मानिसहरू यसो भन्दा नपत्याउलान्, तर मलाई चाहिँ त्योबेला प्रधानमन्त्री हुने इच्छा पटक्कै थिएन !

०५१ सालको चुनावमा एमाले सबैभन्दा ठूलो पार्टी भए पनि सरकार बनाउन उसको बहुमत थिएन । कम्युनिस्टहरूसँग त्यसबेलासम्म मेरो खासै सम्पर्क थिएन । पहिला उनीहरू प्रायस् भूमिगत भएर बस्ने भएकाले मेरो खासै सम्पर्क नभएको हो । मलाई कांग्रेससँग मिलेर सरकार बनाउनुपर्छ भन्ने लागिरहेको पनि थियो । सरकार गठनको रस्साकस्सी चलिरहेकै बेला एक दिन मलाई दरबारमा बोलाइयो । दर्शनभेटका क्रममा राजा वीरेन्द्रबाट एमालेकै सरकार बनाउन उपयुक्त हुने सुझाव दिइबक्सियो ।
‘एक पटक उनीहरूलाई मौका दिऊँ न । अल्पमतको सरकार हुन्छ, राम्रो काम नगरे तिमीहरू फाल्न सकिहाल्छौँ । एक पटक यिनीहरूको काम हेरौँ न’, राजाबाट हुकुम भयो । ‘सरकार यी कम्युनिस्ट हुन्, एकचोटि सरकार हातमा परेपछि छाडदैनन् र तत्कालीन रणनीति भनी जे पनि गर्छन् । यिनीहरूलाई किन सरकार बनाउन दिने ?’, मैले भनेँ ।

‘सत्तामा आएपछि सबै ठीक भइहाल्छन् लोकेन्द्र, फेरि यिनीहरू जडसूत्रवादी कम्युनिस्ट पनि त हैनन् नि । यिनीहरू पनि ठिक भइहाल्छन् । यिनलाई हामीले संसदीय अभ्यासमा आउनका लागि प्रोत्साहित गर्नुपर्छ’, राजाले भनिबक्सियो । तत्कालीन संविधानको धारा ४२ अनुसार संसद्को ठूलो दल एमालेको सरकार गठनका लागि छलफल सुरु भयो । त्योबेला उहाँहरूले मसँग ‘तपाईंहरू पार्टीगत रूपमा हैन, व्यक्तिगत हैसियतले सरकारमा सहभागी हुनुस्’ भन्नुभएको थियो । त्यसलाई हामीले अपमानको रूपमा लियौँ ।


‘हामी व्यक्तिगत हैसियतले आउँदैनौँ । जनताले हामीलाई अहिले विपक्षमा बस्ने म्यान्डेट दिएका छन् । हामी विपक्षमै बस्छौँ’, मैले भनेँ ।

हामीले फ्लोरबाटै समर्थन गर्‍यौँ, सरकारमा गएनौँ । मनमोहन अधिकारीजी प्रधानमन्त्री बन्नुभयो । उहाँ नेपालकै प्रथम कम्युनिस्ट प्रधानमन्त्री हुनुहुन्थ्यो ।

सरकार राम्रैसँग चलिरहेकै थियो, हामीले सहयोग गरिरहेकै थियौँ । सरकार गिराउनेबारे कांग्रेस (गिरिजाबाबुबाट होइन) बाट हलुका कुरा आयो, जो मैले ठाडै अस्वीकार गरेँ । एक्कासि मनमोहनजीले हामीलाई पनि थाहा नदिएर प्रतिनिधिसभा विघटन गरिदिनुभयो र मध्यावधि निर्वाचनका लागि राजाकहाँ सिफारिस गर्नुभयो । राजाबाट सदन विघटन त भयो तर त्यो विवाद अदालत पुग्यो । राप्रपाका तर्फबाट मैले र नेपाली कांग्रेसका तर्फबाट शेरबहादुरजीले सदन विघटनविरुद्ध सर्वोच्चमा रिट दायर गर्‍यौँ । हामीले मुद्दा जित्यौँ । तत्कालीन प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायले ०५२ साल भदौ १२ गते गरेको फैसलाबाट प्रतिनिधिसभा पुनर्स्थापना भयो ।

पुनर्स्थापित प्रतिनिधिसभामा ०५२ साल भदौ २० गते मनमोहनजीको सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरियो । भदौ २५ गते त्यसमा मतदान हुँदा अविश्वास प्रस्तावको पक्षमा कांग्रेस, राप्रपा, नेपाल सद्‌भावना पार्टी र केही स्वतन्त्र गरी १ सय जना सांसदको समर्थन रह्यो भने विपक्षमा एमाले र स्वतन्त्र गरी ८८ जना सांसद हुनुहुन्थ्यो ।


मनमोहनजीको सरकार ढलेपछि स्वतस् अब कांग्रेस र राप्रपाको गठबन्धन सरकार गठन हुने भयो । मेरो धारणा के थियो भने सरकारमा धेरै मान्छे नपठाऊँ, सानो मन्त्रिमण्डल बनाऊँ । जम्मै सरकारमा जाने हो भने पदलोलुपता झल्किन्छ, त्यसबाट जनतामा राम्रो सन्देश जाँदैन र पार्टीको बढ्दै गएको साखमा धक्का लाग्छ भन्ने मेरो आग्रह थियो ।

नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाजीको नेतृत्वमा सरकार बन्ने भयो । यस्तैमा एक दिन किसुनजीले मलाई फोन गर्नुभयो । ‘तपाईं र सूर्यबहादुरजी त मन्त्री बन्ने कुरा आएन । बाँकी तपाईंहरूका सत्रै जना सांसदलाई पठाउनुहोस्, हामी मन्त्री बनाउँछौँ’, किसुनजीले भन्नुभयो । किसुनजीले त्यसो भनेपछि सूर्यबहादुरजी पनि ‘सबैलाई सरकारमा पठाऊँ’ भन्न थाल्नुभयो । हामीले १७ जना त हैन, तीमध्ये धेरैलाई मन्त्री बनायौँ ।

