चौथो अन्तर्राष्ट्रिय तामाङ सम्मेलनको तयारी तीव्रतापूर्वक भइरहेको छ । आगामी डिसेम्बर १४, १५ र १६ तारिख (मङ्सिर २८, २९ र पुस १ गते) मा भारतको दार्जीलिङ मिरिकमा हुने सम्मेलनका लागि काठमाडौंमा रहेको अन्तर्राष्ट्रिय तामाङ परिषद्को सचिवालय र मिरिकमा गठन गरिएको व्यवस्थापन समितिले सम्मेलन तयारीलाई तीव्र पारेका छन् । विभिन्न देशमा रहेका परिषद्का सदस्य संस्थाहरूले सम्मेलनका लागि आधिकारिक प्रतिनिधि तोकेर जानकारी गराउने क्रम जारी छ । परिषद् सचिवालयका अनुसार अहिलेसम्ममा नेपाल र भारतसमेत १२ देशका प्रतिनिधि टुंगो लागिसकेको छ । जसअनुसार तामाङ समाज उत्तर अमेरिकाको तर्फबाट लक्यान लामा, मोहन वाईबा, प्रेम स्याङदान, कुमार दोङ, प्रेम तामाङ र प्रकाश लामा गरी ६ जनाको सहभागिता रहने निश्चित भएको छ ।

यसैगरी नेपाल तामाङ घेदुङ इजरायलबाट बिबि लामा तामाङ , नेपाल तामाङ घेदुङ साइप्रसबाट नानु गोम्जा तामाङ, नेपाल तामाङ घेदुङ साउदी अरबबाट दिलबहादुर थिङको नाम प्रतिनिधिका लागि टुंगो लागिसकेको छ । कतारबाट प्रतिनिधिका रूपमा कमल योञ्जनको नाम पठाइसकिएको नेपाल प्रवासी तामाङ समाज कतारले जनाएको छ भने हङकङ तामाङ घेदुङको प्रतिनिधित्व रमेश मोक्तानले गर्न निश्चित भएको छ । बहराइन तामाङ सेवा समाजबाट सोनाम दोङ र नेपाल तामाङ समाज ओमानबाट दावा साङबु लामा सहभागी हुने आयोजकले जनाएको छ ।

यसैगरी बर्माको श्री सांघ छ्योईतिलिङ गुम्बाको तर्फबाट पृथीसिंह योन्जन र सुकबहादुर योन्जन सहभागी हुने भएका छन् । परिषद्को यसपटकको सम्मेलनमा पहिलोपटक थाइल्याण्डको पनि सहभागिता रहने भएको छ । ‘तामाङ समाज थाइल्याण्ड’ को तर्फबाट प्रतिनिधिका रूपमा गोपाल बमजन र अमर योञ्जनको नाम प्राप्त भएको परिषद सचिवालयले जानकारी दिएको छ । अन्य देशमा रहेका संस्थाहरूले पनि अब एक हप्ताभित्रमा प्रतिनिधिको नाम टुंगो लगाउने जनाएका छन् । यसपटक सम्मेलनमा २१ भन्दा बढी देशको सहभागिता रहने आयोजकको भनाइ छ ।

‘विश्वभरिका तामाङहरू एकजुट होऔं, तामाङ पहिचान र संस्कृति समृद्ध पारौं’ भन्ने नारासहित मिरिकमा सम्पन्न हुने सम्मेलनले परिषद्को आगामी चार वर्षे कार्यकालका लागि नयाँ नेतृत्वको समेत चयन गर्नेछ । सम्मेलनलाई तामाङ जातिको पहिचान, इतिहास, संस्कृति, सभ्यता झल्कने गरी ‘तामाङ महोत्सव’ कै रूपमा आयोजना गरिने अखिल भारतीय तामाङ बौद्ध संघका महासचिव एमके योन्जनले मिरिकबाट जानकारी दिएका छन् ।

तामाङ समुदायको समृद्धि, इतिहास, पहिचान, मौलिक सभ्यताको संरक्षण गर्ने, विश्वका विभिन्न देशमा क्रियाशील तामाङ सङ्घसंस्थाहरुलाई समन्वय गरी विश्वभरिका तामाङहरूलाई आफ्ना् हकहित र समुन्नतिका लागि सङ्गठित गर्ने, संस्थागत विकास एवम् सशक्तिकरणमा सहयोग पु¥याउने लक्ष्यसहित अन्तर्राष्ट्रिय तामाङ परिषद्को स्थापना सन् २००२ मा भएको थियो ।
तामाङ अनलाइन बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय