महेश बस्नेत र सर्वेन्द्र खनाललाई अपहरणको मुद्दा किन नलाउने ?

कुरा सुरु गरौं महेश बस्नेतबाट ।

महेश बस्नेतलाई व्यक्तिगत रूपमा म चिन्दिनँ । तर उनको कृत्यसँग परिचित छु । नेपाली राजनीतिक वृत्तमा उनको परिचय सरदर राजनीतिज्ञको भन्दा अलि अलग खालको छ । अर्थात विचारको भन्दा बाहुबलको राजनीति गर्नेमा उनको नाम अग्रस्थानमा आउँछ ।

महेशको बारेमा धेरैले नराम्रो कुरा सुनाउँदा कतिपयलाई म कालीदास, वाल्मीकि र सम्राट अशोकको उदाहरण दिएर सम्झाउने प्रयत्न गर्थें । कालीदासजस्ता मुर्ख पनि महाकवि बनेका थिए । वाल्मीकिजस्ता खुंखार डाकु संस्कृतका आदिकवि बने । उनैले विश्वप्रसिद्ध रामायण लेखेका थिए । सम्राट अशोकजस्ता डरलाग्दा हिंस्रक शासक बुद्धको अनुयायी बनेका थिए । कहिलेकाहीँ व्यक्तिले नबुझेर वा संगतले पनि खराब काम गर्न सक्छन् । तर कुरा बुझेपछि, असलहरूको संगत पाएपछि उनीहरूमा पत्याउनै नसकिने परिवर्तन आउँछ । महेश बस्नेतको बारेमा यस्तै धारणा राख्थें म ।

महेश बस्नेतबारे केही कुरा लेख्दैगर्दा २०६७ मा भएको सिन्धुलीको एउटा घटना यतिबेला मेरो मस्तिष्कमा फ्ल्यासब्याक भइरहेको छ । केही दिन अगाडि आफ्ना कार्यकर्ताहरू माओवादीबाट पिटिएपछि त्यसको बदला लिन महेश बस्नेतलगायतका तत्कालीन एमालेका कार्यकर्ताहरू पेस्तोललगायत हतियारसहित सिन्धुली गए । हुन त त्यहाँ एमालेका नेताहरू पनि गएका थिए । एमालेको क्षेत्रीय अधिवेशन पनि थियो त्यसबेला ।


उता माओवादी सिन्धुलीका नेताहरू राजन दाहाल, दीपा बोहरा (राजनकी श्रीमती) हरूलाई भने महेश बस्नेतहरू हतियारसहित सिन्धुली आउँदैछ भन्ने थाहा थियो । राजन दाहाल रामेछापमा माओवादी पार्टीको ईन्चार्ज भएको बखत उनकै नेतृत्वमा पार्टी कार्यक्रममा गएका वर्तमान मन्त्रिपरिषदका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई बाटोमा ढुंगामुढा गरेर लखेटेका थिए । तसर्थ रामेछाप र सिन्धुलीमा एमाले पार्टीभित्र “राजन आतंक” थियो । “राजन आतंक” का विरुद्ध “महेश आतंक” स्थापित गराउने उद्देश्यले त्यतिबेला एमाले पार्टीले महेशलाई मोहोरी बनाएको हुनसक्छ । जे होस् राजनसँग जुध्न महेश बस्नेत आफ्ना सहयोगीहरूका साथ सिन्धुली रमाना भए ।

सबै सूचना लिएर बसेका राजनले पनि प्रतिरोध गर्ने योजना बनाए । मिनेटमिनेटको सूचना लिएर राजनले महेशमाथि आक्रमण गर्ने तयारी गरे । सिन्धुलीको गुठबजार प्रबेशको घुम्तीमा राजन दाहाल आफ्ना लडाकुसहित ढुंगामुढा लिएर बसे । यो घुम्ती असाध्यै अप्ठेरो छ । माथि भीर तल सुनकोसी । भाग्ने ठाउँ कतै छैन । सिन्धुलीगढीमा अंग्रेजहरूलाई हाम्रा पुर्खाहरूले ढुंगामुढा गरेर लखेटे जसरी लखेट्ने योजना बनाए । राजन तयारी अवस्थामा बसे ।

यताबाट महेश बस्नेत आफ्नो लडाकु टिमसहित जब अप्ठेरो घुम्तीमा पुगे, तब राजनलगायत उनको टोलीले महेश बस्नेतको टोलीमाथि अकस्मात आक्रमण गरे । महेशलगायत उनको टोली राजनको कब्जामा पर्‍यो । गुठबजारमा लगेर महेशलगायत उनको सबै टोलीलाई राजनको टोलीले बामधुलाई गरे । महेश बस्नेत सिंहबाट एकाएक मुसा बने । राजनसँग जीवनको भीख मागे । विजयी भावमा राजनले महेशलाई जीवनको भीख दिए ।

यो घटना सुनिसकेपछि मभित्र त्यसबेला एक प्रकारको वेचैनी पैदा भयो । शान्तिप्रकृयामा आइसकेपछि अब बलले भन्दा तर्कले बिरोधी र प्रतिस्पर्धीलाई वशमा राख्नुपर्छ भन्ने मेरो बुझाई थियो । राजनको बल प्रयोग गर्ने प्रवृत्ति मलाई पटक्कै मन परेको थिएन । आफ्नै पार्टीको कार्यकर्ता भए पनि त्यतिबेला राजनभन्दा महेशमाथि मेरो सहानुभूति रह्यो । मैले राजन प्रवृत्तिको तीखो आलोचना गरें ।

तर अस्ति १० गतेको घटनापछि त्यतिबेला राजनले महेशमाथि जुन व्यवहार गरेका थिए, त्यो सही नै रहेछ भन्ने लागिरहेको छ । सर्पको खुट्टा सर्पले देख्छ भनेझैं त्यहीबेला महेशको खुट्टा राजनले देखेको रहेछ । महेशबारे मेरो अनुमान यतिबेला गलत सावित भएकोछ । बाह्र बर्ष कुकुरको पुच्छर ढुंग्रामा हाले पनि बाङ्गै हुन्छभन्ने नेपाली उखान सत्य सावित भएकोछ ।

समाजवादी पार्टी फुटाउने उद्देश्य बोकेर प्रधानमन्त्री ओलीको निर्देशनमा १० गते बिहानै दुईजना सहयोगीकासाथ महेश बस्नेत सांसद सुरेन्द्र यादवलाई लिन उनको घर महोत्तरी पुगेका थिए । यो कुरा महेशले स्वीकार गरिसकेका छन् । सांसद यादव कसरी वाध्य भएर महेशहरूका साथ रातारात काठमाडौ आइपुगे ? यसको इतिवृतान्त सांसद यादवले दुनियाँसामु बताइसकेका छन् ।

सांसद यादवको कुरा सुन्दा उनलाई महेशको टोलीले अपहरण नै गरेको देखिन्छ । १० गते अपरान्ह ४ बजेतिर मैले कल गर्दा यादव अत्यन्तै आतंकित भएर मसँग बोलेका थिए । कारण महेशहरू उनीसँगै रहेछन् । आफू जनकपुरमा भएको र पार्टी फुटाउने खेलमा नभएको प्रष्टोक्ती दिएका थिए मलाई । तर आश्चर्य ५:३० बजे सिभिलमा आएका केही मान्छेले यादवलाई जबर्जस्ती गाडीमा हालेर काठमाडौ लगेको कुरा मकहाँ रिपोर्ट आयो । उहाँको नजिकका आफन्तहरूसँग बुझ्दा कुरा सत्य रहेछ ।

महेश बस्नेतले आफ्नो अपराध स्वीकार गरेर सार्वजनिक रूपमा माफी माग्नुको सट्टा उल्टै बाबुराम भट्टराईलाई साइवर क्राइमको अपराधमा मुद्दा हाल्ने धम्की दिइरहेका छन् । सांसद यादवलाई लिन महोत्तरी गएको कुरा सगौरव बताइरहेका छन् ।