२०५२ भदौ २७ गते गठन भएको सरकार राम्ररी चलिरहेकै थियो । शेरबहादुरजीलाई मैले पनि सहयोग गरिरहेकै थिएँ । पछि गएर सम्बन्ध त्यही ढंगले कायम हुन सकेन । के देखियो भने उहाँ कसैले खेल्यो कि त्यसमै फसिहाल्ने । शेरबहादुरजी नबुझ्ने मान्छे त हुनुहुन्थेन तर उहाँले कुरा काट्न नसक्ने मान्छेहरूले पनि खेलिदिए ।

यता हाम्रो पार्टीमा पनि हिजोका एकथरी मतिर, अर्कोथरी सूर्यबहादुरजीतिर नजिक थिए । मसँग नजिक भएका मानिसहरूले सरकारमा आफू भएको महसुस गर्न नसकेको अवस्था देखापर्‍यो । सरकार सञ्चालनका लागि मार्गदर्शन गर्न किसुनजी, गिरिजाबाबु, म र सूर्यबहादुरजीको एउटा उच्चस्तरीय समिति बनेको थियो । मैले थाहा नपाईकन योजना आयोगमा नियुक्ति भयो । त्यो पनि २ जना राप्रपाबाट भनियो ।


‘योजना आयोगमा नियुक्त भइसकेकालाई म हटाउनुस् त भन्दिनँ, भागबन्डा नै गर्ने हो भने एक जना त मेरो पक्षको मानिस पनि राख्नुस्’, मैले शेरबहादुरजीलाई भनेँ । कुरो के थियो भने योजना आयोगमा राप्रपाबाट मनोनीत भनिएका दुवै जनाको पार्टीसित टाढाको सम्बन्ध पनि थिएन । उनीहरूको सिफारिस कसले र के स्वार्थवश गर्‍यो भन्ने अन्योल हुँदा मेरा साथीहरू साह्रै उत्तेजित थिए । उनीहरूको भनाइ त ति दुई जनालाई हटाउनुपर्छ भन्ने थियो । तर मैले एक जना थपे पुग्छ भन्ने कुरोमा मनाएको थिएँ ।

देउवाजीले भोलिभोलि भन्दै टार्नुभयो, थप्नुभएन । तैपनि हामीले केही भनेनौँ । एउटा उक्ति नै छ, मित्रता गरिसकेपछि एक किलो नुन चबाएजस्तो स्वाद पनि पचाउनुपर्छ ।

राष्ट्रिय सभामा एक सिट हामीलाई दिने भनियो । हामीसँग भएको मत र नेपाली कांग्रेसको उब्रिएको दुई तीन मत आएमा हामी राष्ट्रिय सभामा जित्न सक्थ्यौँ । वरिष्ठ नेता र सहअध्यक्ष पनि भएकाले हामीले राष्ट्रिय सभा सदस्यमा राजेश्वर देवकोटाजीलाई खडा गर्ने कुरा गर्‍यौँ । उता, रवीन्द्रनाथ शर्माले ‘मलाई पाटीको सपोर्ट चाहिएन, म हाम्रा सांसदहरूसँग भोट पनि माग्दिनँ, स्वतन्त्र रूपमा उठने मौका दिनुहोस्’ भन्न थाल्नुभयो । संसदीय दलमा अधिकांश साथीले ‘पार्टीका सांसदहरूको मत नलिने भए ठीकै छ’ भनेपछि मैले पनि कुरो मानेँ ।

उता, नेपाली कांग्रेसको राय बुझ्न सोझै प्रधानमन्त्री शेरबहादुरजीसँग कुरा गर्दा ‘हामी तपाईंको पार्टीको उम्मेदवारलाई भोट दिन्छौँ, स्वतन्त्रलाई होइन’, भन्नुभयो ।

‘तपाईंहरूबाट कति भोट आउँछ त रु’, मैले सोधेँ ।

‘मलाई थाहा छैन’, उहाँले भन्नुभयो ।

‘कसलाई थाहा छ त रु’, मैले सोधेँ ।

‘गिरिजाबाबुलाई थाहा हुन्छ’, शेरबहादुरजीले भन्नुभयो ।

गिरिजाबाबुलाई बल्लबल्ल फोन लाग्यो । उहाँले ‘यो कुरा शेरबहादुरजीलाई नै थाहा होला, मलाई थाहा भएन’ भन्नुभयो ।


पछि मैले के चाल पाएँ भने कांग्रेसका केही नेताहरू र हाम्रो पार्टीभित्रैका केही नेताहरूले राजेश्वरजीलाई हराउने योजना बनाइसकेका रहेछन् । त्यो थाहा पाएपछि हामी चिन्तित थियौँ । त्योबेला दीपक बोहराजी हाउसमा त हुनुहुन्थेन तर कताकताबाट छिरेर हाउसभित्र एमाले क्याम्पमा पुग्नुभयो । एमालेले आफ्नो चार पाँच भोट राजेश्वरजीलाई दिने भएको कुरो सुनाउनुभयो । अनि त एमालेको भोटसमेत ल्याएर राजेश्वरजीले पनि जित्नुभयो, उता कांग्रेसको वचनविपरीत हाम्रो पार्टीका केही साथीहरूको भोट पाएर रवीन्द्रनाथ शर्माजीले पनि जित्नुभयो । हाम्रो पार्टीका तर्फबाट जित्न त दुई जनाले जित्नुभयो तर त्यो इमानको राजनीति भएन । बेइमानी भयो । हामीले प्रधानमन्त्री देउवाको भर गरेको, उहाँले धोका दिनुभयो । एमालेले सहयोग नगरेको भए राजेश्वरजीले नजित्ने । कांग्रेसप्रति भर पर्ने अवस्था रहेन । विश्वासको संकट उत्पन्न हुँदै गयो । यसैबीच राप्रपाकै केही मन्त्रीहरूले मलाई ९संसदीय दलको नेता० लाई अटेर गर्ने गरेकाले त्यो प्रधानमन्त्रीलाई खुसी पार्न होला भन्ने मैले अड्कलेँ र यस्तो स्थितिलाई झन् चर्कायो ।

