छेटु शेर्पा

बौद्ध धर्मअन्तर्गत महायानी सम्प्रदायमा सम्बोडा लिपिले समेटेको हिमाली भोटचन्द्र पात्रो (दतु) मा तिथिमिति परिवर्तन भई पुरानो वर्षलाई बिदा गरी नयाँ वर्ष मनाउनु ल्होसार हो । ‘ल्हो’ भनेको वर्ष र ‘सार’ भन्नाले परिवर्तन भन्ने अर्थले ल्होसार शब्दको उत्पत्ति भएको तथ्य छ ।

वार्षिक रूपमा वर्ष परिवर्तन हुँदा ल्होसार मनाइन्छ । बाँदर, चरा, कुकुर, सुँगुर, मुसा, गाई, बाघ, बिरालो, ड्रागन, सर्प, घोडा, भेडा गरी १२ वर्षमा एकपटक लो (वर्ष) परिवर्तन हुने गर्छ । पात्रोअनुसार कोङ्पो, तोला, सोनाम र ग्याल्पो गरी चारवटा ल्होसार उल्लेख छ । यी सबै ल्होसार नयाँ वर्ष नभएर जातीय परम्पराको रूपमा भने मान्दै आएको इतिहासमा उल्लेख छ ।

कोङ्पो प्रान्तका राजा आग्यालले युद्ध लड्न जानुअघि ल्होसार नमनाई नजाने घोषणापछि युद्धमा जित हासिल गर्न ल्होसार मनाउन सुरु गरेको पाइन्छ । ल्होसार नै कोङ्पो ल्होसारको नाममा परिचित छ । हिजोआज लोपोन्मुख ल्होसारको रूपमा यसलाई मानिन्छ । तोला ल्होसार ग्रह, नक्षत्र वा आकाशीय पिण्डहरूको चलायमान अवस्थासँग रहेको धर्मका अग्रजहरू तर्क राख्छन् । ११औं महिना पुसमा पर्छ । यो विशेषगरी हिउँदको घाम फर्कंदा ल्होसार मान्ने प्रचलन मञ्जु श्री (नाग्चिपा) जोतिस परम्परा पनि मानिन्छ । पात्रोअनुसार तोला ल्होसार पुस संक्रान्तिदेखि मसान्तभित्र पर्दछ ।

सोनामको अर्थ कृषि हो, किसानले रोपेको खेतीपाती उत्पादन पछि घरभित्र्याए पछि खुसीयालीमा सोनाम ल्होसार मनाउने गरेको इतिहास छ । पात्रोअनुसार १२ महिनाको पहिलो दिन सोनाम ल्होसार मनाउने चलन छ । यता पात्रोमा तिथि परिवर्तन भई नयाँ वर्ष लागेसँगै १२ महिना सकेर ग्याल्पो ल्होसार गरेको मनाइन्छ ।

बौद्धधर्मको इतिहास हेर्दा ल्होसारलाई यसरी प्रष्ट बुझ्न सकिन्छ । तर पात्रोमा नयाँ वर्ष परिवर्तनभन्दा पनि २०४६ साल सँगै भएको राजनैतिक परिवर्तनपछि ल्होसार जातिगत रूपमा मनाउने चलन बढेको छ । अहिले तामाङ जातिले सोनाम र गुरुङ जातिले तमु ल्होसार हाम्रो भन्दै मनाउने गरेका छन् । यसरी तिथिमिति र बिना आधार ल्होसारलाई जातिगत रूपमा नयाँ वर्षको रूपमा मनाउनुले ल्होसारप्रति प्रश्न उठ्न थालेको छ । राजनीतिले ग्रस्त समुदाय प्रथा परम्परा र इतिहासलाई तोड्दै पर्व मनाउनुले इतिहास र बौद्धधर्म माथिको राजनीति हो भन्दा दुई मत नहोला भन्न सकिन्छ ।

गुरुङ जातिले पुस १५ मा तमु ल्होसार नामांकन गरी मनाएको पाइन्छ, तर यो बौद्धधर्मको लिपिमा ल्होसार उल्लेख भएको पाइँदैन । यसरी बनावटी रूपमा आगन्तुक ल्होसार सिर्जना गर्नु बौद्धधर्म माथि भएको अपमान हो भन्न किन नसक्ने । केही अग्रजहरू तोला ल्होसारलाई तमु ल्होसार बनाएको भन्ने कच्ची जवाफ दिने गर्छ तर यो जवाफ सिंगो बौद्धधर्मले स्वीकार्न सक्छ त ? यसरी नै तामाङ जातिले आफ्नो सोनाम ल्होसार भन्दै नयाँ वर्ष भन्दै मनाउँदै आएको छ ।

सोनाम ल्होसारको वास्तविकता माथि उल्लेख गरिसकिएको छ । पात्रोअनुसार २१ सय ४४ वर्ष पूरा भएको पाइन्छ तर नेपाल तामाङ घेदुङ संघको नेतृत्वमा २८ सय ५३ वर्ष अघि झिंवा लोमा चीनको एक पहाडमा पहिलो पटक मञ्जु श्रीले ला (वर्ग) परम्पराको विषयमा धर्म देशना गरेको भन्दै सोनाम ल्होसारलाई सम्बत परिवर्तन हो भनी ल्होसार मान्ने गरेको छ ।

यता नेपाल तामाङ बौद्ध महासंघले सोनामको बारेमा फरक धारणा राख्दै तीन वर्ष यतादेखि पात्रोअनुसार ल्होसार मान्न अभियानै सुरु गर्दै आएको छ । इतिहासलाई हेर्दा स्पष्ट भने पाइँदैन यो सम्बत् ४७१५ पुगेको दाबी गर्छन् भने केहीले मञ्जु श्री जम्म भएको दिन मानेका हो भनेका छन् ।

राजनैतिक परिवर्तन र सचेतनाले धर्ममाथि प्रहार हुनु कति उचित होला भन्ने चिन्ताको विषय बनेको छ यो बहसमा आएर सार्थक समाधान पनि जरुरी छ । बौद्ध धर्मअनुसार महायानी धर्मालम्बीले सम्बोडा लिपि दिएको तिथिमिति पात्रो अनुसार न्वारान, घेवा, विवाह, समग्र धार्मिक परम्परा शेर्पा, तामाङ, गुरुङ, भोटेलगायत सबै बौद्धधर्मालम्बीले अनुसरण गर्दै आउनु नै यसको मुख्य प्रमाण हो भन्न सकिन्छ । ल्होसारलाई राजनैतिक चेतले आकुल बनाएको पाइन्छ, सुधार नभए के होला ?

धार्मिक कि जातीय पर्व भन्ने प्रश्न समाजमा प्रशस्तै उठेको छ । जातीय परम्परागत पर्व हुनुमा केही फरक नपर्ला तर धार्मिक पर्व हो भन्दा पुष्ट्याइँ गर्नु गाह्रो हुने देखिन्छ । बुद्धधर्मालम्बी बाहेकले नयाँ वर्ष कति पटक परिवर्तन भयो होला भन्दै अन्योलता सुनाउँछ, व्यवहार नै देख्दा स्वाभाविक पनि हो ।

ल्होसार जाति विशेष हुनु मनाउन प्रेरित गर्नु धार्मिक चेतको खाँचो ठान्न सकिन्छ । तिथिअनुसार परिवर्तन हुने मितिले नयाँ वर्षको जनाउने भएकाले ल्होसार कहिल्यै पनि जाति विशेष हुन नसक्ने दाबी पनि गर्न सकिन्छ । धार्मिक पहिचान जे छ त्यो मान्नुको विकल्प छैन । संसारभर मानिँदै आएको ल्होसारलाई परिवर्तन गर्नु र पहिचान भन्दै जातिगत बनाउनुमा सच्चा बौद्धधर्मावलम्बीले एक पटक गम्भीर भएर सोच्नु पर्ला कि ?

परापूर्वकालमा यातायात र सूचनाको अभावमा चारैवटा ल्होसार मनाउने गरेको इतिहास छ । तर जातिगत रूपमा भन्दा पनि परम्परागत रूपमा क्रमैसँग ल्होसार मनाएको पाइन्छ । त्यसैले चारवटै ल्होसार उत्तिकै महत्वव भएको तर वर्ष परिवर्तनको सँगै मनाउने ल्होसार ग्याल्वो मानिन्छ । राज्यले पनि हिन्दुहरूको महान् चाड विजयदशमीलाई महान् चाडको रूपमा लामो बिदा दिँदै आएको छ यसरी नै बौद्धधर्मालम्बीका लागि पनि ल्होसारको पहिचान दसैंको जस्तै बनाउन पर्दछ ।

बौद्धअनुयायीमध्ये महायानी धर्माशास्त्रले दिएको तिथिमितिअनुसार ग्याल्पो ल्होसार नै हो भन्ने पुष्टि गर्न सकिन्छ र यस्ता पुष्टिहीन भ्रामक कुप्रचार र बौद्धधर्म माथि उठेको प्रश्नलाई एकता भएर चिर्नु जरुर छ त्यसका लागि नयाँ वर्ष राष्ट्रिय पर्वको रूपमा ग्याल्वो ल्होसारलाई मनाउनुको विकल्प छैन । बौद्धअनुयायी बज्रयानीले ल्होसार मान्दैन तर महायानीले ल्होसार मान्ने भएकाले धार्मिक पृष्ठभूमिमा राजनीति घुस्नु हुँदैन ।

२०४७ सालदेखि हाम्रो पहिचान भन्दै ल्होसार मान्ने चलन सुरु भएको यसले पहिचानको कुरा ३० वर्षदेखिमात्र हो त्योभन्दा पहिलेको पहिचान के त भन्ने प्रश्न उत्तिकै उठ्छ । ल्होसारलाई शब्द र लेखाइमा समेत फरक पारेर ल्होछार लेख्ने गरेको पाइन्छ । लो भनेको वर्ष र ल्हो भनेको दक्षिण भन्ने अर्थ दिन्छ । सार को अर्थ परिवर्तन हुनु हो त्यसैले ल्होछार नभएर ल्होसारको अर्थ वर्ष परिवर्तन भन्ने अर्थ लाग्नुले लिपि अध्ययन गर्ने जो कसै पनि ल्होसारबारे प्रष्ट हुन्छ ।

त्यसैले हिम्मत खण्डबाट सुरु भएको ‘ट्हे ल्हो’ (बाँदर वर्ष ) लाई बिदा गरी ‘च्या लो ‘ (चरा वर्ष ) २१ सय ४४ वर्षको ग्याल्पो ल्होसारलाई राष्ट्रिय पर्वको रूपमा मनाउन सुरुवात गर्नुपर्छ । नौ प्रकारका पदार्थ मिसाएर पकाइएका खाना (गुथुक), खप्स र फलफूल खाएर शुभकामना साटासाट गरी विश्वभर एकरूपता ल्याउनुपर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय