परिवारका सदस्य भन्छन्- राज्यले हेरेन

२७ चैत, काठमाडौं । ‘हिम चितुवा’ का रुपमा विश्वपरिचित पर्वतारोही आङरिता शेर्पा जीवनको कठिन अवस्थामा पुगेका छन् ।

सिकिस्त बिरामी परेपछि बाँसबारीस्थित न्यूरो अस्पतालमा भर्ना गरिएका हिम चितुवालाई कुन रोगले थलाएको हो भन्ने चिकित्सकहरुले अझै ठम्याउन सकेका छैनन् ।

दश पटक भन्दा बढी विना अक्सिजन सगरमाथा आरोहण गरेका साहसी आरोही शेर्पा ७० वर्षको उमेरमा थलिएका हुन् ।

विश्वकै सबैभन्दा छिटो आरोहीको कीर्तिमान कायम गरेका पेम्बा दोर्जे शेर्पाका अनुसार चार दिनदेखि न्यूरो अस्पतालको आइसियुमा मृत्युसँग संघर्ष गरिरहेका आङरिताको परिवार उनको उपचार गर्ने हैसियतमा छैन । पेम्वाले नै अहिले आङरिताको उपचारको समन्वय गरिरहेका छन् ।

केही वर्षअघिमात्रै जेठा छोराको निधनपछि आङरिताले पुत्रवियोग झेलेका थिए । अहिले हिमचितुवाका कान्छा छोरा लान्दरुको पनि शुक्रवार मात्रै सगरमाथा आधार शिविरमा लडेर खुट्टा भाँचिएको छ । उनी नेपाल मेडिकल कलेज जोरपाटीमा उपचाररत छन् ।

साथमा भएको डेढ लाख रुपैयाँ सकिएपछि उनी अहिले बेवारिसे अवस्थामा अस्पतालमा रहेको पेम्बाले बताए । बुबाको उपचारमा सहयोगको याचना गर्दै छोरी डोल्मा ल्हमू शेर्पाले नेपाल पर्वतारोहण संघमा आइतवार निवेदन दिएकी छन् ।

विश्वमा नेपालको नाम राख्ने हिमचितुवाको उपचारमा राज्यले सहयोग गर्नुपर्ने स्पिड आरोही पेम्बाले बताए ।

को हुन् हिमचितुवा ?

७० वर्षअघि सोलुखुम्बुको थमो गाउँमा जन्मिएका आङरिताले सन् १९८३ देखि सगरमाथाको आरोहण थालेका थिए ।

उनले १० पटकसम्म बिना अक्सिजन सगरमाथाको आरोहण गरेर किर्तिमान कामय गरेपछि उनलाई तत्कालीन सरकारले हिमचितुवाको पदवीसमेत दिएको थियो ।

१७ वर्षअघि हिम चितुवा क्षयरोगका कारण गम्भीर बिरामी भए । त्यसबेला उनको सम्पूर्ण उपचार सरकारले गर्‍यो । तत्कालीन राजा वीरेन्द्र र तत्कालीन सरकारले उनलाई अब सगरमाथा नचढ्न आग्रह गरेका थिए ।

यी हिम मानवलाई सरकारले पेन्सन दियो भने पर्वतारोहण संघले सम्मानित निर्देशकका रुपमा तलब पनि दिन थाल्यो । तर, पछिल्लो समय उनले पेन्सन समेत नपाएको छोरी ल्हमूले बताइन् ।

जीवनभर हिमाल आरोहण मार्फत मुलुकका लागि धेरै कीर्तिमान बनाएका आरोहीको उपचारमा सरकार र पर्वतारोहण संघले उदासीनता देखाएकोमा अाराेहीहरूले चिन्ता व्यक्त गरेका छन् ।

तस्वीरः हेलो हिमालयन होम

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय