लाङटाङ । २०७२ वैशाख १२ को भूकम्पले लाङटाङ क्षेत्रको पर्यटन लगभग शून्यमा झरेको भएपनी अहिले पर्यटकको आवातजावतले झलमल्ल भएको छ ।
वरिपरि हिमाल । त्यही हेर्न पर्यटकको घुइँचो । होटल भरिभराउ । लाङटाङ झलमल्ल छ, तंग्रिएको छ । होटल व्यवसायी फर्केर जमेका छन् । आँखाअगाडि चारैतिर दर्जनभन्दा बढी हिमाल देखेपछि पर्यटक दंग पर्छन् ।
यतिबेला दैनिक ६० देखि ७० पर्यटक आइरहेका छन् । प्रहरीचौकी लाङटाङको तथ्यांकअनुसार पछिल्लो तीन महिनामा दुई हजार पाँच सय पर्यटकआएका छन् ।
चर्चित पदमार्ग यो क्षेत्रमा सुरक्षित होटल र घर बनिसकेका छन् । ‘लगभग पुरानै अवस्थामा लाङटाङ फर्किएको छ,’ होटल व्यवसायी ढिन्डुप तामाङले भने, ‘पर्यटक संख्या बढेर भूकम्प जानुअगाडिकै अवस्थामा पुगेको छ ।’
२०७२ वैशाख १२ को भूकम्पले लाङटाङ क्षेत्रको पर्यटन लगभग शून्यमा झरेको थियो । ‘काठमाडौंबाट छोटो र सजिलो पदमार्गमा हो लाङटाङ । यही कारण विदेशी पर्यटकको सहज रोजाइमा पर्छ,’ पर्यटन व्यवसायी तेम्बा लामाले सुनाए,‘पर्यटकले थोरै दिनमा एकै पटक धेरै कुरा हेर्न र घुम्न पाउँछन् ।’
स्याफ्रुबेंसीदेखि क्याङजिनसम्म बाटैभरि पर्यटकको लर्को देख्न सकिन्छ । स्याफ्रुबाट करिब दुई दिन पैदलमा क्यान्जिन पुगिन्छ । पहिलो दिन स्याफ्रुबाट दोमेन, पहिरो, बम्बु, रिमिचे हुँदै लामा होटलमा बास बस्न पुग्छन् पर्यटक । दोस्रो दिन बिहानै खाजा खाएर हिँडदा रिभर साइड, उडल्यान्ड, घोडा तबेला थाङस्याब, गुम्बा डाँडा हुँदै लाङटाङ पुगिन्छ ।
केही पर्यटक त्यहाँ बस्छन् भने केही मुन्डु, सिन्दुम हुँदै क्याङजिन पुग्छन् । पदमार्गमा आउने पर्यटकले रसुवाकै पुरानो क्याङजिन गुम्बा, लाङटाङ ग्लासियर र बस्ती नजिकैबाट एक दर्जनभन्दा बढी हिमालको अवलोकन गर्न सक्नेछन् ।
लाङटाङ नेपालको तेस्रो पर्यटकीय पदमार्ग मानिन्छ । समुद्री सतहबाट पाँच हजार मिटर उचाइमा रहेको चेर्को–रीबाट चारैतिर देखिने हिमालको मनमोहक दृश्य देखिन्छ । लाङटाङ जाने पर्यटक चेर्को–री, क्यान्जिन–री, लाङसिसा, लाङटाङ ग्लासियर र याला पिक चढ्ने गर्छन् । चेर्को–री पुगेकी स्पेनिस नागरिक मार्ता रोहरले भनिन्, ‘यहाँबाट हिमालको दृश्य हेर्न पाउँदा मनै आनन्द भयो, नजिकैबाट यति धेरै हिमाल हेर्न अन्त कतैबाट पाइँदैन ।’
श्रोत इकान्तिपुर