भुटानको पर्यटनः नेपाललाई कस्तो शिक्षा हुन सक्ला !

–निनाम कुलुङ ‘मंगले’ हुन त अहिले भुटान वा नेपालमा मात्रै नभएर विश्भरि नै पर्यटन व्यवसाय लगभग प्रायः शून्य अवस्थामा रहेको छ । त्यसमाथि आफैले आफ्नै क्षेत्र वा आफ्नै कार्यस्थललाई वा आफ्नै भनिनेहरुलाई कसरी पो नराम्रो भन्नु हौं ! कसरी पो नराम्रो देख्नु हौ पो !! र, कसरी नराम्रो भनी लेख्नु हौ !!! तापनि यहाँ म आफु स्वयम् सम्बन्धित रहेको पर्यटन क्षेत्रसँग रहेर केही अनुभव र अनुभूति–जन्य लेख लेख्दै छु है, कामरेडहरु ?

यो लेखमा म आफ्नो अनुभवजन्य कुरोहरुमा आधारित रहेर सलललल …बगेर लेख्ने छु । किनभने, यो पंक्तिकार (म स्वयम्) केवल लेखक मात्रै नभएर विसं २०५१÷०५२ सालदेखि नेपाल घुम्न आउने विदेशी पर्यटकहरुको भरिया भएर काम गरेको मान्छे पनि हो । त्यसपछि स्पेयर÷किचन गियर बोक्ने स्टाफ भएर पनि काम गरेँ, शेर्पा स्टाफ भएर पनि काम गरेँ, कुक भएर पनि काम गरेँ र, सरदार वा भनौं गाइड (ट्रेकिङ गाइड) भएर पनि काम गरेँ । यसरी हेर्दा ट्रेकिङ क्षेत्रको सबै पदमा रहेर काम गरेको अनुभव र अनुभूतिहरु रहेको छ । तर, पनि ट्रेकिङ फिल्डको सबैभन्दा ठूलो पद ‘गु्रप लिडर’का लागि चाहिने ल्याकत वा भनौं तागत बढाउने चेष्टा–कष्ट भने मैले गरिन वा मेरो ल्याकतले भ्याएन । हुन पनि सुरुमा मेरा लागि विदेशी पर्यटकहरुको भरिया भएर हिँड्न पाउनु नै ठूलो कुरो थियो । पछि संयोगले वा भनौं आप्mनो मेहनत, लगनशीलता र इमान्दारिताले गर्दा स्पेयर÷किचन गियर बोक्ने स्टाफ भएर, शेर्पा स्टाफ भएर, कुक हुँदै सरदार वा भनौं गाइड (ट्रेकिङ गाइड) भएर काम गर्न सकेँ/सक्षम भए । त्यो नै मेरा लागि ठूलो कुरो भयो अथवा म त्यतिमै सन्तुष्ट भएँ !

अब लागौं भुटानको पर्यटन नीतितर्पm । भुटानको कुरो गर्दा जनसंख्या र भूगोल दुवै आधारमा हेर्दा नेपालभन्दा धेरै सानो देश हो । तर, सानो देश भए तापनि भुटानबाट हामीले पर्यटन प्रवद्र्धनका सन्दर्भमा भने धेरै कुरा सिक्नुपर्ने देखिन्छ । नेपाल जस्तै हिमाली र भू–परिवेष्ठित देश पनि हो, –भुटान । भुगोल र जनसंख्याको आधारमा भुटान नेपालभन्दा सानो भए तापनि के–कसरी धेरैभन्दा धेरै गुणस्तरीय विदेशी पर्यटक भित्र्याउन सकिन्छ ? त्यसका लागि के–कस्तो खालको पर्यटन नीति, नियम, ऐन, कानुन आदि बनाउन उपयुक्त हुन्छ ? भन्ने सन्दर्भमा भने नेपालले भुटानबाट धेरै नै सिक्न सक्छ । किनभने, भुटान र नेपाल सरकारको पर्यटन सम्बन्धी सरकारी नीति, नियम, ऐन, कानुनहरुमा आकाश–जमीनको फरक देखिन्छ । भुटान सरकारले आप्mनो देशमा केवल विदेशी पर्यटकको संख्या बढाउनकै लागि भनेर जसलाई पायो, त्यसलाई (विदेशी पर्यटक नै भए पनि) पर्यटक मानेर आफ्नो देशमा ह्वार–ह्वार्ती प्रवेश गराउँदैन । भुटान सरकारले पर्यटक भन्दै जो पायो, त्यो व्यक्तिलाई विदेशी पर्यटक भन्दै ह्वार–ह्वार्ती आप्mनो देशमा प्रवेशाज्ञा दिँदैन । यसले देखाउँछ कि, भुटान सरकारको ध्यान आप्mनो देशमा आउने विदशी पर्यटकको संख्या थोरै नै होस्, तर, ती विदेशी पर्यटक गुणस्तरीय (धेरैभन्दा धेरै खर्च गर्न सक्ने लक्जरी÷डिलक्स्) नै होस्, भन्नेमा निक्कै ध्यान दिएको छ ।

भुटान सरकाको मातहतमा रहेको पर्यटन सम्बन्धी सरकारी निकाय टुरिज्म काउन्सिल अफ भुटान (टीसीबी) ले प्रकाशित गरेको भुटान सरकारको पर्यटन सम्बन्धी नीति तथा कार्यक्रम हेर्ने हो भने के प्रस्ट हुन्छ भने कुनै पनि विदेशी पर्यटकले भुटान छिर्ने बित्तिकै प्रति व्यक्ति दैनिक दुईसय अमेरिकी डलर खर्च गर्नै पर्छ । अझ भुटानको विभिन्न क्षेत्रको भ्रमण गर्न टे्रकिङ, साईट सिन, जंगल सफारी, कल्चरल टुर, साईक्लिङ, बर्ड वाचिङ आदिका लागि अफ सिजन र पिक सिजन गरेर दुई सिजनमा विभाजन गरेर विदेशी पर्यटकलाई भुटान सरकारको आधिकारिक निकाय टीसीबीले प्रति व्यक्ति प्रति दिन खर्चको सीमा तोकिदिएको छ । जस्तो कि, अफ सिजनमा भुटान घुम्न चाहने विदेशी पर्यटकले (जनवरी, फेब्रअरी, जुन, जुलाई, अगष्ट र डिसेम्बर) मा प्रति व्यक्ति प्रति दिन दुईसय अमेरिकी डलरमा प्याकेज बुक गर्नु पर्छ भने, पिक सिजनमा भुटान भ्रमण गर्न चाहने विदेशी पर्यटकले (मार्च, अप्रिल, मे, सेप्टेम्बर, अक्टोम्बर र नोभेम्बर) प्रति व्यक्ति प्रति दिन दुईसय ५० अमेरिकी डलरमा बुक गर्नु पर्छ । स्मरण रहोस्, देशी विपर्यटकहरु भुटानमा रहँदा तीन तारे होटलमा बस्नु पर्छ । अन्यथा चार तारे वा पाँच तारे होटलमा बस्ने हो भने त्यस्ता विदेशी पर्यटकले अतिरिक्त प्रिमियम तिर्नु पर्ने टीसीबीले आफ्नो ‘कोड अफ कन्डक्ट’मै उल्लेख गरेको छ । मुख्य कुरो यसरी भुटान भ्रमणमा आउने विदेशी पर्यटक कम्तिमा तीनजना हुनै पर्ने नियम पनि राखेको छ, भुटान सरकारले ।

भुटान सरकारले आफ्नो देशमा भ्रमण गर्न आउने विदेशी पर्यकटबाट लिने दैनिक दुईसय र दुईसय पचास अमेरिकी डलर (सिजन अनुसार) मध्ये ६५ अमेरिकी डलर ‘दिगो किासका लागि पर्यटन’ कार्यक्रमका लागि सरकारले ट्रेकिङ÷ट्राभल अपरेटरहरुबाट कटौती गर्छ । सो रकम निःशुल्क शिक्षा, निःशुल्क स्वास्थ्य, गरिबी निवारण, ग्रामीण विकासका लागि भवन निर्माण आदिमा खर्च हुन्छ । विदेशी पर्यटकले प्रति व्यक्ति प्रति दिन दुईसय र दुईसय ५० अमेरिकी डलर (सिजन अनुसार) तिरेपछि उनीहरुको खान्ते पिन्तेको खर्चसमेत भुटान रहुञ्जेल (व्यक्तिगत आवश्यक्त बाहेक) टे्रकिङ÷ट्राभल कम्पनीले व्यहोर्छ । त्यस्तै भुटान सरकारले आफ्नो देशमा भ्रमण गर्न आउने विदेशी पर्यटकका लागि विभिन्न सहुलियत र छुटहरु पनि दिएको देखिन्छ । जस्तो कि, पाँच वर्षभन्दा कम उमेरको लालाबाला भए भिसा चार्ज ४० अमेरिकी डलर मात्रै लिन्छ । बाँकी सम्पूर्ण खर्च निःशुल्क दिन्छ । पाँचदेखि १२ वर्ष उमेर समूहको केटाकेटी भए डेली प्याकेजमा ५० प्रतिशत छुट दिन्छ । विद्यालय वा विश्वविद्यालयको आधिकारिक र प्रमाणित विद्यार्थी परिचयपत्र भएको र उमेर २५ वर्षसम्म भएको भए डेली प्याकेजमा २५ प्रतिशत छुट दिन्छ । ११ जनाको समूह भए डेली प्याकेजमा एकजनालाई ५० प्रतिशत छुट दिन्छ । १६ जनाभन्दा माथिको समूह भए डेली प्याकेजमा एकजनालाई सत प्रतिशत छुट दिन्छ । आठ रातभन्दा बढी बिताएमा त्यस्ता पर्यटकलाई रोयल्टीमा ५० प्रतिशत छुट दिन्छ । १४ रातभन्दा बढी बिताएमा त्यस्ता पर्यटकलाई सत प्रतिशत रोयल्टी छुट दिन्छ । यसरी हेर्दा विदेशी पर्यटकबाट पैसा लिनका लागि मात्रै पैसा नलिएर भुटान सरकारले आप्mनो देशको भ्रमण गर्न आउने विदेशी पर्यटकहरुलाई विभिन्न सेवा सुविधाहरु पनि दिएको देखिन्छ ।
रोचक कुरो भुटान भ्रमणमा आउने विदेशी पर्यटकमध्ये ५८.७६ प्रतिशत ट्राभल÷टुर अपरेटरमार्फत पहिले नै बुक भएर आउने गरेका छन् भने भुटान आएका विदेशी पर्यटकमध्ये ८३.८४ प्रतिशतको उदेश्य बिदा मनाउने रहेको देखिन्छ । तर, भुटान आउने विदेशी पर्यटकहरुको बसाई अवधि भने कम अर्थात् प्रति पर्यटक ६.३५ दिन मात्रै रहेको देखिन्छ । तर, सुखद् कुरो के भने उनीहरु बिना गाईड आफुखुशी हिँंड्न÷डुल्न पाउँदैनन् । संवभतः नेपाल आउने विदेशी पर्यटकहरुले गर्ने दैनिक खर्चको सीमा तोकिएको र बिना गाईड हिँंड्न नपाइने ! भन्ने सुन्ने बित्तिकै कतिपय विदेशी पर्यटकहरु एयरपोर्टबाटै फर्कन्थे होलान् ! यत्ति भएर पनि एउटा रोचक कुरो के छ भने, भुटान जाने अधिकांश अर्थात् लगभग २५–३० प्रतिशत विदेशी पर्यटक नेपालको बाटो भएर जानेहरु छन् । जस्तो कि सन् २०१३ मा भुटान भ्रमणमा गएका एकलाख ६० हजार विदेशी पर्यटकमध्ये ३४ हजार विदेश िपर्यटकहरु नेपाल भएर गएका थिए भने सन् २०१४ मा भुटान गएका एकलाख ३० हजार पर्यटकमध्ये ३९ हजार विदेशी पर्यटक नेपाल भएर गएका थिए ।

पुछारमा त्यति मात्रै कहाँ हो र ? टीसीबीले प्रकाशित गरेको (आफ्नो वेबसाईटमा राखेको) आधिकारिक र प्रामाणिक भुटानी टे्रकिङ÷गाइडहरुको सूची हेर्दा संयोगले दुईजना डाक्टरहरु (उनीहरु विरामी जाँच्ने मेडिकल डाक्टर नभएर सायद विद्यावारिधि गरेका विषयगत डाक्टरहरु होलान्) डाक्टर कर्मा वाङचुक र डाक्टर नोर्बु वाङचुक पनि छन् । त्यस्तै उक्त सूचीमा नेपाली मूलका गाइडहरुको नामसूची पनि लामै देखिन्छ भने केही हदसम्म महिलाहरुको पनि ठीकठीकैको सूची देखिन्छ । खासगरी यो पंक्तिकारलाई भुटानी गाइडहरुको नामसूची सम्बन्धमा किन पनि उल्लेख गर्न मन लाग्यो भने, नेपालमा ट्रेकिङ÷टुर गाइडहरुको मान सम्मान र इज्जत भरियाको जत्ति पनि छैन भन्दा फरक नपर्ला ! त्यसमाथि पनि नेपालमा को लाइसेन्सवाला गाइड ? को बिना लाइसेन्स्वाला गाइड ? नियमन गर्ने आधिकारिक निकाय नै छैन ! कहिलेकाही एमाले निकट मजदुर संगठन युनिट्राभले कतैकतै गाइडहरुको लाइसेन्स् चेक गर्ने गरेको देखिए तापनि लाइसेन्सवाला गाइडहरु कतिपय अवस्थामा चेक गर्ने ठाऊँमा आप्mनो लाइसेन्स् अरुलाई देखाउन दिएर आपूm वाध्यतावस भरिया भएर हिँंड्नु पर्ने (आफ्नो लाइसेन्स अरुले नै आफ्नो लाइसेन्स् हो भनी देखाएर हिँंड्ने गरेको) दुरुह अवस्था पनि नेपालमा विद्यमान छ । त्यसो त कतिपय लाइसेन्स्वाला ट्रेकिङ गाइडहरुमा पनि मानवीय कमी कमजोरीहरु छन् नै । जस्तो कि, नेपालका मै हुँ ! भन्ने ट्रेकिङ गाइडहरुले पनि नेपालका जातजाति र भाषाभाषी सम्बन्धी सही ज्ञान राखेको पाइँदैन । त्यस्तै सम्बन्धित भूगोलको ज्ञान पनि कम मात्रमा रहेको देखिन्छ । उदाहरणका लागि आपूm जाँदै गरेको क्षेत्रको बाटो नदेख्नु, हिमालको नाम, उचाई आदि नजान्नु, खोलानाला, वन–जंगल, झरना आदिको नाम र ती बारे ज्ञान नहुनु, नेपालमा पाइने फुल फुल्ने प्रजातिका झारपात, बोट–विरुवा, फल, लेऊ, भ्mयाऊ चरा–चरुङगीका नाम, पाइने संख्या आदिको ज्ञान नहुनु, उभयचर, चलचर आदिबारे ज्ञान नहुनु आदि कमी कमजोरीहरु नेपाली ट्रेकिङ गाइडहरुमा रहेका छन् । धन्य मुसुक्क हाँसेको भरमा र जति सक्दो चाकरी चाप्लुसी गरेको भरमा अहिलेसम्मका धेरै जसो विदेशी पर्यटकहरु खुसी हुन÷रहन सकेका छन् ।

त्यसो त विगतदेखि लामो समयदेखि (हालसम्म पनि) नेपालका टुर÷ट्रेकिङ गाइडहरुको आर्थिक अवस्था साह्रै कमजोर छ । किनभने, नेपालमा मौसमी रुपमा मात्रै टे्रकिङ/टुर क्षेत्रमा काम पाइन्छ । अर्को भनेको अन्य देशको तुलनामा हाम्रो देशमा टे्रकिङ÷टुर क्षेत्रमा काम गर्ने गाइडहरुको दैनिक ज्याला पनि धेरै कम छ ।
खासमा नेपालका टे्रकिङ÷टुर कम्पनीहरुलाई पनि सरकारले उनीहरुको स्तरअनुसार गे्रडिङ गर्नु पर्छ । जस्तै ए +, ए, बी+, बी, सी+, सी, डी+, डी, ई+, ई गरेर छट्याउनु पर्छ । सोहीअनुसार टुर/ट्रेकिङ गाइडहरुलाई पनि उनीहरुले तालिम गर्दा प्राप्त गरेको ग्रेडको आधारमा, विषयगत ज्ञान, भाषागत ज्ञान, वरिष्ठता र क्लाइन्ट/गेस्टको कमेन्ट÷रेकोमेन्डको आधारमा तलब, भत्ता र दैनिक ज्याला तोक्नुपर्ने देखिन्छ । यसको व्यवस्थापन र रेखदेख नेपाल सरकारले गर्नु पर्छ । त्यसो गर्न सके नेपालका टे्रकिङ÷टुर गाइडहरु पनि भविश्वमा अन्तर्राष्ट्रियस्तरको बन्न सक्छन् । अहिले त कस्तोसम्म देखिन्छ भने, एकजना बाटो देखेको मान्छेलाई भरिया बनाएर पठायो । अनि आफन्त र नाता–गोता (मामा–भाञ्जा, काका–भतिज, जेठान–ज्वाईँ, साढू दाई–साढू भाई आदि) लाईचार्हिँ गाइड बनाएर पठाउने गरिन्छ । यस्तो भएपछि साँचो अर्थमा नेपालको राजनीति, भूगोल, नेपाली जनताका जीवनस्तर, नेपालका हिमाल, नेपालका जातजाति, भाषाभाषी, धार्मिक समूह, जैविक विविधता, वनजंगल, खोलानाला, जडीबुटी, खेतीपाती, सरिसृप, उभयचर, जलचर आदिबारे बुभ्mन चाहने विदेशी पर्यटकहरुले कसरी सही जानकारी पाउँछ ? तर, अरु त के कुरा आपूm बास बसेको ठाऊँमा भोलि बिहान कति बजे घाम झुल्कन्छ ? बेलुकी कति बजे अस्ताउँछ ? आप्mनो आँखै अगाडिको हिमालको नाम के हो ? भन्ने समेत थाहा नभएकाहरु पनि ट्रेकिङ गाइड बनेर÷भएर गएको यो पंक्तिकार स्वयम्ले धेरै ठाऊँमा, धेरै पटक देखेको÷भेटेको छ । जस्तो केही वर्षअघि अक्टोबर सिजनमा एबीसी÷एमबीसी क्षेत्रमा एकजना यस्तै ट्रेकिङ गाइड भेटिएको थियो । उनले बेलुकीको खाना (डिनर) पछि आप्mनो क्लाइन्ट÷गेस्टलाई ब्रिफिङ दिँदै भन्यो, ‘यहाँ बिहान ६ बजे नै घाम झुल्किन्छ । त्यसैले ५ बजे नै उठेर एबीसी जानू । म चाहिँ एबीसी जान्न !’

जबकि माछापुच्छ्र्रे हिमालले घाम छेक्ने भएकोले एमबीसीमा बिहानको लगभग १० बजे मात्रै घाम झुल्कन्छ, अक्टोबर सिजनमा । उसको क्लाइन्ट सुत्न गएपछि मैले ती गाइड भनाउँदोलाई भने, हेर भाइ, यहाँ बिहान १०÷१०–३० तिर मात्रै घाम लाग्छ । तिमीले त बिहान ६ बजे नै घाम झुल्किन्छ भन्यौ, के पारा हो ? … ए … दाइ, म गाइड गर्न सक्दिन भन्दा पनि समथिङ बेच्ने दाइले जबरजस्ती पठायो । मारे उसैलाई गएर मार्छ नि ! मलाई के मतलब …. ।

अन्तमा जे जस्तो भए तापनि नेपालमा पर्यटनको भविश्य अभैm पनि उज्वल नै रहेकोले भविश्यमा भुटान लगायतका देशहरुमा झैं ालमा पनि नेपगर्वका साथ डाक्टरहरु समेतले टुर/ट्रेकिङ गाइड गरेर खाने वा भनौं बाँच्ने आधार पर्यटनलाई नै बनाउन सकियोस्/सकौं यही कामना !

प्रकाशित मिति २८ चैत्र २०७७, शनिबार १०:०५