राजेश्वरजी राष्ट्रिय सभामा निर्वाचित भएलगत्तै एमालेले मलाई ‘हामी तपाईंलाई प्रधानमन्त्रीका रूपमा समर्थन गर्छौं’ भनेर एक्कासि लिखित प्रस्ताव नै पठायो । एमालेको प्रस्ताव आएपछि त्यसबारे छलफल गर्न राजेश्वरजी र म सूर्यबहादुरजीकहाँ गयौँ ।

‘हेर्नुस्, संसदीय दलको नेताका हैसियतले एमालेको चिठी मकहाँ आएको हो । यसको जवाफ त मैले दिनैपर्छ । यसो गरौँ, कार्यसमिति बोलाइदिऊँ, यसमा धेरै बहस नगरौँ र भोटिङ गराइदिऊँ । साथीहरू यसको पक्षमा हुनुहुन्न भने मलाई पनि एमालेका साथीहरूलाई जवाफ दिन सजिलो हुन्छ’, मैले भनेँ ।

भेटका बेला सूर्यबहादुरजीले ‘हुन्छ’ त भन्नुभयो तर तत्काल कार्यसमितिको बैठक बोलाई दिनुभएन । बरु भित्रभित्र आफ्ना तर्फबाट तयारी गरेपछि मात्र उहाँले कार्यसमिति बोलाउनुभयो । कार्यसमितिमा सरकारमा नजाने कुरा आयो । मैले त्यही जवाफ एमालेका नेताहरूलाई दिएँ । त्यसपछि पनि एमालेका मित्रहरू मकहाँ आइरहनुहुन्थ्यो । हाम्रो भेटघाट र कुराकानी भइरहन्थ्यो तर कुनै योजनाअन्तर्गत होइन, मित्रतावश मात्र ।

सरकारलाई मैले सहयोग गरिरहेकै थिएँ । तर पछाडि पार्ने प्रयास भयो । त्यो बेला शेरबहादुरजीले गर्नुभयो भनेर म भन्दिनँ । उहाँमाथि पनि पार्टीभित्रबाट दबाब थियो होला, जसलाई उहाँ थेग्न सकिरहनुभएको थिएन । अर्कोतिर हामी दुवै एकै ठाउँ सुदूरपश्चिमका भयौँ । हामी दुबै एक भयौँ भने पश्चिमतिर ‘फोर्स’ बन्छ भन्ने ठाने कि के हो, मिल्न नदिने खेलहरू पनि भए । यो कुरा मैले अलिअलि बुझिरहेको थिएँ, शेरबहादुरजीले बुझेर पनि बुझ पचाउनुभयो । सायद उहाँको मनमा पनि आफ्नो क्षेत्रको भोलि प्रतिद्वन्द्वी हुने मानिसलाई किन बलियो पार्ने भन्ने कुरो पनि थियो होला ।


हामीलाई त सरकारमा भएर पनि त्यसको अनुभव हुन छाड्यो । सरकारसँग हाम्रो असहमति बढ्दै गयो । विभिन्न काम–कारबाहीमा कांग्रेसको करिब एकलौटीजस्तो अवस्था देखापर्‍यो । नीतिगत कुराहरू मात्र हैन, हाम्रा कार्यकर्ताका सानातिना काम पनि महिनौँ हुँदासम्म सरकारले गरिदिएन । खासगरी मसँग सम्बन्धित कार्यकर्ताहरूको त पटक्कै काम हुन छाड्यो । अनि एक दिन म प्रधानमन्त्री शेरबहादुरजीलाई भेट्न गएँ ।

‘शेरबहादुरजी, तपाईंले गर्छु भन्ने काम पनि गर्नुभएन । तपाईंले नगरेको कि गर्न नसकेको रु मेरा साथी धेरै दुस्खी छन् । उनीहरूले मलाई तिमीले यो कुरा प्रधानमन्त्रीकहाँ पुर्‍याऊ, हामी झन् पछाडि पछाडि पर्दै छौँ भनेका छन्’, मैले भनेँ ।

उहाँले ‘होइन के–के गर्नुपर्छ म गर्छु’ भन्नुभयो, जुन कुरो उहाँले मसँग १० चोटि भन्नुभएको थियो । तर काम फुट्टी भएको थिएन ।

त्यसपछिको भेटमा प्रधानमन्त्रीसँग मैले भनेँ, ‘अब भइगो, साथीहरूलाई सन्तुष्ट गराउन मैले सकिनँ । तपाईं मेरो भरमा नपर्नुस् । अब बालुवाटारबाट सोझै एमालेका नेताहरूलाई भेट्न म जान्छु ।’

उहाँ ‘होइन होइन’ भन्दै हुनुहुन्थ्यो, म हिँडिहालेँ ।

अनि एमालेसँग संवाद सुरु भयो ।

हुन त शेरबहादुरजी प्रधानमन्त्री भएको केही दिनपछि नै एमालेले ‘तपाईं प्रधानमन्त्री हुनुहुन्छ भने हाम्रो समर्थन छ’ भन्ने बेहोरासहित आफ्ना करिब असी सांसदहरूको हस्ताक्षर मकहाँ ल्याएर छाडिदिएको थियो ।

‘म यसको पक्षमा छैन भने हस्ताक्षर मकहाँ किन राख्नुहुन्छ रु’, मैले भनेको थिएँ ।

‘रहोस् न यहाँ, कुन बेला के परिस्थिति हुन्छ भन्न सकिन्न’, एमालेका साथीहरूले यति भन्दै त्यो हस्ताक्षर मैकहाँ छाडेर जानुभएको थियो ।

सदन पुनर्जीवित हुनेबित्तिकै नेपाली कांग्रेसका एकाध साथीहरू ‘शेरबहादुरजीलाई नबनाएर अरूलाई प्रधानमन्त्री बनाए के हुन्छ रु’ भन्दै मकहाँ आउनुभएको थियो ।

‘हेर्नुस, मैले त शेरबहादुरजीको पक्षमा सार्वजनिक वक्तव्य दिइसकेँ, अब उहाँलाई नबनाउने हो भने हामीहरूमध्ये कसैलाई बनाउनुस् त’, मैले ठट्टा गरेर भनेको थिएँ ।


मानिसहरू यसो भन्दा नपत्याउलान्, तर मलाई चाहिँ त्योबेला प्रधानमन्त्री हुने इच्छा पटक्कै थिएन । सरकारमा कांग्रेसलाई त्यत्रो सहयोग गरेर पनि उसबाट कोलिसन पार्टनरको जस्तो व्यवहार नभएपछि सँगै बस्नु उचित हुँदैन भन्ने सल्लाह साथीहरूबाट पनि आइरहेकै थियो । एमालेका नेताहरूले पनि चाँडै नै मिलेर सरकार बनाऔँ भनिरहनुभएकै थियो । म भरसक अझै पनि टालटुल गर्ने पक्षमा थिएँ ।

एक दिन (मिति याद छैन) स्वयम्भूमा कसैका घरमा एमाले र हाम्रो पार्टीका केही नेताहरूबीच भेटघाट भयो । एमालेका तर्फबाट माधव नेपाल र वामदेव गौतमजी हुनुहुन्थ्यो भने हाम्रो पार्टीबाट म र राजेश्वरजी थियौँ । त्यहाँ एमालेका साथीहरूले मेरो प्रधानमन्त्रित्वमा एमाले र राप्रपाको सरकार बनाउने भनेर एउटा ड्राफ्ट बनाएर ल्याउनुभएको रहेछ । त्यसमा हामीले पनि सही गर्‍यौँ ।

अब हस्ताक्षर नै गरिसकेपछि हामीले शेरबहादुर देउवाजीविरुद्ध अविश्वासको प्रस्ताव ल्यायौँ । ०५२ साल चैत ११ गते मतदान हुँदा अविश्वास प्रस्तावको पक्षमा जम्मा ९० जना सांसदको समर्थन रह्यो भने विपक्षमा नेपाली कांग्रेस, हाम्रै पार्टीका केही सांसदहरू र नेपाल सद्‌भावना पार्टीका सांसदहरू गरी १ सय ६ खडा भए । यसरी हाम्रै साथीहरू कोही कता, कोही कता लागेको हुँदा त्यो प्रस्ताव पास हुन सकेन ।

पहिलो अविश्वास प्रस्ताव फेल भएपछि हाम्रो पार्टीभित्र पनि अन्तविरोध र ध्रुवीकरणले तीव्रता लिन थाल्यो । पछि रवीन्द्रनाथ शर्माजी हामीतीरै आउनुभयो । एक दिन मेरो घरमा हाम्रो पक्षका सांसद र केन्द्रीय सदस्यहरू जम्मा हुनुभयो ।

शर्माजी र मबीच एकान्त वार्ता पनि भयो ।

‘अब तपाईं नै अध्यक्ष हुनुपर्‍यो, हाम्रो संख्या पुगेकै छ । अब सूर्यबहादुरजीसँग सँगै जान सकिन्न’, रवीन्द्रनाथजीले भन्नुभयो ।

शर्माजीबाट पार्टी फुटाउने प्रस्ताव आएको थियो ।

‘पार्टी फुट्ने भएपछि म अध्यक्ष हुन्नँ, राजेश्वरजीले रहर पनि गरिरहनुभएको छ, उहाँलाई अध्यक्ष बनाउनुस्’, मैले भनेको थिएँ ।

‘राजेश्वरजीलाई बनाउने कुरामा साथीहरू अलि पर्खौं भन्छन्’, रवीन्द्रनाथजीले भन्नुभयो ।

पार्टी फुटाउने कुरा त्योबेला त्यत्तिकै भयो ।

केही महिनापछि एमाले र राप्रपाका हाम्रो पक्षमा सांसदहरू मिलेर शेरबहादुरजीको सरकारलाई अल्पमतमा पारिदियौँ । देउवाजीले अब संसदीय परिपाटीअनुसार विश्वासको मत लिनुपर्ने भयो । विश्वासको मत लिन खोज्दा देउवाजी असफल हुनुभयो । अनि ०५३ साल फागुन २९ गते म प्रधानमन्त्री भएँ । म प्रधानमन्त्री भएको त्यो तेस्रो पटक थियो ।

त्यसबेला कांग्रेसका दुई सांसदले हामीलाई सहयोग गर्नुभएको थियो । एमालेका नेताहरू र मैले ‘उहाँहरूले संसद्‌बाट राजीनामा दिने, मैले उहाँहरूलाई राज्यमन्त्री बनाउने’ वचन दिएका थियौं । पैसोको चलखेल भएको वा गिरिजाबाबुले हमीकहाँ पठाएको भन्ने हल्ला निराधार थियो । एमालेका नेताहरूले उहाँहरूले संसद्‌बाट राजीनामा दिए उनीहरूको साविक क्षेत्रबाट जिताएर ल्याउने वचन पनि दिनुभएको थियो । त्यस्तो नभए, उहाँहरूले राजीनामा गरी स्वतन्त्र बसे पनि मैले केही दिनपछि मन्त्री बनाउन मिल्थ्यो । तर विपक्षी कांग्रेसका सांसदलाई मन्त्री बनाउनु अनैतिक र अव्यावहारिक हुन्थ्यो । अतस् दुवै जना खासगरी मसित रिसाएर बस्नुभयो । गिरिजाबाबुले ती दुई जनालाई पार्टीबाट निकाल्नुभएन, यसलाई गिरिजाबाबु र मेरोबीचमा साँठगाँठ रहेको प्रमाणको रूपमा शेरबहादुरजीले भित्रभित्र भन्न थाल्नुभएको थियो । तर यस्तो कुरो पटक्कै होइन । मलाई लाग्छ, यो गिरिजाबाबुको दूरदर्शिता थियो । किनभने अन्दाजी ७ महिनापछि मेरोविरुद्ध अविश्वास प्रस्ताव हुने बेला ती दुई जना कांग्रेसका पक्षमा न उभिएका भए अर्कै वातावरण बन्थ्यो र सो प्रस्ताव पारित हुन गाह्रो पर्थ्यो ।


प्रधानमन्त्री हुँदा मेरो स्वास्थ्य त्यति राम्रो थिएन । अरू ठूलो समस्या त केही थिएन । एलर्जीको समस्या भइरहन्थ्यो । मलाई कोठाभित्र हाउस डस्टले एलर्जी गराइरहने । कालिन ९गलैँचा० बिच्छ्याएको कोठामा त झन् बस्नै सकिन्नथ्यो । सदनमा डस्ट रोक्न सकिने कुरै आएन । मास्क लगाएर सदनमा जाने कुरा पनि आएन । म एभीललगायतका औषधी खान्थेँ र काम चलिरहेको थियो ।

एक दिन म प्रधानमन्त्री हुनुभन्दा दुई महिना जतिअघि एक जना जर्मन डाक्टर आउनुभएको थियो । उहाँलाई देखाएँ । उहाँले यी सब औषधी छाडेर एउटा सानो गोली दिनुभयो र अरू औषधी नखान भन्नुभयो । उहाँ होमियोप्याथिक डाक्टर हुनुहुन्थ्यो । म पनि अरू औषधी नखाई त्यही सानो गोली मात्र खाएर बसिरहेँ । लौ, आज ठीक होला भन्यो, भोलि ठीक होला भन्यो, ठीक भएन । तर मैले पनि त्यसै उपचारअन्तर्गत बस्ने र केही समय हेर्ने अठोट गरेँ । मेरो पनि जिद्दी बानी प्रधानमन्त्री हुँदासम्म अरू औषधी खाइनँ । पछि भने एलोप्याथिक औषधी खान थालेँ ।

हामीले त्यतिबेला कमैयाहरूलाई मुक्त गर्ने र कमैयामा लगानी गर्नेहरूलाई पनि केही मुआब्जा दिने भनेर ४ करोड रुपैयाँको कोष तयार गर्ने निर्णय गरेका थियौँ । म सम्झन्छु, संसद्‌मा म माननीय सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा यही निर्णय सुनाउन भनी रोस्ट्रममा उभिएको थिएँ । तर जे भन्न खोजेको थिएँ, त्यो बिर्सिएछु । एलर्जीले छातीमा खरखर हुने, आङ चिलाउनेर र कुनै बेला हातगोडा गल्ने हुने गर्थ्यो । त्यसै ‘खरखर’ को पीरले म वक्तव्य छिट्टै टुंग्याई सदनबाट पनि बाहिर निस्केँ । त्यसको जिकिर नै गर्न सकेनौँ । त्यसपछि छिट्टै अविश्वासको प्रस्ताव आएकाले प्रजातान्त्रिक परिपाटीअनुसार हामीले कुनै पनि ठूलो निर्णय गरेनौँ ।


जेहोस्, मेरै पालामा स्थानीय निर्वाचन पनि सम्पन्न भयो, ०५४ सालमा । स्थानीय निर्वाचनमा एमालेसँग तालेमल हुने भएपछि मैले एउटा आफ्नै पार्टीका मन्त्रीहरूको कमिटी नै बनाएको थिएँ । वार्ताका क्रममा मुलुकका १९ नगरपालिकाको उप–मेयरमा एमाले र मेयरमा राप्रपालाई जिताउने, बाँकी क्षेत्रमा प्रतिस्पर्धा गर्नेबारे कुरा चलिरहेको थियो । जिल्ला तहमा पनि गाउँ तहको चुनाव सकिएपछि सहमति गर्ने कुरा चलिरहेकै बेला पार्टीका महासचिव पशुपतिशमशेरजीले ‘स्थानीय निर्वाचनमा राप्रपाले कांग्रेससँग तालमेल गर्ने’ वक्तव्य दिनुभयो । र, केही मन्त्री भित्रभित्र सरकार गिराउने कुरामा लागिसकेका हुनाले हो क्यारे, कमिटीका मन्त्रीहरूले पनि ध्यान दिएनन् । उनीहरूमध्ये केहिले हाम्रोपट्टिका नयाँ नियुक्ति गर्न बाधा पुर्‍याइएरहेको कुरो बुझे पनि म चुप थिएँ । तर महामन्त्रीज्यूको वक्तव्यका बाबजुद कांग्रेससँग कहीँ पनि तालमेल भएन । महासचिवबाट त्यस्तो विज्ञप्ति आएपछि एमालेका साथीहरूले मलाई ‘के गर्नुहुन्छ त रु’ भन्नुभयो । मसँग जवाफ थिएन । अनि मेरै जिल्ला बैतडीमा जिल्ला सभापति राप्रपालाई र उपसभापति एमालेलाई जिताउने सहमति भयो । कुरा गर्दाखेरि वार्ता टोलीमा खटिएका एक–दुई जना मन्त्रीले पनि मन लगाई एमालेसित सहमति गर्न ध्यान दिएनन्, उनीहरूलाई मेरो सरकार हटाउने देशी–विदेशीहरूको षडयन्त्रको भनक लागिसकेको थियो भन्ने मलाई लाग्छ । त्यसबेला मलाई लाग्यो, पद्‌मसुन्दर लावतीलाई मन्त्री बनाउन पाएको भए यस्तो स्थिति आउने थिएन । तर उहाँलाई बनाउन सकिन्नथ्यो ।

माओवादी विद्रोहको त्यो कालमा पनि हामीले शान्तिपूर्ण ढंगले निर्वाचन गराएका थियौँ । माओवादी अति प्रभावित क्षेत्रका ६ जिल्लामा निर्वाचन गर्न अलि कठिन छ भन्ने रिपोर्ट हामीले पाएका थियौँ । एकथरी प्रशासकहरूले ती ६ जिल्लामा हेलिकोप्टर पठाउने र केही मान्छेहरूमार्फत मुचुल्का उठाएर ल्याई काठमाडौँबाटै मत परिणाम घोषणा गरिदिने सल्लाहसम्म दिएका थिए । तर मैले मानिनँ । मैले भनेँ, ‘हैन यसो गर्नु हुँदैन । बरु छाडिदिऔँ, पछि उपयुक्त समयमा ती ठाउँमा चुनाव गराउँला ।’


म प्रधानमन्त्री भएकै बेलामा नेपालको कानुनबाट मृत्युदण्ड हटाइएको थियो । त्यसबेला राजा वीरेन्द्रबाट पनि ठूलो सहयोग भएको म सम्झन्छु । किनकि मृत्युदण्डको व्यवस्था राजदरबारसम्बन्धी ऐनमा राजारानीमाथि आक्रमण नै गरेकामा मृत्युदण्डको व्यवस्था थियो । मृत्युदण्ड हटाउँदा राजदरबारसम्बन्धी ऐनबाट पनि हटाउनुपर्ने हुन्थ्यो र त्यसमा राजाको पनि सहमति चाहिन्थ्यो । आखिर लालमोहर त राजाले नै लगाउनुपर्थ्यो । मानिबक्सन्छ कि मानिबक्सिन्न भन्ने द्विविधामा थिएँ । दर्शनभेटका क्रममा मैले त्यसबारे सोध्दा राजाबाट ‘हुन्छ मृत्युदण्डलाई हटाइदेऊ’ भनिबक्स्यो । त्यसबारेमा कुनै बहस नै गरिबक्सेन । राजाको मञ्जुरी पाएपछि हामीले मृत्युदण्डको प्रावधान हटायौँ ।

त्यसबेला महाप्रबन्धक र अन्य राजनीतिक नियुक्ति हुने प्रशासनिक पदहरूमा जथाभावी आफ्ना मान्छे भर्ना गर्ने चलन चलिसकेको थियो । हामीले पहिलो निर्णय के गर्‍यौँ भने मुख्यसचिव, अर्थसचिव र सम्बन्धित मन्त्रालयको सचिवसहितको एक कमिटी बनायौँ । सोही कमिटीले पदहरूको दरखास्त आह्वान गर्ने, प्राप्त आवेदनहरूमध्येबाट सोही कमिटीले नै तीन जनाको नाम सिफारिस गर्ने र त्यस आधारमा सरकारले निर्णय गर्ने परिपाटी प्रारम्भ गरिएको थियो । तर त्यो अहिले कहाँ हरायो, थाहा भएन । त्यो एउटा राम्रै कदम थियो । अहिले त सारा प्रशासनमा राजनीतीकरण भएको छ । निष्पक्षता त भेट्नै मुस्किल छ । हामीले बसाल्न खोजेको परिपाटीले निरन्तरता पाएको भए राम्रो हुन्थ्यो ।

हुन त नेपालमा नयाँ प्रधानमन्त्री बन्नासाथ भारत भ्रमणमा दौडिहाल्ने चलन छ । म प्रधानमन्त्री भएकै बेला एक पटक भारतीय राजदूत आएर मलाई भारत भ्रमणका लागि आग्रह गरेका थिए । मभन्दा पहिले शेरबहादुरजीले भारत भ्रमण गरिसक्नुभएको थियो । मैले राजदूतलाई भनेँ, ‘नेपालको प्रधानमन्त्रीले भारत भ्रमण गरिसक्नुभयो, अब तपाईंको प्रधानमन्त्रीको नेपाल भ्रमणको पालो हो । त्यसपछि मेरो पालो आउँछ ।’

केही दिनपछि भारतीय प्रधानमन्त्री इन्द्रकुमार गुजरालले नेपाल भ्रमण गर्नुभयो । नेपालको हितको दृष्टिले उहाँको त्यो भ्रमण निकै सफल रह्यो । हामीले जे–जे कुरा राख्यौँ, त्यो उहाँले मानिदिनुभयो । भारतीय प्रधानमन्त्रीले भन्नुभएको थियो, ‘एउटा त्यो भुटानी शरणार्थीको कुरा नराखिदिनुहोस्, बाँकी तपाईंहरूका जे–जे कुरा छन्, लेखेर ल्याउनुहोस्, म संयुक्त वक्तव्यमा सही गरिदिन्छु ।’

सबैभन्दा ठूलो उपलब्धिचाहिँ बंगलादेशको फूलबारी नाकामार्फत हामीले पारवहन मार्ग पायौँ । त्यसबेलादेखि बंगलादेशसँग पनि हाम्रो व्यापार सम्बन्ध अघि बढ्यो । गुजरालजीको भ्रमणकै बेला काठमाडौँमा नेपालको एक मात्र राष्ट्रिय ट्रमा सेन्टरको शिलान्यास गरिएको थियो । भारत सरकारको पूर्ण लगानीमा निर्माण हुने ट्रमा सेन्टरको शिलान्यास ९सन् १९९७ जुन ६० मा भारतीय प्रधानमन्त्री गुजराल र मैले संयुक्त रूपमा गरेका थियौँ । अरू पनि धेरै योजनाहरूका लागि उहाँको भ्रमणका बेला सहयोग प्राप्त भएको थियो । उहाँको भ्रमण अहिलेसम्मको सबैभन्दा सफल भ्रमण भनी परराष्ट्रविद्‌हरूले समीक्षा गरेका थिए ।

गुजरालजी वास्तवमा नेपाललाई माया गर्ने भारतीय नेतामध्ये एक हुनुहुन्थ्यो । आलोचकहरूको पनि उहाँले मुख बन्द गरिदिनुभएको थियो । ‘गुजराल डक्ट्रिन’ नै के थियो भने छिमेकी मुलुकहरूलाई विश्वासमा लिने । समान स्तरको सम्बन्धको कुरा गरिए पनि भारतले छिमेकीहरूको हितमा अलि बढी उदार हुनुपर्छ भन्ने उहाँको धारणा थियो ।


एउटा प्रसंग । मालदिभ्सको राजधानी मालेमा आयोजित सार्क सम्मेलनमा सहभागी हुन गएँ । त्यहाँ सात राष्ट्रका सरकार या राष्ट्रप्रमुखहरूबीच व्यक्तिगत रूपमा भेटघाटको क्रम चलिरहेको थियो । भारत ठूलो मुलुक भएकाले भारतीय प्रधानमन्त्रीलाई भेट्न मै जाउँला भन्ने सोचमा थिएँ । म उहाँलाई खबर गर्ने तयारी गर्दै थिएँ, इन्द्रकुमार गुजरालजी मकहाँ आउनुभयो । खुसी लाग्यो । हाम्रा सम्बन्धहरू कसरी बलियो पार्न सकिन्छ भन्नेबारे कुरो भयो ।

मैले त्यसबेला भुटानका राजालाई भेट्न गएँ । भुटानका राजाले नेपाली पनि बुझ्नुहुन्छ भन्ने सुनेको थिएँ । भेटघाटका लागि समय मिलाउनेसँग कुन भाषामा कुरा गर्ने भनेर सोध्दा उनले अंग्रेजीमा कुरा गर्दा नै सजिलो हुने जानकारी दिए । भुटानी राजासँग मेरो अंग्रेजीमै कुराकानी भयो ।

‘हामीहरूको मित्रता पुरानै हो । अहिले समस्या खडा भएको छ । कहाँसम्म भने वार्ता नै नहुने भएको छ । निर्णय त पछि हुने हो तर वार्ता त हुनुपर्‍यो । पुगनपुग एक डेढ लाख शरणार्थीहरूको बोझ छ । यसलाई वार्ताद्वारा हल गरौँ’, मैले भुटानी राजासँग भनेको थिएँ ।

भुटानी राजा भने पूरा तयारीका साथ आउनुभएको रहेछ । एक एक फाइल झिकेर ‘योबेला यस्तो र योबेला यस्तो भो’ भन्न थाल्नुभयो ।

‘अरू कुरा हुँदै गर्छ, पहिला वार्ता त सुरु गरौँ’, मैले भनेँ ।

भुटानी राजा वार्ता सुरु गर्न तयार हुनुभयो र केही समयपछि वार्ता सुरु पनि भयो ।


माले सार्क सम्मेलन सकिएपछि अरू साथीहरू बैंकक भएर फर्कनुभयो । मचाहिँ दक्षिण भारतको केरल राज्यको राजधानी तिरुवनन्तपुरम् गएँ । तिरुवनन्तपुरम्को अर्थ ‘भगवान् अनन्तको बासस्थान’ हो । त्यो दर्शनीय सहरमा हेर्न लायक धेरै ठाउँहरू थिए । त्यसमध्ये श्री पद्‌मनाभ स्वामीको मन्दिरमा म गएँ । मन्दिरको गर्भगृहमा केरल र द्रविडहरूको वास्तुकलाबाट निर्मित भगवान् विष्णुको १८ फुटको विशाल मूर्ति रहेछ । त्यो मूर्तिको दर्शन गर्न हजारौँ मानिसहरूको भीड लागिरहेको थियो । हाम्रो बूढानीलकण्ठमा झैँ त्यहाँ पनि विष्णुको मूर्ति शेषनागमा शयन गरिरहेकै मुद्रामा छ । त्यो मूर्ति भएको ठाउँमा अरू कसैले जान पाउँदैनन् । त्यसैले दर्शनका लागि अलि वरै आठ दस ठाउँमा लहरै प्वाल बनाइएको छ । मन्दिरको रेखदेख त्रावरणकोर वंशीय राजपरिवारले गर्दै आएका छन् । हरेक बिहान राजपरिवारका सदस्य वा प्रतिनिधिले मन्दिरको पूजाआजा गरेपछि मात्र अरूले दर्शन गर्न पाउँदा रहेछन् । पुरुषहरू सेतो धोती र महिलाहरूले साडी लगाएर मात्र त्यहाँ जान पाउने नियम छ । पुरुषहरू दर्शन गर्दा माथिको जिउ नांगै हुनुपर्दो रहेछ । मलाई पनि धोती दिइएको थियो । मैले पनि परम्परागत ढंगले नै भगवान् विष्णुको दर्शन र पूजा गरेँ ।

तिरुवनन्तपुरम्पछि म तमिलनाडुको दक्षिणी समुद्री किनारमा अवस्थित सहर कन्याकुमारी पुगेँ । भारतकै सबभन्दा दक्षिणमा पर्ने कन्याकुमारी आकर्षक पर्यटकीय स्थल रहेछ । त्यहाँ मैले विवेकानन्द रक मेमोरियलको पनि दर्शन गरेँ । स्वामी विवेकानन्दले ध्यान गरेको ठाउँमा सन् १९७० मा यो स्मारक बनाइएको रहेछ । विवेकानन्द मण्डपम्मा पर्यटकहरूको पनि उत्तिकै घुइँचो भएको मैले पाएँ ।

