै बस्छिन्, तर मानसिक यातना रोकिएको छैन। म्यासेजमा अपशब्द प्रयोग गरेर गाली पठाउने, जन्मदिनमा आफ्नो फोटोमा ‘RIP’ लेखेर सामाजिक संजालमा सेयर गर्ने जस्ता आमाको क्रूरता ! यो सुन्दा आँसु थामिँदैन। रोशनी भन्छिन्, “म बिक्षिप्त छु।” उनले आमाको परपुरुषसँगको अनैतिक सम्बन्धको प्रमाण फेला पारेको पनि खुलाइन्। बाबु पनि आफुमाथी भएको अत्याचारको मुकदर्शक बने, मौन साथ दिए, कहिलेकाही बाबू आफैले पनि भेदभाव गरे ।
हुन त यो रोशनीको आफ्नो एकपक्षीय कथा हो। तर उता आमाले छोरीको चरित्रमा प्रश्न उठाउँछिन्, अनि बाबु अनविज्ञता व्यक्त गर्छन्। तर परिवार चिन्नेहरू भन्छन्, धेरै कुरा सत्य छन्। अहिले रोसनिका आमाबाबुको पारपाचुके भइसकेको छ, आमा अर्कैसँग बिहे गरेकी छन्। तर उनको छोरिप्रतिको र छोरिको आमाप्रती घृणा कायम छ।
यो घटनाले आमाछोरीको पवित्र बन्धनमा यस्तो पनि हुन सक्छ ? भनेर सोच्न बाध्य बनाउँछ। नेपाली समाजमा छोराछोरीबीच काखापाखा गर्ने रुढिवादी मानसिकता यसको जड हो। अभिभावकले आर्थिक प्राथमिकतामा छोराछोरीलाई समय नदिने, मार्गदर्शन नगर्ने, अनि पछि आफ्नै इच्छा उनिहरुमाथी लाद्ने परिपाटीले यस्ता पीडा जन्माउँछ। बेल्जियमको नेपाली समाजमा यस्ता थुप्रै घटना छन्, रोशनीको कथा प्रतिनिधि मात्र हो।
धेरै नेपाली परिवारहरूमा पनि उहीँ रुढीबादी सोचको निरन्तरता, पितृसत्तात्मक सोच, र मानसिक अस्वस्थता जस्ता कारणले घरभित्रै यस्ता हिंसाका रूप लिन्छन्। तर धेरैले लाज, डर र समाजको आलोचनाको कारण मौन बस्ने गर्छन्। वास्तवमा रोसनी केसिले भने ठूलो आट गरेरै यो कुरा बाहिर ल्याएका छन ।

रोसनी केसिको कथा कुनै मनोरञ्जनात्मक समाचार होइन, यो चेतावनी हो, हाम्रा समाजभित्र लुकेका पीडाको प्रतिध्वनि हो। ममताको काखभित्र पनि यस्तो पीडामा बस्नु सबैभन्दा ठूलो विडम्बना हो। अनि रोसनीको यो आवजले हामी सबैलाई सोच्न बाध्य बनाएको छ कि के हामीले आफ्ना सन्तानलाई प्रेमका नाममा जान-आन्जानमै पनि पीडा त दिइरहेका छैनौं?

बेल्जियममा बाल अधिकार र कानुनी उपचार ।

बेल्जियमजस्तो विकसित देशमा बाल अधिकार अत्यन्तै संवेदनशील र संरक्षित विषय हो। त्यहाँका कानुन अनुसार, कुनै पनि नाबालिग बच्चामाथि हुने शारीरिक, मानसिक वा भावनात्मक दुर्व्यवहारलाई गम्भीर अपराधको रूपमा लिइन्छ।
राष्ट्रसंघीय बाल अधिकार महासन्धि (UNCRC) लाई बेल्जियमले १९९१ मा अनुमोदन गरेको थियो, जसलाई राष्ट्रिय कानुनमा समावेश गरिएको छ। बेल्जियमको संविधानको धारा 22bis ले हरेक बालकलाई परिवार, समाज र राज्यबाट सम्मान, सुरक्षा र विकासको अधिकार सुनिश्चित गर्छ। बालकलाई शारीरिक, मानसिक, यौनिक वा आर्थिक दुर्व्यवहारबाट जोगाउने दायित्व अभिभावक र राज्य दुवैको हो। तसर्थ यदि बच्चामाथि हिंसा, वा मानसिक यातना भएको भेटिएमा, तुरुन्तै सामाजिक सेवा विभाग र प्रहरीले हस्तक्षेप गर्न सक्छन्।
त्यसैगरी, बेल्जियममा विद्यालयहरूले पनि दुर्व्यवहारका केसहरू रिपोर्ट गर्न बाध्य छन्। कुनै विद्यार्थीमा हिंसा वा मानसिक अस्वस्थता देखिएमा शिक्षकले तुरुन्तै सम्बन्धित सामाजिक सेवामा जानकारी दिनुपर्छ।

त्यसका लागि बेल्जियममा Child Focus, Aide à la Jeunesse, Kind en Gezin, Trustpunten Kindermishandeling, जस्ता संस्था कार्यरत छन्। यी संस्थाहरूले बालबालिकाको सुरक्षाको सुनिश्चितता मात्र होइन, पीडित र परिवारलाई मनोवैज्ञानिक, कानुनी र सामाजिक सहायता पनि प्रदान गर्छन्। कानुनले अभिभावकलाई पनि कडा दायित्व तोकेको छ। यदि कुनै अभिभावकले आफ्नै बच्चामाथि हिंसा गरेको प्रमाणित भयो भने, उनीमाथि जेल सजाय, बच्चाको अभिभावकत्व खोसिने, र राज्यद्वारा अभिभावकको ठाउँमा सामाजिक संरक्षक नियुक्त हुने व्यवस्था छ।

बाल दुर्व्यवहारलाई बेल्जियमको फौजदारी संहिता (Code Pénal) को धारा 398 देखि 410 bis मा परिभाषित गरिएको छ। शारीरिक दुर्व्यवहार ( कुटपिट) लाई ‘coups et blessures’ भनिन्छ, जसको सजाय ८ दिनदेखि ५ वर्षसम्म कैद र जरिवाना हुन सक्छ। यदि अभिभावकबाट हुन्छ भने यो बढेर १०-१५ वर्षसम्म पुग्न सक्छ। मानसिक दुर्व्यवहार (गाली, भेदभाव, मानसिक यातना) लाई ‘harcèlement moral’ वा ‘torture psychologique’ मानिन्छ, जसलाई धारा 442bis मा समेटिएको छ। महिलाको प्राकृतिक प्रक्रिया महिनावारी भएको अवस्थामा खाना नदिने जस्तो अमानवीय व्यवहारलाई ‘traitement inhumain ou dégradant’ ठहरिन्छ, जसको सजाय १-५ वर्ष कैद हुने व्यवस्था छ भने भेदभाव (लैंगिक) लाई समानताको कानुन (Loi sur l’égalité des genres, २००७) ले निषेध गर्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय