महामारीबीच चलायमान पर्वतारोहण अर्थतन्त्र

विश्वव्यापी महामारी कोभिड–१९ शुरू भएदेखि सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये पर्यटन हो । यसबाट नेपाली पर्यटन पनि अछुतो रहेन नै । पर्यटन ठप्प भएको झन्डै डेढ वर्ष पुग्न लागेको छ । यस बीचमा सरकारले हरेक महीना केही हजार पर्यटक आइरहेको तथ्याङ्क प्रकाशित गरेको पनि छ । नेपालमै परिवार भएका, यहीँ पुर्ख्यौली घर भएका (गैरआवसीय नेपाली), यहाँ अध्ययन वा व्यापार गर्ने विदेशीहरूको संख्या पनि रहेको हुँदा वास्तविक पर्यटकको आगमन नगण्य नै रहेको छ । पर्यटन गतिविधिले अधिकांश समय चलायमान रहने राजधानीको पर्यटकीय केन्द्र ठमेलको शून्यता लम्बिइरहेको परिदृश्यले पनि देशमा पर्यटन पुनः ब्यूँतिन लामै समय लाग्ने संकेत गरिरहेको छ ।

पहिलो चरणको महामारीको असर उल्लेख्य रूपमा घटेको र सरकारले पर्यटकीय गतिविधि खुला गरेको मौका पारी हिमाल आरोहणका लागि उत्साहजनक संख्यामा पर्वतारोही पर्यटकहरू आए । उत्साहजनक यस अर्थमा कि गत हप्ता (अप्रिल ३०) मात्र पर्यटन विभागले प्रकाशित गरेको तथ्याङ्कमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि अहिलेसम्मकै सबैभन्दा बढी आरोहण अनुमतिपत्र जारी गरिएको देखिएको छ । सगरमाथामा मात्र विदेशी तथा स्वदेशी गरी ४०८ जना आरोहीहरूले आरोहण अनुमति लिएको देखिएको छ । २०१९ को वर्षभरिको भन्दा यो बढी हो । सन् २०१९ मा जम्मा ३९७ जना आरोहीले पर्यटन विभागबाट आरोहण अनुमति लिएका थिए । गतवर्ष २०२०मा भने सगरमाथामा कुनै आरोहण गतिविधि भएन । सगरमाथासँगै नेपालका ६५०० मीटर माथिका विभिन्न १६ हिमालमा नेपाललगायत विभिन्न मुलुकका ७४२ आरोहीहरू हिमालको चुलीमा सफलताको झण्डा फहराई साहासिक पर्यटकीय गतिविधिको मज्जा लिन मेहनतरत छन् । नेपाल पर्वतारोहण संघबाट अनुमति लिनु पर्ने ६५०० मीटर मुनिका केही हिमचुलीहरूमा थप आरोहीहरू पर्वतारोहणमा गएका छन् ।

पर्यटन निर्वाध सुचारु रहने समयमा पनि यस क्षेत्रले देशको समग्र अर्थतन्त्रमा कति योगदान दिइरहेको छ भन्ने यकिन तथ्याङ्क पाइएको छैन । पर्वतीय पर्यटनको ट्रेकिङ तथा हिमाल आरोहण क्षेत्रले केकति रोजगारी र आर्थिक योगदान राष्ट्रलाई दिएको छ भन्ने तथ्याङ्क पाउन थप मुश्किल छ । महामारीका बीच उत्साहजनक संख्यामा हिमाल आरोहणमा सहभागी भइरहेका पर्यटकहरूले कतिसम्म आर्थिक योगदान दिइरहेको छ भन्ने आकलन गर्ने प्रयास यस लेखमा गरिएको छ ।

नेपाल आउने पर्यटकमध्ये निकै थोरै मात्र पर्वतारोहण गतिविधिमा संलग्न हुन्छन् । सानै संख्यामा आए पनि त्यस्ता पर्यटकले सृजना गर्ने रोजगारीको अवसर र आर्थिक गतिविधि भने उल्लेख्य हुने गरेको छ । चालू वसन्त ऋतुका लागि अनुमति दिनेक्रम अन्तिम चरणमा पुग्दा पर्यटन विभागले ७४२ हिमाल आरोहीबाट झन्डै साढे ७१ करोड राजस्व संकलन गरिसकेको छ । विगतमा सरकारले आरोहीहरूबाट संकलन गर्ने राजस्वभन्दा यो रकम बढी हो । सरकारले प्रति विदेशी आरोही ११ हजार अमेरिकी डलर र नेपालीबाट ७५ हजार रुपैयाँ राजस्व लिने गरेको छ । प्रत्येक आरोहीले पर्वतारोहण सञ्चालक संघ, सगरमाथा प्रदूषण नियन्त्रण समिति, हिमालयन उद्धार संघजस्ता संस्थालाई विभिन्न शुल्क करीब १ हजार अमेरिकी डलर थप शुल्क तिर्नुपर्ने हुन्छ ।

सगरमाथा तथा ८ हजार मीटर माथिका हिमाल आरोहणको लागि आरोहण सञ्चालक कम्पनीहरूले असुल्ने आरोहण प्याकेज मूल्यको आधारमा औसत खर्च अनुमान गर्दा एक आरोही पर्यटकले औसत ४५ लाख रुपैयाँ खर्च गर्नुपर्ने देखिन्छ । ८ हजारमुनि र ६५०० मीटर माथिका हिमालहरूका लागि पनि उनीहरूले प्रतिआरोहण करीब १० लाख खर्च गर्नुपर्ने हुन्छ । महामारी बीच हिमाल आरोहणमा तल्लीन आरोही पर्यटकको कारण कम्तीमा पनि ४ अर्ब बराबरको आर्थिक कारोबार यस क्षेत्रमा भएको देखिन्छ ।

पर्वतारोहणमा आउने यी पर्यटकले सृजना गर्ने रोजगारीको अवसर उनीहरूको योगदानको अर्को पाटो हो । ८ हजार मीटर माथिका ठूला हिमालहरूमा जाने आरोहीले रोजगारी दिने उच्च हिमाली पथप्रदर्शकको औसत संख्या त्यस क्षेत्रमा संलग्नहरूको भनाइ अनुसार प्रतिआरोही १ दशमलव ५ को अनुपातमा हुन्छ । कसैले दुई भन्दाबढी पथप्रदर्शक प्रयोग गर्ने र कसैले आफै (अलपाइन) आरोहण गर्ने हुँदा त्यस्तो तथ्याङ्क आएको हो । अहिले सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा मात्र ४०० पर्यटक आरोहीका लागि ६०० बढी नेपाली आरोही पथप्रदर्शकहरू खटिइरहेका छन् । यही अनुपातमा आरोहण गतिविधि चलिरहेका अरू हिमालमा पनि थुप्रै पथप्रदर्शक जनशक्ति संलग्न रहेका छन् । एक आरोहण याममा उनीहरूको औसत रोजगार अवधि ६० दिन र औसत आम्दानी ६ लाख हाराहारी हुने गर्छ । हिमालका आधार शिविर तथा ठूला हिमालको माथिल्लो क्याम्पहरूमा समेत खाना बनाउने अन्य सहयोगी कामदार प्रयोग हुने गर्छ । आधार शिविरसम्म बन्दोबस्तीका सामान पु¥याउने तथा ल्याउने कार्यका लागि हवाई उडान एवं संयौंको संख्यामा भरिया तथा जोप्के (चौरी) आदिको पनि प्रयोग हुने गर्छ । त्यस्तै हिमाल आरोहणमा जाने पर्यटक आरोहण अगाडि आधार शिविरसम्म र पछि त्यहाँबाट नजिकको सडक वा हवाई अड्डासम्म ट्रेकिङ गर्दै आउने जाने गर्नाले बाटोमा पर्ने स्थानीय बस्तीहरूमा समेत आर्थिक लाभ पुग्ने गरी गतिविधिहरू भइरहेको हुन्छ ।

यसबाट हिमाल आरोहणमा आउने पर्यटकले आफ्नो संख्याको तुलनामा आर्थिक योगदान उच्च रहेको हुन्छ । यता महामारीको असरको दैनिक नयाँ नयाँ रेकर्डसहितको चिन्ताजनक समाचार आइरहँदा सगरमाथामा विश्व रेकर्डधारी आरोही कामी रिता शेर्पाले आफ्नै रेकर्ड थप बलियो बनाउँदै अन्य ११ आरोहीका सथा २५ औं पटक विश्वको शिर सगरमाथा गत शुक्रवार साँझ ६ बजे विजय गरेको रोमाञ्चक समाचार सुन्न पाएका छौं । उनको नेतृत्वमा रहेको नेपाली आरोहीहरूले बाटो खोलेसँगै अब केही हप्ता सगरमाथा आरोहणको खबरले नयाँ र उत्साहप्रद सन्देशहरू दिने छ । विषम समयमा समेत यसरी उत्साह भर्न सक्ने र गुणात्मक रूपमा बढी आर्थिक प्रतिफल दिन सक्ने देशको पर्यटनअन्तर्गत पर्वतारोहण क्षेत्रलाई थप सुरक्षित र व्यवस्थित बनाउन सम्बद्ध निकायले निरन्तर ध्यान दिनु पनि जरुरी रहेको छ ।

source by:abhiyandaily.com

प्रकाशित मिति २८ बैशाख २०७८, मंगलवार १२:४५