महेशजी ! सांसद यादवले दुनियाँलाई बताए अनुसार तपाईं अपहरणकारी होइन भनेर आफूलाई कसरी प्रमाणित गर्नुहुन्छ ? तपाईंहरू एकाएक यादवको घरमा पुग्नुभएको छ । त्यसपछि यादवलाई हत्कडीविना नियन्त्रणमा लिनु भएकोछ । यादवको इच्छाविपरित रातारात काठमाडौ ल्याउनुभएको छ । बाटाभरि पार्टी फुटाएर प्रधानमन्त्रीलाई सहयोग गर्न दबाव दिनुभएको छ । घुमाउरो ढंगले पद र पैसाको प्रलोभन देखाउनु भएकोछ । अनि उल्टै बाबुरामले यादवको अपहरण गरेको हो भनेर निर्लज्ज कुरा गर्नुहुन्छ ।

तपाईंले १० गते राति ३ बजे यादवलाई छाडेको मेरियट होटेलमा म ११ गते बिहान ८:३० बजे पुगेको थिएँ । तपाइँको निर्देशनमा मलाई होटलभित्र छिर्न दिइएन । मेरै आँखा अगाडि रातो कारमा हाम्रो पार्टीका सांसदहरूलाई हालेर सुइकुच्चा ठोक्नुभयो । पुलिस बोलाएर हामीलाई गिरफ्तार गर्ने निर्देशन दिनुभयो । अनि उल्टै हाम्रो पार्टीका सांसदहरूलाई हामीले नै अपहरण गरेको आरोप ? कम्तीमा दुईजनाले पत्याउने कुरा त गर्नुस् महेशजी ।


लकडाउनमा देशका सबै जनता घरमा थुनिएको बेला तपाईं कसरी त्यति टाढा यादवको घरसम्म पुग्नुभयो ? किन पुग्नुभयो ? यादवलाई लिन पूर्व प्रहरी प्रमुख लिएर तपाईं नै किन जानु पर्‍यो ? यादव आफै पूर्वमन्त्री हुन् । उनैसँग नेपाल सरकारले खटाएको सुरक्षाकर्मी छ । यादव अहिले पनि सांसद हुन् । सांसदले भनेपछि रातसाँझ जतिबेला पनि स्थानीय प्रहरी प्रशासनले जहाँ जानको लागि पनि सुरक्षा प्रबन्ध मिलाउँछ । अझ प्रधानमन्त्रीले बालुवाटारमा बोलाएको भनेपछि त स्कर्टिङको व्यवस्था मिलाएरै बालुवाटार ल्याइदिन्छ । राज्यले यतिधेरै सुविधा र सुरक्षा दिने हुँदाहुँदै पूर्वआइजीलाई लिएर तपाईं किन यादवलाई लिन जानुभयो ? तपाईं हजार तर्क गर्नुस् । सांसद यादवलाई तपाईंहरूले अपहरण गर्नु भएकै हो । कन्चटमा बन्दुक तेर्साएर जबर्जस्ती घिसार्दै लगेपछि मात्रै अपहरण हुने, नत्र नहुने हुँदैन । अरुको पार्टी फुटाउनका लागि आफ्नो पदको दुरुपयोग गरि सांसद यादवलाई उनको स्वीकृति बेगर रातारात काठमाडौ ल्याउने तपाईंहरू अपहरणकारी नै हो । तपाईंहरूलाई अपहरणको मुद्दा किन नचलाउने ?


अब सर्वेन्द्र खनालबारे केही कुरा ।

सर्वेन्द्र खनाललाई मैले २०६९ सालमा अमेरिकाको न्यूयोर्कमा पहिलोपटक चिनेको हुँ । उनी त्यतिबेला युएनमा नेपाल सरकारको तर्फबाट वरिष्ठ प्रहरी उपरीक्षकको हैसियतमा काम गर्थे । उनको फ्ल्याटमा दुई रात सँगै बसेको थिएँ म । मिलनसार र सहयोगी भावना भएको पुलिस अफिसरको रूपमा मात्रै नभएर असल मित्रको बिम्ब बनेको थियो म भित्र सर्वेन्द्र खनालको । अमेरिकाबाट फर्केपछि पनि उनको र मेरो दोस्ती राम्रै थियो । खनाल आईजीपी बनेपछि खुसी भएर बधाई दिएको थिएँ मैले ।

Wireless Mouse,2.4G Wireless Mouse 5 Buttons Rechargeable

सुझबुझ भएको मान्छे प्रहरी प्रमुख भएको बेला अरु केही नभए पनि देशमा शान्ति सुरक्षामा केही गुणात्मक परिवर्तन आउला, साथै प्रहरी संगठनभित्र केही न केही सुधार होला भन्ने मेरो अपेक्षा थियो । तर मेरो अपेक्षा अनुसार केही भएन । निर्मला पन्तको बलात्कारी र हत्यारालाई विभिन्न बहानामा गिरफ्तार नगरेको देख्दा खनालसँग निराश भएँ म । तैपनि मान्छे खराब भने लाग्दैनथ्यो । खनालबारे मेरो बुझाई यस्तै थियो ।

महेश बस्नेतको नेतृत्वमा सर्वेन्द्र खनाल पनि सांसद यादवलाई लिन महोत्तरीसम्म पुगेको कुरा सुनेपछि पहिला त पत्याइनँ । तर सत्य यही थियो । केहीक्षण त सपनाजस्तै लाग्यो । अझ बालुवाटारबाटै यादवलाई अघिल्लै दिन फोन गरेर मानसिक दबाव दिएको कुरा थाहा पाएपछि त झन अचम्म लाग्यो । यादवलाई काठमाडौसम्म ल्याउन महेशले भन्दा पनि महत्वपूर्ण भूमिका खेलेको कुरा यादवको मुखबाट सुनेपछि सर्वेन्द्रप्रतिको मेरो सबै विश्वास भताभुङ्ग भयो । मिलनसार र सहयोगी भावनाका पुलिस अफिसर र असल मित्रको मभित्र बनेको बिम्ब पानीमा कोरेको चित्रजस्तै बिलायो ।

सर्वेन्द्रजी ! तपाईंप्रति धेरै मान्छेको सद्भाव थियो । तपाईंलाई धेरैले राम्रै पुलिस अफिसरको रूपमा इज्जत गर्थें । मैले पनि इज्जत गर्थें । मजस्तै तपाईंलाई ईज्जत गर्ने धेरै नेपालीहरू थिए । अवकाशपछि पनि तपाईंलाई धेरैले राम्रै मान्थे । तर यो घटनापछि तपाईलाई हेर्ने आँखा धेरैको बदलिएको छ । मेरो त झनै बदलिएको छ ।

earphones with Wireless Charging Powerbank Case

के साँच्चै तपाईंले कुनै राजनीतिक नियुक्तिको लागि यस्तो घृणित काम गर्न तयार हुनुभएको हो ? कि हिजो पदमा हुँदा कुनै अपराध गर्नुभएको थियो र त्यसलाई छोपछाप पार्न यस्तो चाकरी गर्नुभएको हो ? आफूले गरेको गल्ती स्वीकार गर्नुको सट्टा उल्टै महेशको बोलिमा लोली पो मिलाउन लाग्नुभयो । महेशको पृष्ठभूमि थाहा थिएन र तपाइँलाई ? महेश कस्तो मान्छे हो चिन्नु भएको थिएन र तपाईंले ? प्रधानमन्त्रीको कुर्सीमा बसेर ओलीले गर्दै गरेको लोकतन्त्रविरुद्धको अपराध थाहा थिएन र तपाईंलाई ? अनि उल्टै त्यस्ता अपराधीहरूको मतियार बन्ने ? अनि प्रश्न गर्नेहरूलाई धम्क्याउने ? तपाईंले यी प्रश्नहरूको चित्तबुझ्दो जवाफ जनतालाई नदिएसम्म तपाईंको गुमेको साख फिर्ता हुँदैन ।

अन्त्यमा यस घटनालाई यतिकै सामसुम पार्न खोजिदैछ । यो घटना निन्दनीय र घृणित मात्रै होइन, अपराधिक पनि हो । यस्ता अपराधिक कृत्य गर्नका लागि स्वयं प्रधानमन्त्री ओलीको हात देखिन्छ । तसर्थ, प्रधानमन्त्री ओलीलाई अब नैतिकताको आधारमा प्रधानमन्त्रीको कुर्सीमा बस्ने अधिकार छैन । नैतिकताको आधारमा प्रधानमन्त्री ओलीले राजिनामा दिनुपर्छ । साथै, यस घटनामा संलग्न व्यक्तिहरूलाई पनि कारबाही हुनुपर्छ ।

प्रकाशित मिति १३ बैशाख २०७७, शनिबार १४:४१