कन्याकुमारीपछि बम्बई गइयो । बम्बईमा राज्यपालले भेटघाट र खानपानको व्यवस्था मिलाउनुभएको थियो । म बसेको होटलमा भारतका प्रख्यात अभिनेता देवानन्द मलाई भेट्न आउनुभयो । नेपालप्रति उहाँको विशेष लगाव थियो किनकि धेरै पहिले उहाँको चलचित्र हरेकृष्ण हरेराम नेपालमै छायाकन भएको थियो । देवानन्द नेपाल आइरहनुहुन्थ्यो र उहाँको राजारानीसित पनि भेटघाट हुने गर्थ्यो । यसैगरी भारतीय फिल्मी जगत्का अर्का नायक गोविन्दा पनि आउनुभएको थियो । गोविन्दाकी श्रीमती सुनिता नेपाली नै हुनुहुन्छ । ९पछि त गोविन्दा भारतको सांसद पनि हुनुभयो र दुई–तीनचोटि नेपाल आउनुभयो । नेपाल आउँदा उहाँ मलाई निश्चित रूपले भेट्नुहुन्छ ।०

शिरडी नजिकै होला भनेको, टाढै रहेछ । हेलिकोप्टरमा अर्को दिन म शिरडी गएँ । शिरडीमा साई बाबाको दर्शन गरेर फर्केकै साँझ नेपाल फर्कने फ्लाइट थियो । म बम्बईको एयरपोर्टमा जहाज कुरिरहेको थिएँ । जहाज धेरै ढिलो भये । बिदा भएर टिकट लिइसकेको थिएँ, फर्केर जाने कुरा पनि भएन । ६ बजे उड्नुपर्ने जहाज, रातको साढे दस बजे मात्र उडिदियो । नेपालको एयरपोर्टमा अवतरण गर्दा रातको साढे बाह्र बजिसकेको थियो । मलाई त केही कष्ट भएन तर मेरो प्रतीक्षामा एयरपोर्टमा बस्नेहरूलाई निकै सास्ती भयो । संवैधानिक निकायका प्रमुख र र सदस्य, मन्त्री, प्रशासक र पत्रकारहरू कुरेर बसिराख्नुभएको रहेछ । म आफैँलाई बडो अप्ठ्यारो लाग्यो ।

सरकार चलिरहेकै थियो । यसबीचमा एक दिन गिरिजाबाबु र भट्टराईजीले मसँग कुरा गर्न खोज्नुभयो । म भेट्न गएँ । उहाँहरूले ‘अब तपाईं नै प्रधानमन्त्री बसिदिनुहोस्, कांग्रेसले तपाईंलाई नै समर्थन गर्छ’ भन्ने प्रस्ताव राख्नुभयो ।

‘यो कसरी हुन सक्छ रु आज एमालेको सहयोगमा प्रधानमन्त्री हुने, अर्को दिन कांग्रेसको प्रधानमन्त्री हुने । यो त मबाट सम्भव छैन । मेरो नैतिकताले पनि दिँदैन, यो कुरा नगरूँ । बरु कात्तिकमा हाम्रो पार्टीको महाधिवेशन छ । त्यतिबेलासम्म मलाई हुन दिनुस् । त्यसपछि चाहिँ एमालेसँग पनि प्रस्ट कुरा गरेर म प्रधानमन्त्रीबाट राजीनामा दिउँला’, मैले भनेको थिएँ ।

यो वार्ता दुई तीनचोटि पूर्वमन्त्री केशरबहादुर विष्टको घरमा भएको थियो ।

भट्टराईजीले एउटा सर्त राख्नुभयो ।

‘उसो भए मन्त्रिपरिषद्‌को विस्तार नगरिदिनुहोस्’, उहाँले भन्नुभयो ।

मैले ‘हुन्छ’ त भनेँ, तर एउटा षडयन्त्रकै तहत ‘मन्त्री हुन्छौँ’ भनेर केही मान्छेहरू आए । साथीहरूले पनि ठूलै दबाब थिए । चित्तले नखामीनखामी मैले हृदयेश त्रिपाठी, पाल्देन गुरुङ र मोतीप्रसाद पहाडीहरूलाई मन्त्री बनाउने घोषणा गरेँ । तर उहाँहरूले पनि धोका दिनुभयो ।

आखिर त्यही निहुँमा कांग्रेसले सरकार ढाल्ने पहल गर्न थाल्यो । सरकार गठनको दुई सय दिन बित्नासाथ मविरुद्ध अविश्वास प्रस्ताव आइहाल्यो । नेपाली कांग्रेसका ८६ जनाले ०५४ असोज ७ मा अविश्वास प्रस्ताव दर्ता गराउनुभयो ।

मैले पशुपतिशमशेरजीलगायत पार्टीका साथीहरूलाई बोलाएर भनेँ, ‘हेर्नुस्, आफ्नै पार्टीको सरकारलाई यसरी ढलाउनुचाहिँ ठीक हुँदैन । मलाई यो अविश्वास प्रस्ताव विफल पार्न साथ दिनुहोस् । म यो प्रक्रिया टुंगिएकै अर्को दिन संसदीय दलको बैठक बोलाउँछु र राजीनामा दिन्छु । मेरो कुरा पत्याउनुहोस् ।’

०५४ साल असोज १८ मा मतदान हुँदा अविश्वास प्रस्तावको पक्षमा नेपाली कांग्रेस, राप्रपाका केही सांसद, नेपाल सद्‍भावना पार्टी गरी १ सय ७ जनाको समर्थन रह्यो । विपक्षमा एमाले, राप्रपाका मेरो पक्षका सांसद र स्वतन्त्र गरी ९४ जना भए । अनि मैले राजीनामा दिएँ । असोज २० मा सूर्यबहादुर थापा प्रधानमन्त्री बन्नुभयो ।

(पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको आत्मकथाको अंश । यो आत्मकथा घोस्ट राइटिङ नेपालले प्रकाशन गर्दै छ ।)


प्रकाशित मिति २६ बैशाख २०७७, शुक्रबार १६:३०